कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मसानघाट छेउ घर बनाउनेले गरे दाहसंस्कारमा अवरोध !

दामोदर न्यौपाने

काठमाडौँ — चाबहिलको मसानघाटमा दाहसंस्कार गर्ने क्रममा स्थानीयावासीले अवरोध गरे । शव ल्याउने बाटोमा गाडी रोके । चाबहिल पिंगटोलकी भीममाया डंगोलको निधन भएको थियो । ४९ वर्षीय डंगोलको दाहसंस्कार गर्ने क्रममा स्थानीयवासीले अवरोध गरेका थिए ।

मसानघाट छेउ घर बनाउनेले गरे दाहसंस्कारमा अवरोध !

डंगोलले दाहसंस्कार गर्ने दीप नजिकका घरधनी मिलन जोशीको अगुवाइमा दाहसंस्कारमा अवरोध पुर्‍याइएको थियो ।


झन्डै तीन घण्टा तनावग्रस्त रहयो मसानघाट । तनाव बढदै गएपछि प्रहरीको उपस्थितिमा दाहसंस्कार भयो । ‘शोकको बेलामा पनि हामीले सुख पाएनौं । मृत्यु हुँदा सबैभन्दा संवेदनशील हुने क्षण हो,’ मृतकका ससुरा कालु डंगोलले सुनाए, ‘यस्तो बेलामा हामीले पुस्तौंदेखि दाहसंस्कार गर्दै आएको ठाउँमा अवरोध गरियो ।’


धोबीखोला किनारामै छ चाबहिलका नेवारका सात जातिको दाहसंस्कार गर्ने दीप । ती जातिका अलगअलग घाट छन् । पहिला सातैवटा घाट अस्तित्वमा थियो । अहिले भने त्यसमध्ये दुईवटा मात्र सञ्चालनमा रहेको पशुपति विकास कोषका पूर्वसदस्यसचिवसमेत रहेका स्थानीयवासी परमानन्द शाक्य बताउँछन् । शाक्यका अनुसार शाक्य, बज्राचार्य, डंगोल, महर्जन, श्रेष्ठलगायतको मसानघाट हो यो । ‘पहिला ७ वटा थियो । अहिले वरिपरिको बस्तीले बाँकी घाट मिचेको छ,’ शाक्य भन्छन्, ‘वरिपरि नयाँ बस्ती बस्दै गयो, घाट पनि मिचिँदै गयो ।’


ओम हस्पिटलसँगै जोडिएका छन् यी घाट । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को कित्ता नम्बर १ सय १ र १ सय २ कित्ता नम्बरमा छन् घाट । कित्ता नम्बर १ सय १ शाक्य, बज्राचार्य र श्रेष्ठको हो । १ सय २ डंगोल, प्रजापती, महर्जनलगायतको हो । विनोदको घर कित्ता नम्बर १ सय १ को घाटसँग जोडिएको छ ।


उनले गत वर्ष मात्रै घर किनेका हुन् । शाक्यका अनुसार उनी आएपछि यो घाट हटाएरै छाड्छु भनेर हिँडेका छन् । मिलनले घर किनेपछि दाहसंस्कारमा समस्या भएको यो दोस्रो पटक हो । ११ महिनाअघि नानीमैया शाक्यको मृत्यु हुँदा पनि घाटमा तनाव भएको थियो । प्रहरीकै सहयोगमा दाहसंस्कार गरिएको थियो ।


‘अब तनाव नदोहोरिएला भन्ने लागेको थियो,’ नानीमैयाका छोरा कृष्ण भन्छन्, ‘फेरि उही अवस्था आयो । यो हाम्रो पुस्तौंदेखि प्रयोग हुँदै आएको घाट हो । मृत्यु संस्कारमा पनि अवरोध हुनु ? ’


दुइटा घाटमध्ये किता नम्बर १ सय १ मा दीप बनाइएको छ । अर्काे कित्ता भने सडकमै पर्छ । त्यहाँ दीप बनाइएको छैन । स्थानीयवासीले नबनाउन आग्रह गरेपछि दीप नबनाएको शाक्य बताउँछन् । २०४२ सालबाट घाट वरपर बस्ती बस्न थालेको हो । महर्जन, प्रजापतीलगायतको घाटको छेउमा सिन्धुपाल्चोकका भट्टराईहरूले घर बनाए । दीप बनाउन डीपीसीसमेत गरिएको थियो ।


‘बरु जलाउनुस् । जलाएपछि सफा गरिदिनुस् । दीप बनाउँदा नराम्रो देखिन्छ भने,’ शाक्य भन्छन्, ‘त्यही सहमतिअनुसार दीप बनाएनौं । चलेकै थियो ।’


