१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता बोलाइए

काठमाडौँ — सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले बताए ।

देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता बोलाइए


उनका अनुसार ती राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन ।

कांग्रेस कोटामा नियुक्त बाँकी चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपानिकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् ।

सरकारले राप्रपा कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमोका लागि नाम पठाइसकेको छ ।

देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई यथावत् राख्ने तयारी सरकारको छ ।

मन्त्रिपरिषद्ले ‘मानव तस्करी’ आरोपमा परराष्ट्र मन्त्रालयको आन्तरिक छानबिनमा परेकी राजदूत शेर्पाका बारेमा कुनै निर्णय नगरेकोसमेत स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिले शेर्पालाई काठमाडौंं बोलाएर बयान लिइसकेको छ । समितिबाट छानबिन प्रतिवेदन आइनसकेकाले शेर्पालाई फिर्ता गर्ने/नगर्नेबारे मन्त्रिपरिषद्ले निर्णय नलिएको हो ।

राजदूत शेर्पाकै चालक वाङछु शेर्पाले उनीमाथि १० लाख रुपैयाँ लिएर आफूलाई अस्ट्रेलिया लगेको र श्रीमतीलाई लैजान थप पैसा मागेको आरोप लगाएका छन् ।

राजदूत शेर्पासित विवादपछि आफूलाई खतरा रहेको भन्दै वाङछु दूतावास छाडी अस्ट्रेलियामा ‘शरण’ मागेर बसेका छन् । उनी अहिले अस्ट्रेलिया सरकारको निगरानीमा छन् । नेपाल प्रहरीले वाङछु मानव तस्करीमा संलग्न पाइएको भन्दै उनलाई इन्टरपोलमार्फत नेपाल फिर्ता गर्न अस्ट्रेलिया प्रहरीलाई आग्रह गरिसकेको छ ।

वाङछुकी श्रीमती मानव तस्करीकै आरोपमा पुर्पक्ष थुनामा छिन् । अस्ट्रेलियास्थित नेपाली दूतावासले एक महिनाअघि विज्ञप्ति जारी गरी वाङछु राजदूतको निवासबाट चोरी गरेर भागेको र उनले लगाएको आरोपमा सत्य नरहेको दाबी गरेको छ ।

प्रकाशित : पुस १२, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?