कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

धुले मैदानमा काभ्रे गोल्डकप

काभ्रे र फ्रेन्ड्स आज भिड्दै
नगेन्द्र अधिकारी

काभ्रे — पूर्वाधार अभावका कारण धुले मैदानमा नै काभ्रे गोल्डकप फुटबलको तयारी पूरा गरिएको छ । ए डिभिजनका ५ क्लबसहित १० टिमको सहभागितामा बिहीबारदेखि चैत १७ सम्म हुने प्रतियोगिताका लागि धुलिखेलस्थित मैदान मर्मत तथा अस्थायी पूर्वाधार निर्माण गरिएको हो । 

धुले मैदानमा काभ्रे गोल्डकप

बिहीबार उद्घाटन खेलमा आयोजक काभ्रे जिल्ला फुटबल संघ र ललितपुरको फ्रेन्ड्स क्लब भिड्ने संयोजक निरोज श्रेष्ठले जानकारी गराए । जिल्लामा पहिलो पटक ए डिभिजन क्लबसमेतको सहभागितामा काभ्रे गोल्डकप हुन लागेको हो ।


प्रतियोगितामा विभागीय टिम आर्मी, एपिएफ, संकटा, जावलाखेल, फ्रेन्ड्ससहित प्लेअफ अत्तरिया र काभ्रे, भक्तपुर, दोलखा र सिन्धुपाल्चोक जिल्ला फुटबल संघ १० टिमको सहभागिता रहने छ । विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउनेछन् । अखिल नेपाल फुटबल संघसँगको सहकार्यमा हुने प्रतियोगितालाई जिल्लाका स्थानीयतह र संघसंस्थाले संहयोग गरेका छन् ।


‘जिल्लामा स्ट्यान्डर्ड साइजको खेल मैदान यही हो,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पनौतीमा क्षेत्रीय रंगशाला बन्न समय लाग्ने देखिएकाले उपलब्ध पूर्वाधारमा नै प्रतियोगिता गरेका हौं ।’ जग्गा विवादका कारण पनौतीमा रंगशाला निर्माणमा ढिलाइ हुँदै आएको छ ।


धुलिखेलस्थित सार्वजनिक जग्गालाई काभ्रे जिल्ला फुटबल संघले नगरपालिकामार्फत प्रयोगमा ल्याएर पूर्वाधार विकास गरिरहेको छ । प्रतियोगिताका लागि ढुंगा टिप्ने र माटो सम्याउने काम भइरहेको श्रेष्ठले बताए । ‘प्रतियोगिता अवधिभर धुलो उड्न दिँदैनौं, खेल अवधिमा तीन पटकसम्म पानी हाल्नेछौं,’ संयोजक श्रेष्ठले भने, ‘यसअघि जिल्ला लिगलगायत प्रतियोगिता पनि यसरी नै गर्दै आएका छौं ।’


गोल्डकपका लागि अस्थायी रूपमा प्रयोग गर्न फलामको प्यारापिट पनि निर्माण गरिएको छ । ८ सयसम्म पनि खेल हेर्नसक्ने गरी पूर्वाधार बनाइएको आयोजकको दाबी छ । मैदानका लगि धुलिखेल नगरपालिकाले गत वर्ष १० लाख र एन्फाले १० लाख बजेट उपलब्ध गराएका थिए ।


२२ वर्षअघि जिल्ला फुटबल संघ गठन भए पनि गोल्डकप हुन लागेको यो पहिलो हो । संघका अर्का उपाध्यक्ष महेशकुमार कर्माचार्यले बनेपा, पनौतीलगायतका स्थानमा पनि फूर्वाधार बन्ने क्रम रहेकाले त्रमशः अन्य स्थानमा पनि प्रतियोगिता गरिने बताए ।


बनेपास्थित बनेपा बहुप्राविधिक महाविद्यालयको मैदान, नमोबुद्धको पिपलटार, तेमाल नारायणस्थान, रोशीको मंगलटारमा रहेका मैदानमा नाइन–ए–साइड प्रतियोगिता हुँदै आएको छ । काठमाडौं विश्वविद्यालय, प्रहरी स्कुल, मल्पी स्कुलमा खेलमैदान भए पनि त्यहाँ आन्तरिक प्रतियोगिता मात्रै हुँदै आएको छ ।


पूर्वाधार अभावका कारण खेलाडी उत्पादनलगायतका विषयमा मार परिरहेको कर्माचार्यले बताए । ‘सानो खेलमैदानमा अभ्यास गरेका खेलाडीले ठूलोमा राम्रो प्रस्तुति दिन सक्दैनन्, पूर्वाधार नभएपछि प्रतियोगिता नै आयोजना गर्न सकिएको छैन,’ कर्माचार्यले भने, ‘ए डिभिजन क्लबहरू आउनै मान्दैनन्, आइहाले पनि प्रतियोगिताको लागत नै बढ्छ ।’


४५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका आयोजक दाताकै भरमा छन् । उपत्यकासँग जोडिएको जिल्लामा पूर्वाधार र प्रतियोगिता नहुँदा खेलाडी कम उत्पादन भएका छन् । काभ्रेका जर्जप्रिन्स कार्की आर्मी र राष्ट्रिय टोलीमा छन् भने प्रिजन तामाङ यू–१९ राष्ट्रिय टोलीमा छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?