२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

हरिसिद्धिमा देवीनाच

हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ । यस दिनलाई हरिसिद्धिवासीले मुख्य चाडपर्वको रुपमा लिने गर्दछन् ।

ललितपुर — मुलुकभर होली मनाउँदा हरिसिद्धिमा भने बुधबार हरिसिद्धि भवानी देवीनाच देखाइएको छ । हरिसिद्धि भवानी देवीका पुजारी ८२ वर्षीय राइटर महर्जन, छुस्याः, पोंगा बाजा बजाउने ५६ वर्षीय शालिकराम महर्जन र ६९ वर्षीय नारायण महर्जन निधारमा तिलक, शिरमा बेताली (देवगणले लगाउने टोपी), शरीरमा द्यः अनि धुजी लं (विषेश प्रकारको लुगा) लगाएको अवस्थामा भेटिए । 

हरिसिद्धिमा देवीनाच

उनीहरूजस्तै देवगणको भूमिका खेल्ने अन्य २६ जना गुठीयार पनि उस्तै भेषमा थिए । पुजारी महर्जन भन्छन्, ‘हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ । यस दिनलाई हरिसिद्धिवासीले मुख्य चाडपर्वको रूपमा लिने गर्दछन् ।’


उनका अनुसार नाच रामायणको आरण्य काण्ड र किस्किन्धा काण्डमा आधारित छ । त्यस १८ भागमा दृश्य देखाइन्छ । ‘नाचको प्रारम्भ जोडीबाट हुन्छ,’ उनले भने, ‘जसमा अष्टमातृकाको ४ र राजा विक्रमादित्यको १ गरी ५ जोडीले नृत्य गर्छन् ।’ नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाकः (काठको ढाल) हुन्छ । एकले अर्कालाई खड्गले त्वाकःमा हान्ने र त्यसलाई अर्कोले छेक्ने गर्छन् ।


अर्को दृश्यमा तमन्ना द्यो (ऋषि) ले दायाँ हातले योमरी आकारको धातुको वस्तु लिई ताण्डव नृत्य देखाइन्छ । ‘यस नाचमा सन्तान नहुने भक्तजनमध्ये जसले पहिलो पटक देवता ढोक्न सफल हुन्छ । उसको छोरा पाउने जनविश्वास रहेको पुजारी महर्जनको भनाइ छ । त्यसैले तमन्ना द्योको दर्शन गर्न भक्तजनको भीडभाड लाग्ने गर्दछ ।


ठेचोकी गीता महर्जनको माइती हरिसिद्धि हो । उनी प्रायः प्रत्येक वर्ष व्रत बस्न हरिसिद्धि पुग्ने गर्छिन् । यस पटक पनि व्रत बसेकी उनी भन्छिन्, ‘तनमनले व्रत बसेमा मनोकांक्षा पूरा हुन्छ ।’ नाचमा गुरु वाल्मीकि र शिष्य भारद्वाजको भेषमा पनि नृत्य देखाइयो । ब्राह्मण (बुद्धिसेन) को नाचमा परम्पराअनुसार दाँत माझेको र नुहाएको अभिनय पनि

नाचमार्फत देखाइयो ।


यस नाचलगत्तै महादेव अवतरण भयो । ब्राह्मणलाई विक्रमादित्य राजाका मन्त्री वीरसेन (बुद्धिसेन) मानेको दृश्य देखाइयो । पुजारी भन्छन्, ‘नाचमार्फत परम्परागत रीतिथिति बुझ्न सकिन्छ ।’ एक शक्तिस्वरूपा देवीको पूजाआराधना गरेमा सबैको कल्याण हुनेमा उनको विश्वास छ ।


काठमाडौंमा मनाइने इन्द्रजात्रामा पुलु किसी (स्वर्गका राजा इन्द्रको बहान) को नाच देखाइन्छ । हरिसिद्धि पनि हात्तीको नाच देखाइन्छ । हरिसिद्धिमा इन्द्रको बहानको रूपमा नभई महादेव र धिन्चो माजु (देवता) ले हात्तीलाई धपाएको अभियनको रूपमा नृत्य प्रस्तुत गर्छन् । यसका लागि डबलीमा निलो मुकुट गाढा नीलो शरीर भएको हात्तीको साथमा पहेलो मुकुटमा सिकुचा नाम गरेको महादेव र धिन्चो माजु प्रवेश गर्छन् ।


त्यसपछि सेतो मुकुटको कौमाद्य (महादेव) र रातो मुकुटको अग्नि देवताको नृत्यमा अग्नि देवताले कौमाद्यः लाई पच्छ्याउँदै नृत्य देखाइन्छ । अनि राजासिंह, मन्त्री, नारदको नृत्य हुन्छ । महर्जन भन्छन्, ‘यो विक्रमादित्यमाथि विजय प्राप्त गर्ने विषयमा त्रिशूलधारी नारद आइपुगी सहमति जनाएको दृश्य हो । त्यसपछि विश्वमित्र ऋषि कुटीमा यज्ञ गरिरहेको, रामले पहरा दिइरहेको र यज्ञको गन्धले कुटीतिर आएको मारिच राक्षस आएको दृश्य देखाइन्छ ।


अनि राम र राक्षसबीच भएको युद्ध हुन्छ ।’ अन्तमा सुग्रीवले बाली वध गरेको, नारदले सुग्रीव र ताराको पुनः विवाह गरिदिएको र मालीले माला ल्याई हनुमानलाई दिएको दृश्य नाचमार्फत देखाइएको छ । नाच वाद्यवादनमा दमोखिं, प्वांगा, भुस्याहा, छुस्याहा र ताः हुन्छ । नाच प्रत्येक वर्ष फागुपूर्णिमाको अवसरमा देखाइन्छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?