कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संसदीय समितिमा सम्पदा–‘मापदण्ड मिचिए भत्काइदिनुस्’

काठमाडौँ — विश्व सम्पदा क्षेत्रलाई असर गर्ने गरी भइरहेको निर्माण कार्यका विषयमा संसदीय समितिले चासो राखेको छ । हनुमानढोका दरबार क्षेत्रमा भएका समस्याका सम्बन्धमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल आयोजना गर्‍यो । छलफलमा पूर्वप्रधानमन्त्रीदेखि सम्पदा बचाउन अभियानका अभियन्तासम्मले भाग लिएका थिए ।

पूर्वप्रधानमन्त्री तथा समिति समदस्य माधवकुमार नेपालले सम्पदामा बिग्रने गरी जसले संरचना बनाएको भए पनि त्यसलाई डोजर लगाएर भत्काइदिनुपर्ने बताए ।


‘विश्व सम्पदामा परेको कुरामा समेत हामी दह्रो गरी उभिन सक्दैनौं । विश्व सम्पदामा कोठाको आकार घटाउँदै जान्छौं । जहाँ खाली छ, त्यहाँ घर बनाउन दिन्छौं,’ नेपालले भने, ‘हनुमानढोका दरबारमा प्राचीन स्मारक संरक्षण ऐन मिचेर घर बनाएको छ रे । कहाँको महाशक्तिले संरक्षण दिएछ ? नियम मिचेको भए घर भत्काइदिनुपर्छ ।’ हनुमान ढोका दरबार क्षेत्रमा अदालतको आदेशसमेत अटेर गरी महर्जन बिजनेस एसोसिएनले बनाइरहेको भवन उल्लेख गर्दै नेपालले उक्त भनाइ राखेका थिए ।


‘अन्त डोजर चलाउन सक्ने, त्यहाँ किन नसक्ने ?’ नेपालले त्यस क्षेत्रको नियमन गर्ने निकाय काटमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमतर्फ लक्षित गर्दै भने, ‘त्यहाँ नसक्नुको कारण के हो ? कि पैसाको बिटो दिएको छ ? होइन भने कानुले दिएको काम गर्नुस् । नडराउनुस् ।’ सर्वोच्च अदालतले ३५ फिटभन्दा माथि उचाइ नबढाउन आदेश दिएको थियो । यो आदेशविपरीत महर्जनले ४२ फिट उचाइ लैजान लागेका छन् ।


‘३५ फिट पनि लैजान जरुरी छैन,’ नेपालले भने, ‘त्यहाँ सकिन्छ भने खाली गर्दा हुन्छ बरु ।’ विश्व सम्पदा क्षेत्रमा भएका मनपरीलाई रोक्नुपर्ने नेपालले बताए । ‘पशुपतिमा त्यतिकै बेथिति सुनिन्छ,’ नेपालले भने, ‘जहाँ पनि भत्काउने बाँदरेबुद्धि छ । हामी बनाउन नसक्ने, बनाएका पनि जोगाउन नसक्ने हुति नभएका हामी ।’ नेपालले कानुनभन्दा माथि कोही नभएकाले गैरकानुनी काम गर्ने कसैलाई पनि छाड्न नहुने बताए ।


‘पशुपतिमा पनि अनुगमन गर्नुपर्छ । अनुगमन गर्न उपसमिति नै बनाउनुपर्छ,’ नेपालले भने, ‘विश्व सम्पदासमेत मासिने गरी गैरकानुनी काम गर्ने बाबुसाहेब को हुन् ? तिनलाई चिनाइदिनुस् । तिनलाई कारबाही गर्न सरकारले सहयोग गरेको छैन भने भन्नुस् । नत्र अधिकार प्रयोग गर्नुस् । अधिकार प्रयोग गर्न नसके छाड्नुस् । अरूले आएर काम गर्छन् ।’


नेपालले प्राचीन सहर जोगाउनुपर्ने धारणा राखे । ‘प्राचीन सहरमा डोजर लगाउनु हुँदैन,’ उनले भने, ‘त्यहाँ सडक चौडा बनाउने होइन । सवारी निषेध गर्ने हो ।’ आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएका सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ र अभियन्ता सञ्जय अधिकारीले विश्व सम्पदा क्षेत्रमा भएका गैरकानुनी निर्माणबारे अवगत गराएका थिए ।


समितिकी सभापति पवित्रा निरौला खरेलले महानगरले गुरुयोजना बनाएर अघि बढ्नुपर्ने धारणा राखिन् । ‘कतै सम्पदा क्षेत्र बनाउनुपर्छ, कतै व्यापारिक क्षेत्र बनाउनुपर्छ,’ उनले भनिन्, ‘राष्ट्रिय सम्पदामा व्यापारिक केन्द्र बनाउन हुँदैन । यसो गर्दा हाम्रो संस्कृति मासिन्छ । हामीले चिनाउने भनेको हाम्रो संस्कार संस्कृति नै हो ।’


समितिकी सदस्य सुजिता शाक्यले पर्यटक भवन हेर्न नभई सम्पदा हेर्न आउने भएकाले सम्पदालाई ध्यान दिनुपर्ने बताइन् । ‘कंक्रिटको जंगल बनाएर कोही हेर्न आउँदैन,’ शाक्यले भनिन्, ‘अदालतको समेत आदेश नमान्नेलाई हस्तक्षेप गर्नुपर्छ ।’ उनले गुठीका जग्गासमेत मासिएका पर्व पूजा सञ्चालन गर्न र सम्पदा मर्मत गर्नसमेत समस्या भएको बताइन् । ‘पुर्खाले सम्पदा बनाएपछि त्यसलाई सञ्चालन गर्न जग्गा राखेका थिए,’ उनले भनिन्, ‘ती जग्गा कहाँ गए ? तलेजुको मात्रै ५ हजार रोपनी जग्गा थियो ।’


छलफलमा सांसद सरिता गिरी, नारायण राना, मोहन बानियाँ, रेणुका गुरुङ, दिव्यमणि राजभण्डारी, सरला कुमारी यादव, चाँद तारालगायतले सम्पदा संरक्षणका विषयमा धारणा राखेका थिए । पुरातत्त्व विभागका महानिर्देशक गौतमले विश्व सम्पदामा भइरकेका गतिविधिबारे जानकारी दिएका थिए ।


महानगरका प्रशासकीय अधिकृत कोइरालाले महानगरले गर्ने जुनसुकै काममा पनि अवरोध आएको गुनासो गरेका थिए । प्राचीन सम्मारक ऐनको ख्याल नगरी काम गरेको र सम्पदा मास्ने काम महानगरले गरेकाले अवरोध गर्नुपरेको अभियन्ताले जवाफ दिएका थिए ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?