३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बम्जन आश्रमबाट हराएका परिवार भन्छन् : सरकारले छानबिन गरोस्

रामबहादुर बम्जनको आश्रमबाट सर्लाहीकी रीता बोट, नुवाकोटकी चिनिमाया तामाङ, मकवानपुरका फूलमाया रुम्बा र सन्चलाल रुम्बा  विभिन्न समयमा हराएका छन् । परिवारले प्रहरीमा उजुरी दिइसकेका छन् । उनीहरूले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आफन्त खोजी गरिदिन सरकारसँग माग गरे ।
जनकराज सापकोटा

काठमाडौँ — आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् ।

बम्जन आश्रमबाट हराएका परिवार भन्छन् : सरकारले छानबिन गरोस्

उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरेर बम्जनको आश्रममा वर्षौं बसेकाहरू कहिल्यै घर नफर्केको र खोज्दा पनि नभेटिएकाले कि सास, नभए लास खोजिदिन माग गरेका हुन् ।


मकवानपुरकी एक आनी र एक पुरुष, सर्लाही र नुवाकोटका एक–एक आनी हराएको भन्दै बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता भइसकेको छ । नुवाकोट म्यागङ गाउँपालिका–३, देउरालीकी गंगामाया तामाङ दुई वर्षयता साइँली बहिनी कर्मा भनिने चिनिमाया तामाङलाई खोजिरहेकी छन् । आश्रममा बस्न आएपछि रामबहादुर बम्जनले चिनीमायालाई चुन्मो नाम दिएका थिए । नाम फेरिएकी यिनै चुन्मो ६ वर्षयता हराइरहेकी छन् । उनी कहा“ छिन् ? कहा“ गइन् ? ज्युँदै छिन् कि छैनन् भन्ने प्रश्नको उत्तर न उनले बम्जनबाट पाएकी छिन् न आश्रममा रहेकाहरूबाटै ।


२०६८ सालदेखि बम्जनको आश्रममा लागेकी उनकी बहिनी २०६९ मा एकचोटि घर आएकी थिइन् । केही दिन बसेर आश्रममै फर्किइन् । त्यसपछि आएकी छैनन् । न फोन र अन्य माध्यबाट सम्पर्क नै गरिन् । बहिनी हराएपछि गंगामाया उनलाई खोज्न सबैतिर चहारिन् ।


‘बम्जनको सिन्धुलीस्थित आश्रममा पुगें तर गुरुका चेलाहरूले छैन भने, पोहोर ललितपुरको बुङमतीमा भएको कार्यक्रममा गुरु आउने थाहा पाएर गएँ । त्यहाँ पनि बहिनीबारे केही खबर पाइनँ ।’ बुङमतीमा भेटिएका बम्जनका चेलाहरूले चुन्मोलाई सीआईडीको आशंकामा आश्रमबाट निकालिएको सुनाएको गंगामायाले बताइन् ।


बम्जनलाई गुरु मानेर घर छोडेकी बहिनी आश्रमबाट नफर्केपछि मनमा चिसो पसेको उनले बतँइन् । उनले आफ्नो शंका सुनाइन्, ‘बम्जनलाई नराम्रो सोचेको हैन तर उनको आश्रममा बस्दाबस्दैकी बहिनी बेपत्ता भएपछि शंका लागेको हो ।’ गंगाले बहिनीजस्तै अरू थुप्रै आनी बम्जनको आश्रमबाट हराएको खबर सुनेपछि चिन्ता झनै बढेको बताइन् । उनले भनिन्, ‘मरेको भए लास पाऊ“, जिउ“दो भए सास ।’


त्यसो त बम्जनको चेला बनेर वर्षौं उनकै आश्रममा बिताएका अन्य चेली पनि सम्पर्कमा छैनन् । ती सबैको परिवारको चिन्ता गंगामायाकै जस्तो छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ का वीरबहादुर रुम्बा तीन वर्षयता हराएकी छोरी फूलमायाको खोजीमा छन् ।