दाहसंस्कार गर्ने ठाउँको एक मिटरमै छन् घर । दीपकै अगाडि सटर छ । ‘दुर्गन्धले बसिनसक्नुहुन्छ,’ जोशी भन्छन्, ‘यो त उहाँहरूले बुझ्नुपर्ने कुरा हो ।’


शाक्यका आफ्ना पुर्खाको संस्कार जहाँ भएको छ, त्यही गर्ने चाहना राख्छन् । अस्पतालमा मृत्यु भएकाहरूको यहाँ दाहसंस्कार गरिँदैन । तर, घरमै मृत्यु हुनेका लागि यहीं गर्ने परिवारको चाहना हुन्छ । बस्तीको छेउमा भएकाले घाट हटाउने भनेर योजना पनि नबनाएका होइनन् स्थानीयवासीले ।


‘यसका लागि तान्त्रिक गुरुसँग सल्लाह पनि गरेका हौं,’ शाक्य भन्छन्, ‘यहाँ अष्टमातृका राख्ने विधि रहेछ । घाट राख्ने विधि रहेछ तर हटाउने विधि रहेनछ । त्यही भएर अन्यत्र सार्न सम्भवै छैन ।’ घाट सार्नुभन्दा बस्ती सार्न उपयुक्त हुने चारुमति विहारका महासचिव हेमराज शाक्य बताउँछन् । ‘यो ठाउँ अधिग्रहण गर्नुपर्छ,’ शाक्य भन्छन्, ‘सरकारले अधिग्रहण गर्दैन भने हाम्रो गुठीले किनिदिन्छ यहाँको बस्ती । सरकारी दररेटमा बेच्ने व्यवस्था मिलाओस् ।’


यो क्षेत्रको व्यवस्थापन चारुमति गुठीले गर्छ । चारुमति यहाँको प्राचीन विहार हो । यसको निर्माण अशोकको छोरी चारुमतिले गरेको मानिन्छ । यसको निर्माण इसापूर्व २८६ तिर भएको मानिन्छ । अशोककी छोरी धर्मदूतको रूपमा नेपाल आएकी थिइन् । चारुमतिले नेपालको क्षेत्रीय राजा देवपालसँग विवाह गरेकी थिइन् । उनको तल्लो जातको छोराका लागि विहार बनाएको पुरातत्त्वविद् तेजरत्न ताम्राकार बताउँछन् । यही विहारमा देवपत क्षेत्रकी जीवित देवीकुमारीको बसोबाससमेत रहेको छ । विहारकै छेउमा धन्दो चैत्य पनि छ । चैत्यको निर्माण लिच्छविकालीन राजा मानदेवको बुबा धर्मदेवले बनाएको गोपाल राजवंशावलीमा उल्लेख छ ।


चारुमति विहारको नामबाटै चाबहिल नाम रहन गएको ताम्राकार बताउँछन् । ‘यो क्षेत्रमा थुप्रै प्राचीन सम्पदा छन् । चाबहिल नै प्राचीन बस्ती हो,’ उनी भन्छन्, ‘बस्ती बसेकै समयमा पनि बसेको हो यहाँ घाट । घाट हाम्रो अमूर्त सम्पदा हो । मसानघाट भनेको मुर्दा पोल्नकै लागि हो । मुर्दा पोल्ने ठाउँमा बस्तीको कल्पना गरेको हुँदैन । घाटमा स्थानीयवासीको अग्राधिकार रहन्छ । सहज रूपमा मृत्यु संस्कार गर्न पाउनु कानुनी अधिकारसमेत हो ।’ यो घाटमा बज्रायान परम्पराअनुसार दाहसंस्कार गरिन्छ । त्यही भएर पशुपतितिर लैजाने विधि नभएको शाक्य बताउँछन् ।


घाटको चाबहिल चारुमति विहारसँग जोडिएको छ । यहाँको देवीसँग पनि जोडिएको छ । यहाँ पुर्खाको अस्तु छ भन्ने विश्वास गरिन्छ । त्यही अस्तुको गाजल ल्याएर देवीलाई लगाइदिने चलन भएको शाक्य बताउँछन् । चारुमति विहारलाई जीर्णाेद्वार गर्न वा चोख्याउन पर्‍यो भने त्यही घाटबाट अस्तु ल्याइन्छ ।


‘त्यही भएर यहाँको घाट सार्न मिल्दैन,’ शाक्य भन्छन्, ‘राज्यले एउटा नीति ल्याउनुपर्छ । दुर्गन्ध फैलियो भन्ने स्थानीयवासीको माग पनि जायज छ । कि बस्ती हटाउनुपर्‍यो, नभए कम दुर्गन्ध फैलने विधि अपनाउनुपर्‍यो । यसका लागि सानो विद्युतीय शवदाह मेसिन राख्न पनि सकिन्छ ।’


प्रकाशित : पुस ११, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?