कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुइटा रेल किन्दै सरकार, तीन महिनाभित्र जनकपुर–जयनगरमा गुड्ने

दीपेन्द्र विष्ट

काठमाडौँ — यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् ।  मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए ।

दुइटा रेल किन्दै सरकार, तीन महिनाभित्र जनकपुर–जयनगरमा गुड्ने

'भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, 'पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको 'स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए । 'दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उनले भने, 'तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’


रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ । केही दिनभित्रै सम्पूर्ण जानकारी सार्वजनिक गरिने महासेठले बताए । 'सैद्धान्तिक सहमति भइसकेको छ, जनवरी १० (पुस २६) मा सबै सार्वजनिक गर्छौं,’ उनले भने, ‘अब अन्तिम स्वीकृति लिन मात्र बाँकी छ ।’ उक्त रेल प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको हुनेछ ।


जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना भारतको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । जयनगर–जनकपुर–बर्दिबासमा १० अर्ब रुपैयाँ लागतमा ब्रोडगेज रेलमार्ग निर्माणाधीन छ ।

अर्थ मन्त्रालयले आवश्यक रकम दिएपछि खरिद प्रक्रिया अघि बढाइने महासेठले बताए । उनका अनुसार एउटा रेल खरिद गर्न करिब ५० करोड लाग्छ । ५/५ डिब्बाका दुवै रेल आधुनिक हुनेछन् । एक पटकमा एउटा रेलले १२ सय यात्रु बोक्नेछ । हाल जनकपुर–जयनगर खण्डमा मालवाहक रेल मात्र गुड्छ ।


पूर्व–पश्चिम रेलमार्गको निर्माण पनि तीव्र गतिले भइरहेको महासेठले बताए । उनका अनुसार काकरभिट्टा–बर्दिबास–सिमरा–बुटवल खण्ड (६ सय ३८ किमि) को विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । बुटवल–गड्डाचौकी खण्डको ४ सय ९ किमिको ९५ प्रतिशत डीपीआर तयार भइसकेको छ । 'प्रत्येक खण्डमा काम तीव्र गर्न निर्देशन दिइसकिएको छ,’ उनले भने, 'काममा बाधा आउन दिन्नौं ।’


त्यसैगरी काठमाडौं–वीरगन्ज रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय परामर्शदाताबाट काम भइरहेको र केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चिनियाँ पक्षबाट भइसकेको मन्त्री महासेठले बताए । जयनगर–जनकपुर–बर्दिवास (६९ किमि) मध्ये जयनगर–जनकपुर–बिजुलपुरा (५२ किमि) मा ट्रयाक वेड, संरचना, रेलको ९५ प्रतिशत काम भइसकेको रेल विभागले जनाएको छ ।

जनकपुर–जयनगर–कुर्था (३५ किमि) रेलसेवा केही महिनाभित्रै सुरु गरिँदै छ ।


एक वर्षभित्र थप १७ किमि तयार हुनेछ । विभागका अनुसार दुई वर्षभित्र रेल बर्दिबास पुग्नेछ । ४ वर्षभित्र निजगढसम्म रेलमार्गको काम सम्पन्न गर्ने विभागको कार्यतालिका छ । १९९४ सालमा तत्कालीन ब्रिटिस सरकारले महोत्तरी जंगलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो तर २०५९ मा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेलसेवा जनकपुर–जयनगर (२९ किलोमिटर) मा सीमित हुन पुगेको थियो ।


प्रकाशित : पुस १५, २०७५ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?