३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विद्यार्थी मृत्यु प्रकरण : पिट्ने शिक्षक कडा स्वभावका

लक्ष्मी साह

बारा — नमुना विद्यालयकी एक छात्राले कक्षा ७ मा पढ्ने अजय मण्डलले आफ्नो बदनाम गरेको भन्दै गत सोमबार शिक्षक सोनालाल यादवसमक्ष गुनासो गरिन् । कडा स्वभावका शिक्षक भएकाले सोनालाललाई नै रोजेर उनले कक्षा सुरु हुनुअघि नै गुनासो गरेकी थिइन् । 

विद्यार्थी मृत्यु प्रकरण : पिट्ने शिक्षक कडा स्वभावका

सोमबार तेस्रो घण्टीको कक्षा चल्दै थियो । छात्राको गुनासो सुनेका शिक्षक यादवले कक्षा ७ का १३ वर्षीय विद्यार्थी अजय मण्डलसहित केही विद्यार्थीलाई कक्षाबाहिर बोलाए । अरूलाई पठाएपछि अजयलाई पिट्न थाले । पछि हप्काएर उनलाई ‘घर जाऊ’ भन्दै पठाइदिए । त्यसपछि शिक्षक यादवले घाम ताप्दै कक्षा लिँदै गरेका प्रधानाध्यापक सुकदेव यादवलाई घटनाबारे सुनाए ।


यसबारे प्रधानाध्यापकले खासै प्रतिक्रिया त्यसमा जनाएनन् । ‘शिक्षक र छात्राको प्रतिष्ठासित जोडिएकाले विद्यार्थीलाई सचेत गराउनु जायज ठानेर सुधारका लागि थोरै पिटे, धेरै होइन,’ प्रअ यादवले भने, ‘हामीले विद्यार्थीलाई कसरी अनुशासनमा राख्ने ? भवितव्यले त्यस्तै भइदियो भने हाम्रो के दोष ?’


प्रअ यादवका अनुसार विद्यार्थी अजय कक्षामा चुलबुले स्वभावका थिए । उनी पढाइमा सामान्यखाले विद्यार्थी थिए । अजयले पिटाइ खाएका दिन छात्रासित घुलमिल गरेको आरोप लागेका शिक्षक अनुपस्थित थिए ।


‘अजय बिहान माछा र भात खाएर विद्यालय आएका थिए । त्यसको अघिल्लो रातिसमेत माछा खाएका थिए, त्यसैले विद्यालय आउनुअघि नै घरमा पखाला लागेको थियो, बान्ता गरेका थिए,’ प्रअ सुकदेवले अजयका सहपाठीको भनाइलाई उद्धृत गर्दै भने, ‘उनकी आमाले विद्यालय जान अजयलाई रोकेका थिए तर अजय बुबाको पिटाइ खाने डरले विद्यालय आएका थिए ।’


उनी भन्छन्, ‘घरमा समेत उनी डरको दबाबमा परे । विद्यालयमा समेत पिटाए खाए । घरमा सबै पोल खुल्छ कि भनेर थप तनावमा आइसकेको हुनुपर्छ ।’ अजयको मृत्यु र विद्यालयमा उनी पिटिइनु संयोग भएको प्रअ यादव बताउँछन् । पिटिइएकै केही घण्टापछि अजयको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । शिक्षक सोनालालले पिटेपछि साइकल चढेर फर्किएका अजय घरमा बान्ता गर्दै बेहोस थिए । बेहोस अवस्थामा उनलाई अस्पताल पुर्‍याइएको थियो । मृत्युको कारणबारे अस्पतालबाट परीक्षण रिपोर्ट नआएकाले प्रहरी र परिवार अन्योलमा छन् । अजयको परिवारले पिटाइबाटै मृत्यु भएको आरोप लगाउँदै आएको छ ।


प्रहरीले किटानी जाहेरी लिएको छैन । ज्यान कसुरसम्बन्धी उजुरी दिन दबाब दिएको पीडित परिवारले जनाए । प्रत्यक्षदर्शी, शिक्षकलगायतसँग प्रहरीले सोधपुछ जारी राखेको छ । पिट्ने शिक्षक सोनालाल फरार छन् । प्रअको भनाइमा अजयको परिवार सहमत छैन ।


‘छोरा हाँसीखुसी विद्यालय गएका थिए । माछाभात खाएर हिँडेका थिए । तर त्यस्तो केही समस्या उसलाई थिएन,’ अजयकी आमा कोसिलाले भनिन्, ‘छोरो सधैं आफैं विद्यालय जाने गरेका थिए । हामीलाई न्याय चाहिन्छ ।’


सोही वडाका जवाहर मण्डलले विद्यार्थी पिट्ने शिक्षक सोनालाल यादव चाँडै आक्रोशित हुने स्वभावको भएको बताए । ‘हाम्रो खेत छेउमै उहाँको खेत छ, कहिलेकाहीं खेतमा आउँदा बालीनाली नोक्सानी भएको बेला अपशब्द प्रयोग गर्ने र लठैत स्वभाव देखाउनुहुन्छ,’ जवाहरले भने । विद्यालय स्रोतका अनुसार शिक्षक सोनालाल कडा स्वभावका छन् ।


यो पनि पढ्नुहोस्ः

शिक्षकको कुटाइले छोराको मृत्यु भएको अभिभावकको आरोप, पिट्ने शिक्षक फरार

प्रकाशित : पुस १४, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?