२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भरलाग्दा छैनन् सडक

टीकाप्रसाद भट्ट

रामेछाप — बिनासर्भे डोजर अप्रेटरको भरमा खोलिएका रामेछापका ग्रामीण सडक भरलाग्दा छैनन् । ग्रेड नमिलाई खनिएका साँघुरो सडकमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

भरलाग्दा छैनन् सडक

‘जति विकास गरेका भए पनि सुरक्षित सडक बनाउन सकिएको छैन,’ मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले भने, ‘प्राविधिक नलगाई खनिएका सडक कति सुरक्षित होलान् ? । उनले ग्रामीण क्षेत्रका कतिपय सडक ३० देखि ४० प्रतिशतसम्म ग्रेड (उकालो) भएको खुलाए । त्यति मात्र हैन, प्राविधिक पक्षलाई ध्यान नदिई खनिएका कैयौं सडकले पुस्तौंदेखि बसोबास रहेका घर जोखिममा परेका छन् । सडकको पानीलाई व्यवस्थित नबनाउँदा केही गाउँमा पहिरो जोखिम छ । बस्नेत भन्छन्, ‘सडक त सुरक्षित भएनन् नै, विधिबमोजिमको काम नहुँदा बस्ती पनि जोखिममा पुगे ।’


चाँडो सडक सुविधा पुग्ने गरी खनिएका त्यस्ता सडकहरूमध्ये केही सुधारका क्रममा छन् । लाखौं रुपैयाँ खर्चेर पहिले निर्माण भएका सडकलाई छोडेर अन्यत्रबाट फेरि सडक खन्नु पनि कानुनी र वातावरणका हिसाबले ठीक हैन । डडुवाका यमबहादुर घिसिङले भने, ‘दोहोरो खर्चभन्दा पनि पहिले नै विचार गरेर सडक खन्दा सबै प्रकारका जोखिम कम हुन्थे, तर त्यसो भएको छैन, हरेक स्थानमा पहिले सडक खोलियो, पछि त्यसले भएन भन्दै अर्को खोल्ने काम पनि हुँदै गयो ।’ घिसिङले थपे, ‘यसले एकातिर खर्च धेरै लाग्यो भने अर्कोतिर पहाड नै कुरूप हुने गरी छियाछिया देखियो ।’


सडक खोलेपछि साँघुरै किन नहोस्, यात्रुबाहक बस सञ्चालन गर्न स्थानीयले दबाब दिने गरेका छन् । साँघुरो र उकालो सडकमा जबरजस्ती यात्रुवाहक बस सञ्चालन गर्दा विगतमा कैयौं स्थानमा दुर्घटना भएका छन् । च्यास्कु, सैपु, दोरम्बा, भीरपानी, राकाथुम, गोठगाउँ, सुकाजोर, रामेछापजस्ता स्थानमा बस दुर्घटनामा दर्जनौंले ज्यान गुमाएका छन् भने केही स्थानमा दुर्घटनाको सन्निकट पुगेर बचेका छन् ।


‘सडकै साँघुरो छ, जबरजस्ती गर्‍यो भने चढ्छ, नत्र पछाडि सर्दै बजारिने डर हुन्छ,’ सवारी चालक जीवन श्रेष्ठले भने, ‘सडक असजिलो छ भन्दा कसैले चासो दिँदैनन्, मान्छेलाई ज्यान माया मारेर भए पनि सुविधा बढी चाहिएको छ ।’ श्रेष्ठका अनुसार धुलेसडकमा थोरै पानी पर्ना साथै सवारीसाधन चलाउन सकिँदैन । उकालोमा चिप्लो भएपछि कसरी सवारी चलाउनु ? श्रेष्ठ प्रश्न गर्छन्, ‘बाटो फराकिलो भए पनि एकहद जाउँ भन्नु । धेरै स्थानमा त्यस्तो सजिलो सडकै छैन । पानी पर्‍यो कि जहाँको त्यही वस्नुपर्ने बाध्यता छ ।’


स्विस सरकारको सहयोगमा रामेछापमा सञ्चालित स्थानीय सडक सुधार कार्यक्रममा विगत २ वर्षअघि जिल्लाका अधिकांश सडकको सुधार गरेको थियो । हिउँद याममा मर्मतसम्भार गरिएका सडकमा वर्षामा सवारी सञ्चालन गर्न सहज भएको थियो । तर ऊक्त कार्यत्रम बाहिरिएपछि ग्रामीण सडक पहिलेकै अवस्थामा पुगे ।


अहिले स्थानीय सरकारले केही सडकलाई मर्मतमा चासो राखे पनि अधिकांश भगवान् भरोसामा चलेका छन् । जिल्लाका साविकका ५५ वटै गाविसमा सडक सञ्जाल विस्तार भएको छ । गुम्देलको उत्तरी हिमाली सीमा लाहाछेवरमा समेत सडक पुगेको छ । सडक चारैतिर पुगे पनि वर्षायाममा सहज यातायात सञ्चालन हुने सडक विरलै छन् ।


जिल्ला सदरमुकाम जोड्ने र मन्थलीदेखि रामेछाप पुग्ने सडकबाहेक अरु सबै सडक कच्ची छन् । प्रदेश सरकारले जिल्लामा यसै वर्ष स्थापना गरेको पूर्वाधार विकास कार्यालयले महत्त्वपूर्ण केही सडकको सुदृढीकरणका लागि बोलपत्र आहान गरेकोले अबको २ वर्षपछि केही थप सडकमा यातायात सहज बन्ने उक्त कार्यालयका प्रमुख जयराम श्रेष्ठ बताउँछन् । ‘हामीले २ वर्षभित्र जिल्लाका मेरुदण्ड सडकहरूको स्तरवृद्धि गर्ने योजनाका साथ काम अघि बढाएका छौं,’ श्रेष्ठले भने ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?