तीन गुणा बढी भाडा असुल्दै

सिट नभएको जिपमा सास्ती व्यहोरेर यात्रा गर्न बाध्य
मनोज बडू

दार्चुला — सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिपको पछाडिको सिट हटाउँदा जिप व्यवसायीले यात्रुबाट तीन गुणा बढी भाडा असुलिरहेका छन् । महाकाली राजमार्गबाहेकका सडकमा चल्ने बोलेरो जिपको पछाडिका सिट र छत हटाउँदा यसको मार स्थानीय यात्रुले खेप्नुपरेको छ ।

तीन गुणा बढी भाडा असुल्दै

राजमार्गसहित जिल्लाका विभिन्न ग्रामीण सडकमा सार्वजनिक यातायातमा मनपरी भाडा असुली हुँदै आएकाले सयौं यात्रु ठगिँदै आएका छन् ।


सदरमुकाम नजिकै बांगाबगडदेखि हिकिलासम्म २२ किलोमिटर छ । उक्त सडकमा यात्रा गर्दा यात्रुले ५ सय भाडा तिर्नुपर्छ । जिप व्यवसायी ३ हजारभन्दा तलको भाडामा जानै मान्दैनन् । दुहुँ २ हिकिलाका मदनसिंह बडालले भने, ‘आफूहरूलाई घर पुग्ने बाध्यता हुन्छ । त्यसको फाइदा व्यवसायीले लिइरहेका छन् ।’


यात्रुहरूबाट व्यवसायीले तीन गुणाभन्दा बढी भाडा असुल गरेको थाहा पाउँदासमेत प्रशासनको ध्यान पुग्न सकेको छैन । माथिको आदेश हो भन्दै प्रहरी प्रशासनले जिल्लाका ग्रामीण रुटहरूमा चल्ने जिपका पछाडिका सिट हटाउँदा त्यसको मार स्थानीय नागरिकले भोग्नुपरेको बडालले सुनाए । मंसिरअघि हिकिलासम्मको भाडा दुई सय रुपैयाँ थियो ।


सदरमुकाम खलंगाबाट जिल्लाभित्रका रुट र ग्रामीण सडकमा जिप व्यवसायीले यात्रुबाट तीन गुणा बढी भाडा लिएपछि मात्र चढाउने गरेका छन् । ‘जिप व्यवसायीले बुकिङको नाममा यात्रुबाट तीन गुणा भाडा उठाउँदै छन्,’ यात्रु भन्छन्, ‘एक/दुई जना चढे पनि पुरानो १४ जना बराबरको भाडा नउठेसम्म गाडी गुडाउन मान्दैनन् ।’


प्रशासनले गाडीमा ५ जनाभन्दा बढी चढाउन दिएको छैन । ५ जना चढाए पनि १४ यात्रु बराबरको भाडा कबुल गरेपछि मात्र गाडी चल्छ ।


अहिले मार्मा गाउँपालिकाको लटिनाथसम्मको भाडा १ हजार २ सय पुगेको छ । एक महिनाअघि यहाँसम्मको भाडा साढे ४ सय थियो । सदरमुकाम खलंगाबाट लटिनाथ, गोकुलेश्वर, मालिकार्जुन, पस्ती, दत्तु, धाप, दल्लेक, काटै, हिकिलासम्म जिप चल्छन् ।


सोझै खलंगाबाट लटिनाथ, दल्लेक, हिकिला, धारीलगायत जाने यात्रुले साबिकको भाडाभन्दा पछिल्लो एक महिनादेखि धेरै तिर्नुपरेको नौगाड–२ का उज्ज्वलसिंह ठगुन्नाले बताए । ‘मंसिरसम्म दल्लेकसम्मको भाडा सय रुपैयाँ थियो,’ उनले भने, ‘अहिले ३ सय भयो ।’ प्रहरीलाई झुक्याएर गाडीको पछाडिको भागमा बसालेर साबिकको भन्दा धेरै भाडा तिर्नुपरेको उनको भनाइ छ ।


नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडसम्म यसअघि २ सय ५० भाडा तिथ्र्यौं,’ सिप्टीका प्रवीण ठगुन्नाले भने, ‘मंसिरयता ५ सयभन्दा बढी तिर्नुपरेको छ ।’ प्रशासन एक्सनमा आएपछि त्यसको मार सर्वसाधारणले भोग्नुपरेको गुनासो उनले गरे ।


‘प्रहरी प्रशासनले सरकारले गरेको निर्णय कार्यान्वयन गरेको देखिन्छ । त्यसपछि नागरिकले भोग्नुपरेको मारबारे अनुगमन गरेको देखिँदैन,’ उनले भने, ‘व्यवसायीले सोझा नागरिकबाट यति ठूलो मात्रामा भाडा असुल गर्दासम्म वास्ता गरेको छैन ।’


जिल्लाका सबै रुटमा चल्ने जिप ५ सिटको अनुमति लिएर १४ यात्रु नियमित बोक्दै आएका थिए । ‘५ सिटको अनुमति लिएर जिप व्यवसायीले अगाडि र पछाडि गरी १४ जनासम्म बोक्दै आएका थिए,’ जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज अधिकारीले भने, ‘दुर्घटनाको जोखिम बढेपछि गाडीको पछाडिको भाग र छत हटाइएको हो ।’

प्रकाशित : पुस ५, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?