२०६४ मा अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघमा लागेकी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका रामबहादुर बम्जनबाट प्रभावित भइन् । त्यसपछि आनी बनेर उनकै पछि लागिन् । बम्जनले उनको नाम फेरिदिए र उनी डोल्मो भइन् ।


वीरबहादुरले २०७१ माघको कुरा सम्झिए । त्यो दिन डोल्मोले उनलाई फोनमा भनेकी थिइन्, ‘मलाई भोलि बिहानै भेट्न आऊ, नत्र भेट्नै नपाउला ।’ किन छोरीले त्यसरी भेट्न बोलँएकी थिइन् वीरबहादुरले बुझेनन् । उनले भने, ‘म किसान मान्छे । छोरीले किन भोलि नै भेट्न बोलाई । थाहै भएन । गुरुको आश्रममा बसेकी छोरीलाई के नै पो पीर होला र भनेर मन बुझाएँ ।’


यसरी फोन गरेको केही महिनापछि २०७२ वैशाखमा भूकम्प आयो । वीरबहादुरको मन आत्तियो । भूकम्पले सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति पु¥यायो । मेरी छोरी पनि त्यतै बस्छे । केही पो भयो कि ? मनभरि शंका पालेर वीरबहादुर सिन्धुपाल्चोकस्थित आश्रम पुगे । उनले बम्जनलाई भेट्न पाएनन् । सहयोगीले डोल्मो त्यहाँ नरहेको र केही महिनाअघि नै हिँडेको बताए ।

त्यसयता वीरबहादुरले छोरीको खबर पाएका छैनन् । बम्जन उपस्थित हुने सबैजसो कार्यक्रममा उनी पुगे, उनका थुप्रै चेलाहरूलाई भेटे तर कसैले पनि डोल्मो कहाँ छिन् भनेर बताउन सकेनन् । पत्रकार सम्मेलनमा वीरबहादुरले भने, ‘अब मेरी छोरी सरकारले खोजिदिनुपर्‌यो ।’


फूलमायाका दाइ विजय रुम्बाले पनि पत्रकार सम्मेलनमा आफ्नी बहिनी हराएकोबारे चिन्ता व्यक्त गरे । उनले भने, ‘बम्जनलाई मैले धेरै वर्षसम्म भगवान सोचेको थिएँ तर उनकै आश्रमबाट बहिनी हराउँदा मतलब गरेनन् । मेरी बहिनी कहाँ छे ?’


हेटौंडा उपमहानगरपालिका–१३ का महेन्द्र वाइबा पनि साढे दुई वर्षयता हराएका बाबुको खोजीमा छन् । उनका बुवा सन्चलाल तामाङले बम्जनको बारा, हलखोरियास्थित आश्रममा केही समय बिताएका थिए । आश्रमबाट फर्केका सन्चलाल केही समय घर बसेर २०७१ चैतमा बम्जनको सिन्धुलीस्थित आश्रममा हिँडेका थिए । महेन्द्रले बुवासँगको पछिल्लो कुराकानी सम्झिँदै भने, ‘२०७२ चैत १४ गते बुवाले म सिन्धुलीको आश्रममा आएको छु भन्नुभएको थियो । त्यसपछि बुवाको अत्तोपत्तो छैन । न आश्रमसम्बद्ध कोही बोल्न तयार छन् न बुवा भेटिएनुभएको छ ।’


हराएका बुवाको खोजी गर्दा पनि केही पत्तो नलागेपछि उनले त्यतिबेलै जिल्ला प्रहरी कार्यालयमा खोजी गर्न उजुरीसमेत दिएका थिए तर त्यसको सुनवाइ भएन । सिन्धुली र सिन्धुपाल्चोकमा रहेको बम्जनको आश्रममा पुगेर सोधीखोजी गर्दा पनि बाबु नभेटेको उनले बताए । महेन्द्रले पत्रकार सम्मेलनमा बाबुको खोजीमा राज्य जुट्नुपर्ने बताँए ।


गंगामाया, वीरबहादुर र महेन्द्र तीनैजनाले बम्जनको आश्रमबाट हराएका परिवारका सदस्यको खोजी गर्दा बम्जनआबद्ध संस्थाले आफूलाई केही थाहा नभएको प्रतिक्रिया मात्रै दिएका छन् । उनीहरूले गुरु भनिएका रामबहादुर बम्जनलाई भेट्ने समयसम्म पाएका छैनन् । तीनैजनाको प्रश्न छ, के साँच्चै प्रचार गरिएजस्तो आश्रमभित्र ज्ञान बा“डिन्थ्यो ? आश्रममा बस्नेहरू कसरी हराए ? कहाँ गए ?


