कांग्रेस महासमिति : सबै प्रतिनिधि चुनावबाटै छान्न दबाब 

काठमाडौँ — केन्द्रीय पदाधिकारी र सदस्यहरू निर्वाचन नलडी महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधानसहितको विधान मस्यौदा पेस गरिएको प्रति कांग्रेसका जिल्ला सभापति असन्तुष्ट देखिएका छन् । 

कांग्रेस महासमिति : सबै प्रतिनिधि चुनावबाटै छान्न दबाब 

उनीहरूले उक्त प्रावधानसहितका तीन विषयमा संशोधन माग्दै शनिबार एक तिहाइभन्दा बढीको हस्ताक्षर जुटाएर महासमिति बैठक सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावमा महासमिति बैठकका अधिकांश सदस्यले समर्थन जनाएका छन् ।


समानुपातिक र समावेशी कोटाको सुविधा एक व्यक्तिले एकपटक मात्रै प्रयोग गर्न सक्ने व्यवस्था राख्नुपर्ने अर्को माग छ । उम्मेदवार चयनमा केन्द्रीय संसदीय समितिले संघीय संसद्का, प्रदेश संसदीय समितिले प्रदेश संसद्का, जिल्ला र स्थानीय संसदीय समितिले स्थानीय तहका छान्ने गरी मस्यौदा संशोधन गरिनुपर्ने उनीहरूको भनाइ छ ।


महासमितिमा मस्यौदा प्रस्तुत गर्नुअघि जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितलाई भेटेर यी मागबारे ध्यानाकर्षण गराएका थिए । देउवाले केन्द्रीय सदस्यहरूलाई तल गएर चुनाव लड्न जाने प्रावधान राख्न नसकिने निर्णय सुनाए ।


केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दाको प्रारम्भिक मस्यौदामा भने स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधान हटाइएको थियो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन समितिका सदस्य प्रदीप पौडेलका अनुसार केन्द्रीय कार्यसमितिमा आएपछि परिवर्तन गरेर पुरानै प्रावधान राखिएको हो ।


केन्द्रीय बैठकमा बहुसंख्यक सदस्यहरू स्वत: प्रतिनिधि हुने प्रावधान हटाउन नहुने पक्षमा उभिए । ‘तलै गएर चुनाव लड्ने प्रावधान राखेर आफूलाई अपमान गर्न खोजिएको, गुटबन्दी गरेर चुनाव हराउने उद्देश्य राखिएको भन्दै बहुसंख्यक सदस्यले विरोध गरेपछि हटाइएको हो,’ पौडेलले भने, ‘लोकतान्त्रिक विधि र प्रक्रियाअनुरूपको यो प्रावधान हटाउन हुन्न । मस्यौदामा संशोधन गरेर केन्द्रीय सदस्य पनि तलैबाट निर्वाचित भएर आउने प्रावधान राख्नुपर्छ ।’


प्रस्तावित विधानमा केन्द्रीय सदस्य सिधै महाधिवेशन प्रतिनिधि हुन पाउँछन् । सांसदमा पराजित उम्मेदवारसमेत सीधै क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था छ । अन्यले भने केन्द्रीय महाधिवेशनसम्म आउन क्षेत्रीय प्रतिनिधिबाटै चुनाव लड्नुपर्छ ।


शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङसहित आधा दर्जन सदस्यले मात्रै चुनाव लडेर आउनुपर्ने प्रावधान राख्न जोड दिए । यो मुद्दामा संस्थापन र इतरपक्षीय जिल्ला सभापतिसमेत एक ठाउँ उभिएका छन् ।


महामन्त्री खड्काले बैठकमा विधान प्रस्तुत गर्नासाथ जिल्ला सभापतिले छलफलमा भाग लिएका थिए । शनिबार डेढ दर्जनभन्दा बढी सभापतिले धारणा राखेका छन् । मकवानपुरका जिल्ला सभापति इन्द बानियाँबाहेक सबैजसोले केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिबाटै चुनाव लड्न जानुपर्ने माग गरेका थिए । ‘लोकतान्त्रिक पार्टी भन्ने अनि चुनाव लड्न डराउने ?’ उनीहरूको भनाइ थियो ।


केन्द्रीय सदस्य चुनाव लड्न तल्लो तहमा जाँदा अहिलेजस्तो गुटबन्दी पनि नहुने सभापतिहरूको बुझाइ छ । ‘नेता र कार्यकर्ताको अधिकार फरक हुनुहुँदैन, केन्द्रीय सदस्यहरू चुनाव लड्न तल्लो तह जाँदा अहिलेजस्तो पार्टी गुटबन्दी पनि हुन्न, आफ्नै लागि पनि मिलाउन लाग्छन्,’ काभ्रेका सभापति मधु आचार्यले भने, ‘यो आवाज देशभरका सभापतिको हो । यसमा संस्थापन र संस्थापन इतरपक्षीय भावना छैन ।’


नुवाकोटका सभापति जगदीशनरसिंह केसीले यही महाधिवेशनबाट संशोधन हुन नसके आउने महाधिवेशनसम्म यसलाई मुद्दा बनाएर लैजाने बताए । ‘सकभर अहिल्यै संशोधनका लागि दबाब दिनेछौं, नेताहरूले बलजफ्ती रोके भने १४औं महाधिवेशनसम्मै यो मुद्दालाई निरन्तर उठाउँछौं,’ उनले भने ।


महासमिति आज सकिँदै

महासमिति बैठक आइतबार सम्पन्न हुने भएको छ । पुस २९ बाट सुरु बैठक ९ दिनपछि सम्पन्न हुन लागेको हो । महाधिवेशन प्रक्रिया पुस २८ बाटै सुरु भएको थियो । पदाधिकारी संख्या र निर्वाचन पद्धतिलाई लिएर शीर्षस्थ नेताबीचको विवादले महासमिति लम्बिएको हो ।


नेताहरूबीच कुरा मिलेपछि संघीय संरचनाको विधानको मस्यौदा शनिबारको बैठकमा प्रस्तुत गरियो । विधानमाथि छलफल गर्ने बेला ५० प्रतिशतभन्दा बढी महासमिति सदस्य घर फर्किसकेका छन् ।

प्रकाशित : पुस ८, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?