कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजपाभित्र चरम गुटबन्दी 

अध्यक्ष मण्डलका संयोजकको पुतला दहन  
श्यामसुन्दर शशि

जनकपुर — राष्ट्रिय जनता पार्टी नेपालभित्रको गुटबन्दीको प्रभाव धनुषामा पनि देखिन थालेको छ । गुटगत कोठे बैठकमा सीमित रहेका पार्टी नेता/कार्यकर्ताहरू अचेल एक–अर्काविरुद्ध चर्का बयानबाजी गर्न थालेका छन् । पार्टीसम्बद्ध एक समूहले शुक्रबार केन्द्रीय अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुतलासमेत दहन गरे । 

राजपाभित्र चरम गुटबन्दी 

राजपा अध्यक्ष मण्डलका केन्द्रीय संयोजक राजेन्द्र महतोले धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई शुक्रबार बिहान बर्खास्त गरी युवा नेता ज्ञानेन्द्रकुमार झा ‘ज्ञानु’ लाई अध्यक्ष तोकेका थिए । जसको प्रतिक्रियामा अपराह्न मण्डल समर्थक पार्टी नेता/कार्यकर्ताहरूले आफ्नै शीर्ष नेता राजेन्द्र महतोको पुतला जलाए ।


पुतला जलाउने बेला प्रदेश २ मा राजपाका प्रमुख सचेतक परमेश्वर साहसहितका राजपाका अन्य नेता/कार्यकर्ता पनि सहभागी रहेको आरोप छ । राजपा केन्द्रीय महासचिव राजीव झाले केन्द्रीय संयोजक महतोको पुतला जलाउने कार्यक्रममा प्रदेशका प्रमुख सचेतक साहलगायतका नेताहरू सहभागी हुनुलाई ‘निन्दनीय घटना’ भनेका छन् ।


‘जीवित पार्टीभित्र बहस र छलफल हुन्छ । वैचारिक मतभिन्नता पनि हुन्छ तर यसलाई आधार बनाई नेताहरूले नै आफ्नै नेताको पुतला दहन गर्ने काममा सहभागी हुनु निन्दनीय हो,’ झाले कान्तिपुरसंगको फोन सम्पर्कमा भने ।


प्राप्त जानकारीअनुसार शुक्रबार राजपा अध्यक्ष मण्डलका सदस्य तोकिएका ज्ञानेन्द्रकुमार झा ‘ज्ञानु’ को स्वागत अभिवादनका लागि शनिबार केन्द्रीय सदस्य मनोजकुमार चौधरीको घरमा बैठक बसेको थियो । बैठकमा पुतला दहन कार्यक्रममा सहभागी राजपा संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहमाथि कारबाही गरिनुपर्ने माग उठेको सहभागी नेताहरूले जनाएका छन् ।


बैठकमा केन्द्रीय सदस्य मनोज चौधरीका अतिरिक्त नवनियुक्त अध्यक्ष मण्डलका सदस्य झा, प्रदेश सांसद सुरीता साह, जनकपुर उपमहानगरपालिकाका मेयर एवं केन्द्रीय प्रवक्ता लालकिशोर साह, केस राजु चौधरी, अरविन्द साह, सञ्जय चौधरीलगायतको सहभागिता थियो । सहभागी सञ्जय चौधरीका अनुसार बैठकका अधिकांश नेताले प्रमुख सचेतक साहमाथि कारबाही हुनुपर्ने माग गरेका थिए ।


यता राजपाका अर्का केन्द्रीय प्रवक्ता कृष्णा सिंहले देवकृष्ण मण्डललाई धनुषा अध्यक्ष मण्डलबाट हटाउने सिफारिस शरदसिंह भण्डारीले गरेको खुलासा गरेका छन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘ज्ञानेन्द्र झालाई राख्ने र मण्डललाई हटाउने निर्णय भण्डारीजीको सिफारिसमा भएको हो । मण्डल अझै पनि पार्टीका नेता हुन् । यस विषयलाई अतिरञ्जित गरेर पुतला दहन गर्नु र कसैमाथि कारबाहीको कुरा उठाउनु बेठीक हो ।’


महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव नेतृत्वका दलहरू एकीकृत भई बनेको राजपा नेपालमा केन्द्रदेखि जिल्लासम्म साबिक पार्टीका एक–एक जना नेता सहभागी रहेको अध्यक्ष मण्डल राखिएको छ । स्रोतका अनुसार अझै पनि सम्बद्ध नेताकै सिफारिसमा अध्यक्ष मण्डलका सदस्य तोक्ने र हटाउने परम्परा छ ।


विवादको शृंखला

दस दिनअघि राजपा केन्द्रीय अध्यक्ष मण्डलका पूर्वसंयोजक महन्थ ठाकुर गुटका प्रदेश २ मा संसदीय दलका प्रमुख सचेतक प्रमेश्वर साह र वर्तमान संयोजक राजेन्द्र महतो गुटका केन्द्रीय सदस्य सञ्जय चौधरीबीच झगडा भएको थियो । प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको आवासमा उनकै सामु भएको उक्त झगडा सामाजिक सञ्जालमा भाइरल बनेको थियो । समाचारको विषय पनि बनेको थियो ।


समस्या समाधान गर्न राजपा धनुषा अध्यक्ष मण्डलको पुस ७ गते बसेको बैठकले सञ्चार माध्यममा अतिरञ्जित समाचार प्रकाशित गराएको आरोपमा चौधरीमाथि कारबाही सिफारिस गरेको थियो ।


राजपा केन्द्रीय कार्यालयलाई अध्यक्ष मण्डलका संयोजक प्रमोदकुमार यादवले पुस ८ गते लेखेको पत्रमा ‘राजपा नेपालका कार्यकर्ता सञ्जय चौधरीले पार्टी अनुशासन तथा नीतिविपरीत पार्टीका प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक परमेश्वर साहमाथि कुटपिट गरेको कपोलकल्पित समाचार मिडियामा सम्प्रेषित गर्न लगाएकामा निज चौधरीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्न सिफारिससाथ अनुरोध गर्छौं’ भनेर उल्लेख छ ।


जिल्ला संयोजक यादवले सञ्जय चौधरीलाई राजपा कार्यकर्तामात्र भने पनि उनी सामाजिक सञ्जालमा आफू केन्द्रीय सदस्य भएको फोटोसहितको परिचयपत्र सार्वजनिक गरेका छन् ।

प्रमुख सचेतक साह र केन्द्रीय सदस्य चौधरीबीचको विवाद सेलाउन नपाउँदै राजपा केन्द्रीय नेतृत्वले जिल्ला नेतृत्वमा परिवर्तन गरेपछि विवाद झन् उग्र बनेको छ ।


राजपा केन्द्रीय प्रवक्ता कृष्णा सिंहले महाधिवेशनको तयारीमा जुटेको राजपालाई अझ एकताबद्ध बनाउनुपर्नेमा कमजोर बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : पुस १५, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?