कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आन्दोलनले पुनर्निर्माण काम रोकियो

सिन्धुलीमाढी — कार्यालय समय बिहान ठ्याक्कै १० बजेको थियो । गोलन्जोर गाउँपालिका ६ बासेश्वरका अमृतबहादुर श्रेष्ठ जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुलीमा आइपुगेका थिए । भूकम्पको तेस्रो किस्ता आए नआएबारे बुझ्न उनी घरबाट बिहानैको गाडी चढेर सिन्धुलीमाढी आएका हुन् । 

साढे २ घण्टा गाडीको यात्रा गरेर इकाई भवन सिन्धुलीमा आइपुगेका श्रेष्ठको काम भने भएन । ‘कार्यालयमा पुग्दा प्राविधिकहरू आन्दोलनमा रहेकाले तेस्रो किस्ता आए नआएबारे हेर्दिएनन्,’ उनले भने । ‘तेस्रो किस्ताको रकम आयो कि आएन भन्ने बुझ्नका लागि गोलन्जोर गाउँपालिकाबाट धाएर सिन्धुलीमाढी आइयो । तर काम नै भएन । अब त्यसै फर्कनुपर्ने भयो,’ उनले भने ।


कमलामाई नगरपालिका ४ देउरालीका पारङ तामाङ घरको नक्सा सच्याउनका लागि भनेर जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुली पुगे । तर उनको पनि काम भएन । प्राविधिकहरू काम नै रोकेर आन्दोलनमा रहेकाले तपाईंको काम हुँदैन, पछि आउनुस् भनेर फर्काइदिएको तामाङ बताउँछन् ।


तामाङले भने, ‘सुरुमा २ कोठे जस्ताको छाना हालेर भूकम्प प्रतिरोधात्मक घर बनाउने नक्सा बनाएको थिए । पछि छोराहरूले छत ढलान नै गर्ने भन्न थाले अनि नक्सा सच्याउन भनेर आएको । इन्जिनियर सरहरू आन्दोलनमा रहेछन्, काम भएन ।’ कनपा ४ कै अमृत सार्की पनि भूकम्पको तेस्रो किस्ताबापत्को रकम आयो कि आएन भन्ने बुझ्नका लागि जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुली पुगेका थिए । ‘प्राविधिकहरू काम छोडेर कार्यालय बाहिर धर्नामा बसेका रहेछन्,’ उनले भने, ‘तपाईंको काम हुँदैन भन्दै फर्काइदिए ।’


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक सञ्जाल सिन्धुलीले जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुलीमा सोमबारबाट तालाबन्दी गरेर प्राविधिकहरू आन्दोलनमा रहेका छन् । आफूहरूले खाइपाई आएको प्रोत्साहन भत्ता बन्दलगायतका जाहेज मागहरू सरकारले पूरा नगरेको भन्दै आन्दोलित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक सञ्जाल सिन्धुलीका अध्यक्ष राजन यादवले बताए ।


प्राविधिकहरू फिल्डमा खटिँदा भइपरी आउने समस्याहरूलाई मध्य नजर गरी प्राविधिकहरूको दुर्घटना तथा स्वास्थ्य बिमाको व्यवस्था तत्काल गर्न उनीहरूले माग गरेका छन् । त्यस्तै पुनर्निर्माणका लागि खटिएका प्राविधिकहरूको योगदानलाई मध्यनजर गर्दै प्राविधिकहरूको भविष्य सुनिश्चितताको पहल गर्न र सीप तथा क्षमता विकासका निम्ति केन्द्रीय स्तरबाट प्राविधिक जनशक्तिलाई आवश्यक तालिम तथा गोष्ठिको प्रबन्ध गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।


सरकारले आफूहरूको माग सम्बोधन गर्छु भन्दै पटकपटक झुक्याएकाले काम नै ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक सञ्जाल सिन्धुलीका अध्यक्ष यादवले बताए । जिल्लाका १ सय ६८ जना प्राविधिकहरू आन्दोलनमा उत्रिँदा भूकम्प प्रभावितहरू समस्यामा परेका छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?