कांग्रेसमा हिन्दु राज्यको बहस आपत्तिजनक : दाहाल

काठमाडौँ — सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकामा आपत्ति जनाएका छन् ।

कांग्रेसमा हिन्दु राज्यको बहस आपत्तिजनक : दाहाल

जारी महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा लबिइङ र हस्ताक्षर अभियान चलिरहेका बेला दाहालले ‘कांग्रेस धर्मनिरपेक्षताको नीतिबाट पछि हट्न लागेको त होइन ?’ भन्ने प्रश्न गर्दै आपत्ति जनाएका हुन् ।


राजधानीमा शनिबार ‘देश किन बनेन’ नामक पुस्तक विमोचन गर्दै दाहालले जनताको बलिदानीपूर्ण संघर्षले प्राप्त धर्म निरपेक्षताबाट कांग्रेस पछि हटे पार्टी नै समाप्त भएर जाने चेतावनी दिए । उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता संविधानका मुख्य चार खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिंगै घर भत्काउने दुस्साहस नगर्न कांग्रेस नेतृत्वलाई सचेत गराए ।


‘पार्टीले नै संविधानको पिता भनेर सम्मान गरेका तत्कालीन प्रधानमन्त्री एवं सभापति सुशील कोइरालालाई स्वर्गबाट नर्कमा झार्न कांग्रेसमा हिन्दु राज्यको पक्षमा बहस सुरु भएको छ,’ उनले भने । दाहालले बीपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न नसुहाउने बताए । उनले विविध धर्म, संस्कृति र सम्प्रदाय रहेको मुलुकमा राज्यले वा कांग्रेसजस्तो जिम्मेवार पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने दाबी गरे ।


उनले कांग्रेस नेताहरूलाई बीपीले धर्मबारे के भनेका थिए, कस्तो संस्कार अपनाएका थिए र तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसाद कोइराला कसरी धर्मनिरपेक्षताको पक्षमा उभिएका थिए भनेर सोच्नसमेत आग्रह गरे ।


प्रकाशित : पुस ७, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?