कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विकास समिति सभापतिको प्रश्न, 'कस्तो निर्देशन दिँदा मेलम्चीको पानी चाँडै आउँछ मन्त्रीज्यू ?'

मैलै इमान्दारसाथ काम गरेकी छु, आशंका नगर्नुहोस् : मन्त्री
झुटो बोल्दा जनता झुकिए : सांसद
‘सीएमसीले काम गर्ने/नगर्नेमा अझै अनिश्चित’
दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाई मन्त्री विना मगरले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजनाको काम गर्ने/नगर्नेबारे अझै निश्चित नभएको जवाफ दिएकी छन् । संसद्को विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएको प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले औपचारिक रुपमा ठेकेदारसँग छलफल गर्न बाँकी रहेको जनाइन् ।

विकास समिति सभापतिको प्रश्न, 'कस्तो निर्देशन दिँदा मेलम्चीको पानी चाँडै आउँछ मन्त्रीज्यू ?'

‘नयाँ वर्षका लागि ठेकेदार इटाली गएको छ, फर्केर आएपछि थप छलफल हुन्छ’ उनले भनिन्, ‘उसले काम गर्छु भनेर पत्र पठाएको छ, तर, गर्ने/नगर्नेबारे अहिले केही भन्न सकिँदैन ।’ सीएमसीबाटै काम गर्ने अन्तिम प्रयास भने जारी रहने उनले बताइन् । अदृश्य निर्णय भएको संकेत गर्दै मन्त्री मगरले भनिन्, ‘ठेक्का तोड्दा आयोजना लम्बिने सम्भवना बढ्छ । फकाएर भए पनि यसैबाट काम गराउने प्रयास जारी रहन्छ ।’


मेलम्ची आयोजनाको साइडमा काम गरिराखेका स्थानीय ठेकेदार पनि सक्षम रहेको भन्दै उनले यदि सीएमसीले काम नगरे अन्तिम विकल्प पनि सोचिराखेको बताइन् । ‘स्थानीय ठेकेदारहरु दक्ष छन्, यदि सीएमसीले काम नगरे स्थानीयलाई नै परिचालन गर्छु’ उनले भनिन्, ‘स्थानीय ठेकेदारलाई ठेक्दा दिँदा प्रक्रिया र विधि पुर्‍याउन पर्ने हुन्छ, ढिला पनि हुनसक्छ ।’


सांसद रामबहादुर विष्टले शपथ लिनेबित्तिकै प्रत्येक खानेपानी मन्त्रीले मेलम्चीको पानी ल्याउने सीमा निर्धारण गरेर जनता र सरकारलाई झुक्याउने गरेको आरोप लगाए । ‘कुनै मन्त्रीले दसैंअघि, कुनैले नयाँ वर्षमा पानी ल्याउँछौं भनेर झुट बोल्दै आएका छन्’ उनले आक्रोशित हुँदै भने, ‘किन यस्तो हुन्छ ?’

सांसद विष्टले खानेपानी तथा सरसफाई सचिव गजेन्द्र ठाकुरले पनि विकास समिति आएर ६० दिनभित्र पानी ल्याउँछौं भनेर जनतालाई झुक्याएको आरोप लगाए । आर्थिक रुपमा टाट पल्टेको कम्पनीलाई पुन: काममा लगाउने भन्ने मन्त्रीको भनाइमा कुनै विश्वसनीयता नभएको उनले बताए । ‘एकातिर टाट पल्टेको भन्ने अनि अर्कोतिर काममा लगाउँछौं भन्ने', उनको प्रश्न थियो, 'टाट पल्टेकोलाई कसरी काममा लगाउन मिल्छ ?’

पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी भने गलत सूचना दिएर सरकार र मन्त्रीलाई झुक्याउने गरेको भन्दै कर्मचारीमा खनिए । ‘किन कर्मचारीले झुटा बोल्छन्, सत्य विवरण प्रस्तुत गर्दा आखिर के हुन्छ ?’ उनले भने, ‘झुट बोल्दा सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्छ ।’ सीएमसीले अन्तिम अवस्थामा पुगेर आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्नुभित्र रहस्य पत्ता लगाउन उनले माग गरे ।


सांसद गणेशप्रसाद पहाडीले टाट पल्टेको कम्पनीलाई काम दिन मिल्ने/नमिल्नेबारे प्रस्ट पार्न माग गरे । ‘टाँट पल्टेको घोषणा गर्छ अनि त्यसैलाई काम दिनु वैधानिकता हुन्छ कि हुँदैन’ उनले भने, ‘कसरी काम लगाउन मिल्छ ?’


सांसद राजेन्द्र राई आयोजनाबारे सम्बन्धित मन्त्रालय गम्भीर नभएको आरोप लगाए । ‘सयममा गम्भीर नभएकाले अहिले समस्या आएको हो’ उनले भने, ‘परिणाम थाहा नपाइकन मन्त्री, सचिव बोल्दै हिँड्न हुन्न ।’ साथै, विकास समितिले गरेका निर्णय कार्यान्वयन नभएको भन्दै उनले सभापतिसँग कार्यान्वयन गराउन कदम चाल्नु पर्ने माग गरे । मन्त्रीको बोलाईमा एकरुपता नभएको भन्दै उनले त्यसरी मुलुक बन्न नसक्ने दाबी गरे । ‘मन्त्रीज्यू गम्भीर हुन पर्‍यो, बाहिर एउटा बोल्ने, भित्र अर्कै बोलेर हिँडेर हुँदैन’ उनले भने, ‘मुलुकप्रति जिम्मेवार हुनपर्छ ।’


सांसद दुर्गा पौडेलले पानी आउँछ भनेर जनतालाई भ्रममा राखेको बताइन् । उनले भनिन्, ‘जथाभावी बोल्दा जनतामा नराम्रो सन्देश जान्छ ।’


पूर्वप्रधानमन्त्री एवं सांसद झलनाथ खनालले मेलम्ची आयोजनाप्रति जिम्मेवार रुपले प्रस्तुत हुनुपर्ने बताए । ‘मन्त्री नेतृत्व प्रभावकारी देखिन पर्‍यो’ उनले भने, ‘तीन दशक एउटै आयोजनामा समय बिताउँदा नराम्रो सन्देश जान्छ ।’


विकास समितिकी सभापति कल्याणी खड्काले कस्तो निर्देशन दिँदा मेलम्चीको पानी चाँडो आउन सक्छ भनेर मन्त्रीसँग प्रश्न गरिन् । ‘मन्त्रीज्यू गम्भीर हुन पर्‍यो, अब मैले कस्तो निर्देशन दिने पानी ल्याउनलाई ?’ उनले भनिन्, ‘समस्या के छ ? समितिले के सहयोग गर्नु पर्‍यो ?’


त्यसपछि मन्त्री मगरले आफूहरु जिम्मेवार ढंगले समस्या समाधान गरिराखेकाले आशंका नगर्न आग्रह गरिन् । ९३ प्रतिशत काम सम्पन्न भइसकेकाले अब चाँडै काम सुचारु हुने मन्त्री मगरको भनाइ थियो ।

प्रकाशित : पुस १२, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?