बुद्धस्थल पुग्नै सकस

बुद्ध जन्मस्थल लुम्बिनी रुपन्देहीमा छ । बुद्धसँग सम्बन्धित अधिकांश पुरातात्विक स्थल कपिलवस्तुमा छन् । लुम्बिनीसम्म आउन सहज छ, कपिलवस्तुमा सकस । अधिकांश सडक साँघुरा र भत्किएका छन् । ठाउँ–ठाउँमा खाडल छन् । वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे हुन्छन् ।
मनोज पौडेल

कपिलवस्तु — सोलुखुम्बुको नाम्चेबाट धमनिहवा स्तूप घुम्न आएकी ६२ वर्षीया आङमाया शेर्पा सडक जीर्ण र धुलाम्य भएकाले त्यहाँसम्म पुग्नै सकिनन् । स्तूपलाई राजा शुद्धोधन र मायादेवीको समाधिस्थल मानिन्छ । ‘पूजाआजा गरेर पुण्य कमाउने धोको अधुरै रह्यो,’ उनले भनिन् ।

बुद्धस्थल पुग्नै सकस

धरानबाट आएका राजेन्द्र श्रेष्ठ सडककै कारण गोटिहवास्थित अशोक स्तम्भ पुग्न सकेनन् । लुम्बिनी घुमेपछि गौतम बुद्धसँग सम्बन्धित अन्य स्थल पुग्ने चाहना अधिकांश धर्मावलम्बीलाई हुन्छ । ‘बस गुड्ने सडक नभएकाले निग्रोधाराम पुगेर फर्किएँ,’ उनले भने, ‘क्रकुछन्द बुद्धको जन्मस्थल पुग्ने सपना अधुरै भयो ।’


बुद्ध जन्मस्थल लुम्बिनी रूपन्देहीमा छ । बुद्धसँग सम्बन्धित अधिकांश पुरातात्त्विक स्थल कपिलवस्तुमा छन् । लुम्बिनीसम्म आउन सहज छ, कपिलवस्तुमा सकस । अधिकांश सडक साँघुरा र भत्किएका छन् । ठाउँ–ठाउँमा खाडल छन् । आवतजावत गर्न जोखिम मोल्नुपर्छ ।


वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे हुन्छन् । शाक्यवंशीय राजधानी तिलौराकोटआसपास सडक जीर्ण भएकाले आवतजावतमा समस्या छ ।


तौलिहवा–गोरुसिंगे सडक कालोपत्रे छ, त्यहाँबाट तिलौराकोट जाने दुईवटै सडक जीर्ण छन् । डेरवाबाट तिलौराकोटसम्मको करिब एक किमि सडकमा कालोपत्रे उप्किएको छ । ३ मिटर चौडा सडकमा ठूला खाडल छन् ।


संग्रहालयदेखि तिलौराकोटसम्मको ८ सय मिटर सडकको हालत उस्तै छ । आधा ढलान र आधा कालोपत्रे गरिएको छ । ढलान दबेर ठाउँ–ठाउँमा खाल्डा बनेका छन् । यहाँबाट आवतजावत सम्भव छैन । तिलौराकोट (प्राचीन कपिलवस्तु) शाक्यवंशीय राजा शुद्धोधनको राजप्रासाद तथा भगवान् बुद्धले २९ वर्षसम्मको युवा अवस्था बिताएको ठाउँ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ ।


धमनिहवा र कन्थक स्तूपसम्म पुग्ने पक्की सडकको डेढ किमि कालोपत्रे भत्किएको छ । बढी क्षमताका नदीजन्य पदार्थ बोकेका टिपर ओहोरदोहोर गर्ने भएकाले सडकमा खाडल मात्र छन् । धूलो उत्तिकै उड्ने गरेको छ । ‘सडकको अवस्था देखेर विदेशी पर्यटक संवेदनशील हुन्छन्,’ पथप्रदर्शक शिवराज शर्माले भने, ‘आउनै मान्दैनन् ।’


धमनिहवाका दुईवटा स्तूपमध्ये एउटा शुद्धोधनको र अर्को मायादेवीको समाधिस्थल भएको विश्वास गरिन्छ । नजिकै कन्थक स्तूप छ । यसलाई बौद्ध ग्रन्थमा महत्त्वपूर्ण मानिन्छ ।


