कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कालीकोटको खाँडागाउँमा आगलागी, ८७ घर खरानी

७ जना घाइते, २८५ विस्थापित
तुलाराम पाण्डे

कालीकोट — कालीकोटको पलाता गाउँपालिका १, खाडागाउँमा आगलागी हुँदा ८७ घर जलेका छन् । आगलागीका कारण ७ घाइते र २ सय ८५ विस्थापित भएका छन् । तीमध्ये १ सय ११ बालबालिका छन् । 

कालीकोटको खाँडागाउँमा आगलागी, ८७ घर खरानी

सदरमुकाम मान्मबाट २१ कोस पश्चिममा पर्ने बस्तीमा शिक्षक नवीन न्यौपानेको घरबाट सोमबार राति करिब १ बजे आगो फैलिएको थियो ।


खरका छाना भएको बस्तीमा स्थानीय र सुरक्षाकर्मीको लगातारको प्रयासपछि सोमबार साँझ मात्र आगो नियन्त्रणमा आएको थियो । खाडागाउँमा पानी नभएकाले नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष मानबहादुर भण्डारीले बताए । ‘मुस्किलले आगो त निभाइयो, तर पुसको चिसोमा प्रभावितलाई बचाउन मुस्किल छ,’ उनले भने, ‘गाउँमा रुवाबासी छ, पाल हालेर बस्ने ठाउँसमेत छैन ।’ केही परिवारलाई नजिकको विद्यालयमा राख्ने तयारी भएको उनले बताए ।


आगलागीमा पशुबस्तु, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख देवेन्द्र मल्लले बताए । ‘गाउँका सबैजसो घर जलेकाले खानबस्न समस्या छ,’ उनले भने । आगलागीको कारण पत्ता नलागेको उनले बताए ।


मल्लका अनुसार आगलागीको खबर प्रहरीलाई ढिलो आएको थियो । थिर्पु र जारकोट प्रहरी चौकीबाट खटाइएका प्रहरी उज्यालो भएपछि मात्र घटनास्थल पुगेका थिए । शिक्षक न्यौपानेको घरको छानामा आगो लागेको देखेपछि छिमेकी जालका न्यौपानेले गुहार मागेकी थिइन् ।


घरमै सुतिरहेका नवीन र उनका काका नाता पर्ने अर्का शिक्षक दीपक न्यौपाने ब्युँझिएर बाहिर दौडिए । शिक्षक न्यौपानेले घरको पछाडि सार्वजनिक बाटो भएकाले कसैले छानामा आगो फालेको हुन सक्ने अनुमान गरे । ‘हामी खाना खाएपछि आगो निभाएरै सुतेका हौँ,’ उनले भने, ‘खाना पकाएको कोठामा त बिहानमात्र आगोले समातेको हो ।’




...........................


विकट पलाता–१ खाँडागाउँमा भीषण आगलागी भएको छ । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाँडा गणेश आधारभूत विद्यालयजसँगैको टोलका ३२ मध्ये ३० घर जलिसकेका छन् ।


पलाता सुख्खाग्रस्त क्षेत्र हो । पानीको स्रोत नजिक नभएकोले आगलागी नियन्त्रण गर्न कठिन भएको छ । मानवीय क्षतिबारे जानकारी प्राप्त भएको छैन । आगो अझै नियन्त्रणमा नआएको गाँउपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले बताए ।


घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोष टाढा बाजुरा नजिक पर्छ । गाँउपालिका अध्यक्ष बमकाअनुसार स्काइ मोबाइल मात्र टिप्ने पलातामा टावर गएपछि राति ३ बजेपछि सम्पर्क हुन सकेको छैन ।


आगो नियन्त्रणका लागि ४० जना पलाता विकास निर्माण कार्य दलका सदस्य गाँउ पुगेका छन् भने अन्यत्रबाट पनि आगालागी नियन्त्रण र उद्दारमा जुट्न भनिएको छ । सदरमुकाम मान्मबाट सशस्त्र प्रहरीको टोली पनि पलातातर्फ लागेको छ ।

प्रकाशित : पुस ९, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?