कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अजितले दिलाएको खुसी

एसियालीमा पहिलो स्वर्ण पदक
अवधेशकुमार झा

सप्तरी — गंगाप्रसाद यादव मंगलबार दिउँसो राजविराज नगरपालिका–१२ स्थित घरमा भागवत पढ्दै थिए । आँगनमा खुसीको माहोल थियो । परिवारका सदस्यको अनुहारमा भिन्दै चमक देखिन्थ्यो । गंगाप्रसाद भन्दै थिए, ‘मेरो नातिले देशको नाम संसारमै चिनायो ।’ 

अजितले दिलाएको खुसी

नाति अजितले स्वर्णपदक जितेको गंगाप्रसादले सोमबार साँझमात्र थाहा पाएका थिए । टोलकै एउटा भोजमा माइकिङ गरेपछि मात्र उनले नातिको सफलताको खबर पाएका थिए । ‘धेरै खुसी छु,’ गंगाप्रसादले भने, ‘नातिले गाउँसमाज र देशको नाम संसारमै फैलाए ।’ अजितले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्समा आइतबार स्वर्णपदक जितेका थिए । जुन एसियाली एथलेटिक्समा नेपालले जितेको पहिलो स्वर्ण हो ।

मध्यमवर्गीय परिवारका अजितका बुवा पवनकुमार सशस्त्र प्रहरीका असई हुन् । उनीहरूको गाउँमा पुरानो पक्की घर छ । सदरमुकाम राजविराजमा पनि घर रहेका पवनले दुई छोरा जेठो सुजित र कान्छो अजितलाई पढाइका लागि २०५७ सालमा काठमाडौं पठाएका थिए । सशस्त्र प्रहरी विद्यालयबाट एसईई पास गरेका अजित अहिले पिनाकल कलेजमा कक्षा १२ मा पढदै छन् ।

विद्यालयस्तरका विभिन्न प्रतियोगितामा भाग लिने गरेका अजितलाई बुवा पवन पढाइमा मात्र ध्यान दिन भन्थे । ‘खेलकुदमा भविष्य छैन भन्दै मैले उनलाई धेरै पटक पढाइमा ध्यान दिनु भनेको थिएँ,’ छोराले स्वर्णपदक जितेपछि राजधानी गएका पवनले फोनमा कान्तिपुरसित भने, ‘छोराले आज देशकै शिर उँचो राख्ने गरी स्वर्णपदक जित्दा एकदमै गौरवान्वित भएको छु ।’

अजितले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जित्छन् भन्ने आफूले कहिल्यै नसोचेको पवनले बताए । उनले भने, ‘अजितले नसोचेको कुरा गरिदिए । उनको सफलताप्रति म मात्रै होइन, गाउँ समाज र देश नै गौरवान्वित भएको छ ।’

आमा सरितादेवीले भने छोराको सानैदेखि दौडमा ध्यान रहेको सुनाइन् । ०७१ मा शिक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित ५ किलोमिटर सडक दौडमा तेस्रो स्थान हासिल गर्दै ५ हजार पुरस्कार पाएपछि अजित थप हौसिएका थिए । ‘त्यही दौड मेरो जीवनमा एथलेटिक्सप्रतिको ठूलो सुरुआत हो,’ राजधानीमा रहेका अजितले भने, ‘अहिले एसियाली स्तरमा स्वर्णपदक जित्दा सपनाजस्तै लागेको छ, अहिलेसम्म कसैले जित्न नसकेको पदक जितेको छु, खुसीको सीमा छैन ।’

०७३ सालमा राष्ट्रपति कपमा कीर्तिमान बनाएपछि अजितको हौसला अझ बढ्यो । ‘विभिन्न प्रतियोगितामा भाग लिँदै जित्दै आएँ र हौसिँदै गएँ,’ उनले भने, ‘देशलाई एथलेटिक्समा अझै उचाइमा पुर्‍याउने मेरो लक्ष्य छ ।’ उनले राज्यले एथलेटिक्सका लागि लगानीसँगै खेल्ने वातावरणसमेत बनाइदिनुपर्ने सुझाए ।

‘एथलेटिक्समा हामी नेपाली कमजोर छैनौं,’ अजितले भने, ‘खेलाडी र खेलप्रति लगानी र वातावरण हुनुपर्‍यो । एथलेटिक्समा नेपालका खेलाडी अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न सक्षम छन् ।’ अजितको घरमा बधाई दिन टोलका बासिन्दा आइरहेका छन् । ‘हाम्रो गाउँको नाम अजितले गौरवान्वित बनाएका छन्,’ राजविराज–१२ का वडाध्यक्ष हरिहर यादवले भने, ‘उनी घर आएपछि सम्मान गर्ने तयारी गरेका छौं ।’

नगरपालिकाले १ लाख १ हजार दिने

अजितलाई राजविराज नगरपालिकाले प्रोत्साहनस्वरूप एक लाख एक हजार रुपैयाँ दिने भएको छ । नगरप्रमुख शम्भुप्रसाद यादवले राजविराज नगरपालिका र सिंगो मुलुककै सान बढाएकाले अजितलाई प्रोत्साहनस्वरूप उक्त रकम दिइने बताए ।

उनले आफ्नो एक महिनाको तलबसमेत अजितलाई दिने जनाएका छन् । प्रदेश २ सरकारले अजितलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय सोमबार गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?