कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल बेचेर घोडा

चन्द्र कार्की

फाल्गुनन्द, पाँचथर — घरैअघिको बाटो हुँदै गाडी चल्न थालेपछि फाल्गुनन्द गाउँपालिका ६ मेहेलबोटेका भोला रिजालले घोडा बेचेर मोटरसाइकल किने । घाँसपात नचाहिने र राख्न पनि सानै ठाउँ भए पुग्ने भन्दै किनेको मोटरसाइकलबाट केही दिनलाई यात्रा रमाइलै भयो ।

मोटरसाइकल बेचेर घोडा

विस्तारै मोटरसाइकल चलाउँदाको खर्च र जानैपर्ने ठाउँमा पुग्न नसकिने सडकको अवस्थाले उनलाई घोडाको उपयोग याद आयो । लगत्तै पाँचथरकै आङना पुगेर पुन: घोडा किनेर ल्याए ।

मोटरसाइकल चलाएर गाउँका सबै घर पुग्न नसकिने र दुर्घटना जोखिम समेत भएकाले घोडै भरपर्दो र यात्रामा सहज भएको उनले बुझे । उनका बाजे र बुवा पनि युवावस्थादेखि नै घोडा चढ्थे ।


‘घोडाको विकल्प मोटरसाइकल होइन रहेछ,’ रिजालले भने, ‘घोडा त साँघुरो बाटोमा पनि सजिलै जान्छ, मोटरसाइकललाई त सडकै चाहिन्छ ।’ उनीजस्तै मोटरसाइकल बेचेर घोडा किन्नेको संख्या गाउँमा थपिँदै छ । आँगन, दलानमा अडाउने मोटरसाइकलले आफ्नो घरको शोभा नबढाएको रिजालले बताए । तबेलामा घोडा बाँधेर उसको घाँटीमा झुन्ड्याएको घन्टीको आवाजले आफूलाई आनन्द आउने उनी सुनाउँछन् ।


घोडामा चढेर उनका अग्रजहरू सदरमुकाम फिदिम बजार हुँदै कहिलेकाहीँ छिमेकी इलामसम्म पुग्थे । परम्परा धान्न पनि आफूले घोडा किनेर त्यही शैली अपनाएको रिजाल बताउँछन् ।

पहाडको उकाली ओरालीमा घोडा चढ्नुको फाइदा र सोख बेग्लै छ ।


जिल्लाका घुर्मिसे पञ्चमी, यासोक, रवि, राँके लगायत बजारसम्म काम विशेषले जाँदा पनि उनी घोडामै चढेर जान्छन् । गाउँघरमा हुने विवाह, शुभकार्य तथा मलामी जाँदा पनि उनी घोडा नै प्रयोग गर्छन् । गाउँघरको साँघुरो र अप्ठ्यारो बाटोमा समेत सजिलै घोडा हिंड्ने भएकाले मोटरसाइकलको दाँजोमा धेरै सजिलो हुने रिजालको अनुभव छ ।


घोडाका लागि उनी महिनामा २ हजार ५ सय रुपैयाँको दाना किनेर खुवाउँछन् । पछिल्लो समय घोडचडी धेरै क्षेत्रमा लोप भइसक्यो । घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिए । तर पाँचथरको फाल्गुनन्दमा भने अहिले पनि यसको महत्त्व हटेको छैन ।


राणा र पञ्चायत शासनको समयमा जिल्लाका अगुवाले घोडा पालेर त्यसैबाट यात्रा गर्थे । त्यो समय घोडामा यात्रा गर्ने समाजका अगुवा र हुने खानेमा कहलिन्थे । पितापुर्खाको बिंडो थाप्न र सोखकै लागि भए पनि घोडा पाल्न नछाड्ने यहाँका किसानको भनाइ छ ।


पहिले रहरले किनेका धेरैले मोटरसाइकल घर अगाडिको एउटा कुनामा थन्क्याएर राखेका छन् । यात्रामा घोडाकै प्रयोग गर्छन् । महँगो पेट्रोल पनि नचाहिने र पार्टपुर्जा बिग्रिएर गन्तत्वमा नपुगिने डर समेत नहुने भएकाले मोटरसाइकलभन्दा घोडा नै सजिलो र भरपर्दो यातायातको साधन भएको घोडापालक बताउँछन् ।

प्रकाशित : पुस १२, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?