बम्जनको महासम्बोधी धर्म संघसँग निकट रहेर काम गरेको संस्था नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघका महासचिव प्रेम दोर्जे लामाले धर्मको आवरणमा भइरहेको कामबारे उठेका प्रश्नको उत्तर राज्यले खोज्नुपर्ने बताए । हराएका भनिएका तीन आनी र एक चेला कहा“ छन् खोज्नुपर्ने बताउँदै उनले प्रश्न गरे, ‘यी मान्छेलाई कसले गायब पार्‌यो ?’


पत्रकार सम्मेलनमा प्रेमले बुद्धको अवतारका रूपमा प्रचार गरिएका बम्जनका शंकास्पद गतिविधिका फेहरिस्त बताए । उनले २०६६ मंसिर ३ गतेको कुरा सम्झिँदै भने, ‘बम्जन गढीमाई मेलामा हुने बलि रोक्न अघि सरेपछि त्यस्तो कामले धार्मिक सद्भाव भडकिने र झडप हुने सम्भावना रहेकाले पुनर्विचार गर्न हामीले सम्झायौं तर उनले मुठभेड भए पनि बलि रोकेरै छाड्ने र त्यसक्रममा गोली चले पनि केही नहुने अडान लिए ।’


गुरुले यस्तो अडान लिएपछि उनको संगठनले अभियानबारे मेची–महाकाली प्रचार–प्रसार गरेको थियो । बम्जनले आफू बलि हुने दिन आउने वाचा गरेपछि प्रेम २१ जनाको डफ्फा लिएर मेलास्थल पुगेका थिए । तर उनी मेलामा आउँदै आएनन् । बम्जनलाई खोज्दा आश्रममा पनि फेला पारेनन् ।


प्रेमले भने, ‘बम्जन त आश्रम छोडेर हिँडिसकेछन् ।’ यसरी फुत्त हराएका बम्जनलाई एक महिनापछि एक युवतीस“ग हलखोरियामा देखेपछि उनीमाथि शंका लागेको प्रेमले बतँए । उनले पुरानो दिन सम्झिँदै बताए, ‘मैले गुरुलाई तीनपटक ढोगेर सोधें– हामीलाई मेला पठाएर तपाईं कहाँ हराउनुभयो ? अनि तपाईंसँग देखिएकी महिला को हुन् ? मेरो प्रश्न सुनेर उनी झर्किए । उनले कहिले आफू रौतहट गएको भने, कहिले भारत भने, कहिले कहाँ ? गुरुका यस्ता अनेकथरी उत्तर सुनेपछि हामीलाई झन् शंका भयो ।’ प्रेमका अनुसार बम्जनले आफूसँगै रहेकी युवतीबारे कुनै प्रश्न नगर्न भनेका थिए । २०६६ माघ ४ गतेपछि आफ्नो संगठन उनको विचार र मार्गबाट अलग्गिएको उनले जानकारी दिए ।


पत्रकार सम्मेलनमा उनले बम्जनको चरित्र र उनको गतिविधिबारे राज्यले अनुसन्धान गर्नुपर्ने मात्रै बताएनन्, उनको आश्रमबाट हराएकाको पनि खोजी गर्नुपर्ने बताए । उनले भने, ‘नेपाल सरकारले बम्जनबारे सत्यतथ्य बुझ्नुपर्छ र हराएहरूको अवस्था पत्ता लगाउनुपर्छ ।’

प्रकाशित : पुस १४, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?