१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छोरी फेल भए ‘विवाह पक्का’

सुनसरी — स्कुल पढ्दा–पढ्दै असफल (फेल) भए गढी गाउँपालिकाका अभिभावकले आफ्ना छोरीको विवाह तय गर्छन् । छोरीलाई पढाएर ‘केही हुन्न’ भन्ने पुरानो मानसिकताका कारण यहाँका अभिभावकले सानै 
उमेरमा विवाह गरिदिन्छन् ।

छोरी फेल भए ‘विवाह पक्का’

स्थानीय समुदायमा महिला अधिकार, यौन हिंसा वा दुव्र्यवहारसम्बन्धी प्रभावकारी चेतना नहुँदा बालविवाह हुने गरेको गाउँपालिकाले जनाएको छ ।


केटीको ११ देखि १६ र केटाको १७ देखि २१ वर्षमै बालविवाह हुने गरेको छ । ‘गाउँपालिकामा पढाइ, लेखाइ भएका समुदाय कम छन् । बालविवाह गर्नु हुँदैन भन्यो भने मान्दैनन्,’ गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि थाहा पाएकामध्ये १४ बालविवाह रोकिदिएका छौं ।’


उनका अनुसार सानैमा बालविवाह गराउन चाहने अभिभावकलाई कारबाही गर्न पनि सकिएको छैन । सम्झाउँदा पनि नबुझ्ने भएकाले कारबाही गर्न सकिएको छैन । गाउँपालिकामा मुसहर, झाँगड, मुसलमान, यादव, चौधरी र थारूको बाहुल्यता छ । तिनै समुदायमा सबैभन्दा बढी बालविवाह हुने गरेको छ ।


उमेर नपुगेका केटाकेटीबीच सहमतिमा विवाह वा शारीरिक सम्पर्क भए प्रहरीले त्यसलाई बलात्कार मानेर केटी पक्षबाट मुद्दा चलाउने गर्छ । गढी गाउँपालिका भने अझै प्रहरी प्रशासनको पहुँचमा पुगेको छैन ।


गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले अशिक्षाकै कारण बालविवाह फस्टाएको बताइन् । उनले छोरीलाई प्राथमिकता दिन अभिभावक र समाज गाउँमा तयार नभएको बताइन् । ‘घरको काम भ्याएर स्कुल पढिरहेकी छोरी कुनै पनि कक्षाको परीक्षामा फेल भए उनको विवाह लगभग पक्का हुन्छ,’ उनले भनिन्, ‘छोरीले पढेर केही हुन्न भन्ने पुरानो मान्यताले अभिभावकलाई गाँजेको छ ।’


यसैबीच बालविवाहले सामाजिक र पारिवारिक समस्या निम्त्याउन थालेको र शिशु तथा मातृमृत्यु दरलाई प्रभावित पारेको ठहर गर्दै गाउँपालिकाले २०७९ सालसम्ममा बालविवाह मुक्त बनाउने रणनीति बनाएको छ । बालविवाह मुक्त बनाउने अभियानलाई सार्थक बनाउन गाउँपालिकाले रणनीति बनाएको उपाध्यक्ष चौधरीले बताइन् ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र भट्टराईले सरोकारवालालाई भेला गराएर बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाएर प्रत्येक वडा र टोलमा पुगेर बालविवाहविरुद्ध अभियान चलाएको बताए । उनले भने, ‘असल गाउँ र समाजको पहिचानका लागि गढी गाउँपालिकालाई ०७८/७९ सालसम्म बालविवाह मुक्त गाउँपालिका बनाउन अभियान सुरु भएको छ ।’

प्रकाशित : पुस ७, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?