१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भेडेटारलाई पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री राईको दाबी

धनकुटा — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारलाई प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकतामा राख्ने बताएका छन् । धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्षसँगै सोमबारदेखि सुरु सातौं खाना महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले आकर्षक पार्क, केवलकारसहित अन्य पूर्वाधार विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने दाबी गरे ।

भेडेटारलाई पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री राईको दाबी

निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य गरेर प्रदेश सरकारले भेडेटारलाई पर्यटनको केन्द्र बनाउने उनको भनाइ थियो । भेडेटारमा नमुना पार्किङको व्यवस्था गर्नेसमेत उनले बताए ।


आर्थिक समृद्धिलाई केन्द्रविन्दुमा राखेर समृद्ध नेपालको परिकल्पना पूरा गर्न सकिने मुख्यमन्त्री राईको दाबी थियो । जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने उनले बताए । प्रदेश १ को नाम र राजधानी नटुंगिएको सन्दर्भ कोट्याउँदै मुख्यमन्त्री राईले आगामी हिउँदे अधिवेशनबाट यस विषयको टुंगो लाग्ने दाबी गरे । ‘हिउँदे अधिवेशनले प्रदेश नाम र स्थायी राजधानीको बहस टुंगो लाग्ने छ’ उनले भने ।


तीन दिनसम्म चल्ने सातौं खाना महोत्सव होटल एशोसिएसन भेडेटारले आयोजना गरेको हो । महोत्सवमा स्थानीय मौलिक परिकार मुख्य आकर्षण रहेको संयोजक तथा होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । यसैगरी लिम्बु, मगर, राईलगायत जातिका मौलिक सांस्कृतिक झाँकी, हस्तकलाका सामाग्री समावेश गरिएको छ ।


आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, होटल व्यापार व्यवसाय, होमस्टे, कृषि तथा सांस्कृतिक क्षेत्र प्रवर्द्धनका लागि महोत्सव फलदायी हुने एशोसिएसनका निवर्तमान अध्यक्ष लीलाराज लावतीको भनाइ थियो ।


फेस्टिवलमा एक करोडको कारोबार तथा कम्तीमा ३० हजार पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । राष्ट्रिय र स्थानीयस्तरका कलाकारको सांगीतिक प्रस्तुतिसमेत रहने छ । खाना महोत्सवमा आउने आगन्तुकलाई प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ ।


हेलिकप्टरबाट आसपासका स्थान अवलोकन गराउन थालिएको छ । पहिलो दिन तीनवटा उडान गरिएको सिम्रिक एयरका व्यवस्थापक कमल गौतमले बताए ।

प्रकाशित : पुस १६, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?