१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रधानमन्त्री भन्छन्, 'अब कोही पनि गरिब हुँदैनन्'

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण अब नेपालमा कोही पनि गरिब नरहने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसद् शुक्रबार उद्घाटन गर्दै उनले कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने दाबी गरे ।

प्रधानमन्त्री भन्छन्, 'अब कोही पनि गरिब हुँदैनन्'

श्रमजीवी जनताको हित गर्ने सरकार भएकाले उनीहरूको वृत्तिविकास र आर्थिक स्थिति सुधार गर्न सधैं सकारात्मक रहने ओलीले बताए । ‘हामीले मजदुरको मात्र होइन, उद्योगीहरूको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’


ओलीले सरकारले धनीलाई थप धनी हुनबाट रोक्ने नभई गरिबलाई धनी बनाउने नीति अख्तियार गरेको बताए । ‘सामाजिक समानताका आधारमा गरिबलाई पनि खानलाउन र दैनिक जीवन सहज ढंगले धान्न पुग्ने गरी कार्यक्रम ल्याउँछौं,’ उनले भने, ‘सामाजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । हामी छिट्टै त्यो अवस्थामा पुग्छौं ।’


प्रधानमन्त्रीले शीतलहरबाट तराईमा हुने प्राकृतिक प्रकोपबाट कसैको मृत्यु हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए । ‘शीतलहरबाट जोगाउन सुरक्षा निकाय, स्थानीय तह, प्रशासन, निजी क्षेत्र, सबैसँग समन्वय गरिएको छ,’ उनले भने, ‘यस वर्षदेखि जाडाले कठ्यांग्रिएर कसैले मर्नुपर्दैन ।’


सरकारले अधिनायकवाद ल्याउँदै छ भनेर प्रतिपक्ष कांग्रेसले जनतालाई त्रस्त पार्न खोजेको दाबीसमेत प्रधानमन्त्रीले गरे । आफूले आधा शताब्दीभन्दा लामो समय लोकतन्त्रका लागि लडेको उल्लेख गर्दै उनले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न कांग्रेसलाई चेतावनी दिए । ‘सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आतंकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो,’ ओलीले भने ।

प्रकाशित : पुस १३, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?