ग्रन्थमा उल्लेख भएअनुसार राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गर्न राजप्रासादबाट कसैलाई नभनी घोडा कन्थक र सारथि छन्दकलाई लिएर निस्किए । भारतको गोरखपुरनजिक अनुमा नदीबाट घोडा र सारथिलाई फिर्ता पठाए । फर्किने क्रममा राजदरबार पुग्नै लाग्दा राजकुमार सिद्धार्थको सम्झनामा घोडा. कन्थक मरेको ठाउँमा कन्थक स्तूप रहेको उल्लेख छ ।


यहाँका पर्यटकीय मार्गमा क्षमताभन्दा बढी भार बोकेका टिपर, ट्रक र ट्रयाक्टर दिनभर आवतजावत गर्छन् । तिनका कारण सडक भत्किने गरेको स्थानीयले बताए । पर्यटक ओहोरदोहोर गर्ने बेला भार बोकेका गाडीले धूलो उडाउँछन् । ‘लुम्बिनी विकास कोषले प्रत्येक वर्ष बुद्धजयन्ती मनाउन लाखौं खर्च गर्छ,’ स्थानीय प्रकाश घिमिरेले भने, ‘जुन ठाउँले पर्यटक आकर्षण गरिरहेको छ, तिनको विकासमा ध्यान दिँदैन ।’


सम्राट अशोक तीर्थाटन गर्न आउँदा बनाएको गोटिहवास्थित अशोक स्तम्भसम्म पुग्ने सडक छैन । निग्रोधारामबाट जेनतेन गोटिहवा नहसम्म पुग्न सकिन्छ । ठूला गाडी चल्दैनन् । साना जिप र कारमा जोखिम मोलेर पुगिन्छ । नहरदेखि १ किलोमिटर पश्चिम रहेको स्तम्भसम्म पुग्न साँघुरो कच्ची बाटो छ । हिउँदमा जिप मुस्किलले पुग्छ । वर्षाभरि हिलाम्य हुन्छ । मान्छेलाई हिँडडुल गर्न गाह्रो हुन्छ ।


महत्त्वपूर्ण स्थल सिसहनिया कोट पुग्ने सडकको अवस्था दयनीय छ । लुम्बिनी–तौलिहवा कालोपत्रे सडक खण्डको दोहनीबाट करिब १० किलोमिटर दूरीमा कोट छ । करिब ५ किमि मात्र कालोपत्रे गरिएको छ । तीन मिटर चौडा सडकको ठाउँठाउँमा खाल्डा छन् ।


बाँकी सडक ग्राभेल र कच्ची छ । वर्षाका बेला त्यहाँ पुग्न समस्या छ । ‘राम्रो सडक नहुँदा वर्षमा एक दुई जनाबाहेक धेरै विदेशी पुग्दैनन्,’ स्थानीय वीरेन्द्र शुक्लाले भने, ‘त्यही भएर ओझेलमा परेको छ ।’

यी स्थलको संरक्षण र विकासको जिम्मा पाएको लुम्बिनी विकास कोषले बेवास्ता गर्दा उपेक्षित र जीर्ण बनेका हुन् ।


यहाँ पञ्चमार्क, कुषाण र गुप्तकालीन मुद्राका साथै त्यसबेलाका माटाका टुक्रा पाइएका छन् । त्यस्तै विकुली, पिपरी, हरदेवा, बर्दहवा र लमतियालगायत ऐतिहासिक तथा पुरातात्त्विक ठाउँमा आवतजावत गर्न बाटोको समस्या छ ।


सीमिति साधन–स्रोतका कारण पर्यटकीय स्थल पुग्ने बाटो बनाउन चाहेर पनि नसकेको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले बताए । यसका लागि सरकार र लुम्बिनी विकास कोषले ध्यान दिनुपर्ने उनले बताए ।


कोषको काम ऐतिहासिक र पुरातात्त्विक स्थलको संरक्षण र विकास गर्ने भएकाले सार्वजनिक बाटोघाटो स्तरोन्नति गर्नतिर ध्यान दिन नसकेको लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले बताए ।

प्रकाशित : पुस ७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?