१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्थानीय तह : डेढ वर्षमा ७ करोडका गाडी

अधिकांश स्थानीय तहद्वारा प्रमुख–उपप्रमुखका लागि गाडी र वडाध्यक्षलाई महँगा मोटरसाइकल खरिद
चन्द्र कार्की

तेह्रथुम — स्थानीय तहका जनप्रतिनिधिले डेढ वर्षको अवधिमा झन्डै ७ करोड रुपैयाँको सवारीसाधन खरिद गरिसकेका छन् ।

स्थानीय तह : डेढ वर्षमा ७ करोडका गाडी

६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यले विकास खर्च कटौती गरेर महँगा गाडी र मोटरसाइकल किनेका छन् ।


केही नगरपालिका तथा गाउँपालिकाले प्रमुख–उपप्रमुखका लागि सुविधासम्पन्न स्कार्पियो गाडी किनेका छन् भने वडाध्यक्षका लागि हेभी मोटरसाइकल खरिद गरेका छन् । सबै तहले छुट्टाछुट्टै मोडलका सवारीसाधन किनेको जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले बताए ।


म्याङलुङ नगरपालिकाले पहिल्यै ३० लाख रुपैयाँमा किनेको सामानसमेत राख्न मिल्ने पिकअप गाडी हुँदाहुँदै चालु आवमै ५५ लाख रुपैयाँमा एस फाइभ मोडलको स्कार्पियो खरिद गरेको छ ।


भर्खरै मात्र वडाध्यक्षका लागि २९ लाख रुपैयाँमा १० मोटरसाइकल पनि किनिएको छ । कर्मचारीका लागि थप १० मोटरसाइकल खरिद गर्ने योजना रहेको एक कर्मचारीेले बताए । नगरपालिकामा यसअघि किनिएका ६ मोटरसाइकल र एउटा स्कुटर चालु अवस्थामै छन् ।


फेदाप गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन लिङदेनले भर्खरै मात्र ५४ लाख १५ हजार रुपैयाँमा एस फाइभ मोडलको स्कार्पियो खरिद गरेको बताए । गाउँपालिकाले ५ लाख ९४ हजार ९ सय रुपैयाँबराबरका ३ मोटरसाइकल किनेको छ ।


मेन्छ्यायाम गाउँपालिकाले ६१ लाख ५० हजार रुपैयाँमा नयाँ मोडलको एस इलेभेन स्कार्पियो र वडाध्यक्षहरूका लागि २ लाख १७ हजारका दरले ६ मोटरसाइकल किनेको प्रशासकीय अधिकृत नवदीप राईले बताए । उनका अनुसार मोटरसाइकल खरिदमा १३ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।


आठराई गाउँपालिकाले ५२ लाख रुपैयाँमा स्कार्पियो गाडी किनेको छ । गत आवको अन्त्यमा गाउँपालिकाले कार्यालय प्रयोजनका लागि २ लाख १५ हजारका दरले ४ मोटरसाइकल खरिद गरेको छ ।


मोटरसाइकलका लागि मात्र ८ लाख ६० हजार रुपैयाँ खर्च भएको छ । कार्यालय प्रयोजनका लागि थप ५ लाख रुपैयाँ बराबरको एउटा मोटरसाइकल किन्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताए । केही समयअघि बसेको गाउँसभा बैठकले ५ लाख रुपैयाँको मोटरसाइकल किन्ने निर्णय गरेको थियो ।


छथर गाउँपालिकाले ईसूजू भी क्रस गाडी गत आवमा ६५ लाख रुपैयाँमा किनेको छ । गाउँपालिकाले कार्यालय प्रयोजनका लागि २ लाख १७ हजारका दरले ४ मोटरसाइकलसमेत ल्याएको छ । योजना अनुगमन तथा निरीक्षणमा समस्या भएकाले सवारी खरिद गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।


लालीगुराँस नगरपालिकासँग भने जनप्रतिनिधि आउनुअगाडि नै २५ लाख २५ हजार रुपैयाँमा किनिएको पिकअप गाडी छ । मेयर अर्जुन माबोहाङ यही गाडी प्रयोग गर्छन् ।


नगरपालिकाले गत आवमा वडाध्यक्षका लागि भन्दै २ लाख १७ हजार ९ सय रुपैयाँका दरले ९ मोटरसाइकल किनेको छ । कार्यालय प्रयोजनका लागि २ लाख ५५ हजारका दरले किनिएका ३ र ४ लाख ८५ हजारका दरले थप २ होन्डा मोटरसाइकल नगरपालिकाले खरिद गरेको छ । नगरपालिकासँग एउटा होन्डा साइन मोटरसाइकल पनि छ ।


त्यसैगरी बजार क्षेत्रको फोहोर संकलन गर्न २७ लाख रुपैयाँमा ट्याक्टर र ९२ लाख रुपैयाँमा एक्साभेटर किनिएको छ । जनप्रतिनिधि आउनुअघि नै २७ लाख रुपैयाँमा किनिएको एक्साभेटर पनि चालु अवस्थामै रहेको लेखापाल राजु ढुंगानाले बताए ।


तेह्रथुमसँग सीमा जोडिएको पाँचथरको तुम्बेवा गाउँपालिकाले पनि गत आवमा ३६ लाख ६० हजार रुपैयाँ लागतमा स्कार्पियो तथा उपाध्यक्ष, वडाध्यक्ष र कार्यालयका कर्मचारीका लागि ५ मोटरसाइकल किनेको छ ।


गाउँपालिकाले बाहिरबाट पानी ल्याएर वितरण गर्न ट्यांकीजडित ट्याक्टर किन्न २७ लाख रुपैयाँ छुट्याएको अध्यक्ष होमनाथ थापाले बताए । पाँचथरकै कुम्मायक गाउँपालिकासँग भने अहिलेसम्म गाडी छैन ।


गत आवमा गाडी किन्न छुट्याएको बजेटबाट गाउँपालिकाले पानी बोक्ने ट्यांकीजडित ट्याक्टर किनेको थियो । २ ट्याक्टर किन्दा गत वर्ष ४८ लाख रुपैयाँ खर्च गरिएको थियो । यो वर्ष ६० लाख रुपैयाँमा स्कार्पियो किन्ने प्रक्रिया अगाडि बढेको अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।


जनप्रतिनिधिको सेवा–सुविधाका लागि किनिएका सवारीसाधनको इन्धन र मर्मत खर्च कार्यालयबाटै व्यहोर्ने गरिएको छ । विकास बजेट र नागरिकले तिरेको करको व्यापक दुरुपयोग गरेको नागरिक समाजका अगुवा तुलसी संग्रौलाले बताए ।


चुनावका बेला गरिएको खर्च असुल्न र त्यसको फाइदा लिन मात्रै जनप्रतिनिधि केन्द्रित भएको तेह्रथुमको लालीगुराँस नगरपालिका ४, चित्रेका होमराज रायमाझीले आरोप लगाए । जनप्रतिनिधिले अनावश्यक भत्ता लिने, खर्च भएको भन्दा बढीको बिल पेस गरी भुक्तानी लिने, महँगो गाडी र मोटरसाइकल खरिद गरी चढ्ने गरिरहेको उनको आरोप छ ।

प्रकाशित : पुस १२, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?