२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आँटिला नेता

शीतल कोइराला

काठमाडौँ — सात सालको क्रान्तिका एक योद्धा रहे पनि गिरिजाप्रसाद कोइरालाको एकल राजनीतिक पहिचान २०१७ अघि थिएन । त्यतिबेला उनको राजनीतिक यात्राको कुरा गर्दा आफ्ना दाजु बीपी सँगसँगै सम्झिनुपर्ने हुन्थ्यो । राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गरेपछि नख्खु जेलमा कोइरालाको लामो बसाइ भयो ।

आँटिला नेता

त्यसपछि मात्र राजनीतिमा उनको व्यक्तित्व देखिन थालेको हो । अनशन गरेर उनी कारागारमुक्त भएका थिए । लगत्तै उनले राजा महेन्द्रसँग भेटघाट पाए । त्यसपछि उनी बीपीको रिहाइमा सक्रिय भए । यो कार्यले उनमा विशिष्टता थपिन गयो र नेपाली राजनीतिमा उनको व्यक्तित्व स्थापित हुन थाल्यो ।


बीपी कारागार मुक्त भए । यसमा कोइरालाकै भूमिका थियो । पछि उनीहरू सबै निर्वासन (भारत) मा जान बाध्य पारिए । कोइरालाले विहारको फारविसगन्जलाई केन्द्र बनाई पञ्चायती व्यवस्था विरुद्ध कुनै न कुनै प्रकारले आन्दोलन गरिनै रहे ।


साहसिक निर्णय

२९ असार २०३० मा विराटनगरबाट एउटा विमान अपहरण भएर फारविसगन्ज पुग्यो । यसको कथा विभिन्न व्यक्तिले आ–आफ्नो ढंगले भनिरहेका छन्, स्वीकारेका छन् । तर त्यसमा कोइराला नै मुख्य योजनाकार थिए । विमान अपहरण प्रकरणले कोइरालालाई नेपाली राजनीतिमा अझै बलियोसँग स्थापित हुन ठूलो सहयोग गर्‍यो ।


२०३१ सालमा कांग्रेसद्वारा सञ्चालित सशस्त्र संघर्षका लागि विमान अपहरणले साधनस्रोत जुटायो । पूर्वी जिल्लाहरू कब्जा गरी स्थानीय सरकार गठन गर्दै कांग्रेस अगाडि बढिरहेको थियो । त्यही क्रममा ओखलढुंगामा धडपकड गर्दा कमाण्डर यज्ञबहादुर थापा लगायत योद्धाले सहादत प्राप्त गरे ।


विमान अपहरण र २०३१ सालको सशस्त्र संघर्षमा कोइरालाको केन्द्रीय र निर्णायक भूमिका थियो । यस घटनाबाट उनी नेपाली राजनीतिमा निर्णय गर्नसक्ने आँटिलो व्यक्तिको रूपमा राम्ररी चिनिए । यही स्वभावले उनलाई पछि उच्चकोटीको राजनेता बनायो ।


कुशल संगठक

बीपी कारागार मुक्त भएपछि जनमत संग्रहको घोषणा भयो । त्यससँगै कोइरालाले देशभित्र दह्रोसँग राजनीतिमा केन्द्रित हुने अवसर पाए । यस अघि नै कांग्रेस पुनर्गठन भैसकेको थियो । बीपीले उनलाई महामन्क्रीमा नियुत्त गरे । यसबाट उनले संगठन गर्ने प्रशस्त मौका पाए । उनको नेतृत्व गतिशील थियो ।


उनमा संगठन गर्ने विशिष्टता पनि थियो । व्यापक देशदौडाहा गरे उनले । संगठन भनेको निश्चित लक्ष्यका लागि बढीभन्दा बढी मानिसहरू जुटाउनु हो । यसको एउटै तरिका हुन्छ— कार्यकर्ता, समर्थक, साथी लगायत आम जनतासँग बढीभन्दा बढी तादात्म्य राख्नु, सबैसँग सम्बन्ध स्थापित गर्नु, उनीहरूको दैनिक सरोकारका विषयमा भाग लिनु । कोइरालाले यी सबै काम गरे । संगठनको विश्वविख्यात मान्यतालाई स्वीकार गरेर उनले कार्यकर्तामाझ लोकप्रियता पाउँदै गए ।


कोइराला राजनीतिक प्राणी थिए । काम नपाएपछि उनी बेचैन हुन्थे । केही न केही नगरी बस्नै सक्दैनथे । छत्तीस सालदेखि त उनी लगातार नेपालभर हिँडिनै रहे, अनि त्यसलाई ठोस राजनीतिक रूप दिने काममा पनि क्रियाशील भइरहे ।


अद्वितीय उपलब्धि

२०४६ सालपछि कोइराला राजनीतिको नेतृत्वदायी भूमिकामा उदाए । जनआन्दोलन पश्चात सफलतापूर्वक संविधान लेखाए पनि आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भएपछि कोइराला नेपालको प्रधानमन्त्री बने । त्यसपछिका दिनमा नेपालको राजनीति उनकै सेरोफेरोमा घुमिरह्यो ।


२०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले व्यवस्थामाथि हस्तक्षेप गरेपछि त्यस विरुद्धको आन्दोलनको उनी सर्वोच्च कमाण्डर थिए । माओवादी हिंसालाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण र संविधानसभा मार्फत व्यापक राजनीतिक परिवर्तन उनले नेतृत्व गरेको त्यो आन्दोलनको परिणाम थियो ।


कोइरालाको राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धि र योगदान बाह्रबुँदे समझदारी हो । त्यस ऐतिहासिक घडीमा उनी नभएका भए देशले यो मोड सायद लिने थिएन । एकात्मकबाट संघीयता, राजतन्त्रात्मक प्रणालीबाट गणतन्त्र अनि नयाँ विशेषतासहित विविधतापूर्ण समावेशी पहिचान बनाउँदै नेपाल जसरी नयाँ युगमा प्रवेश गरेको छ, त्यसको आधार बाह्रबुँदे समझदारी हो, जुन कोइरालाको व्यक्तित्वको अभावमा सम्भव थिएन । युग परिवर्तनको नायकको रूपमा कांग्रेसले मात्र होइन, सिंगो देशले नै उनलाई कालान्तरसम्म सम्झिरहनेछ ।


दीर्घ राजनीति, अन्तर्राष्ट्रिय विश्वसनीयता र उच्च राजनीतिक व्यक्तित्वले गर्दा माओवादी उनको शरणमा परेका थिए । त्यो बेला उनको सामुन्ने जनयुद्ध लडेका पुष्पकमल दाहालमात्र होइन, समकालीन राजनीतिका अरु नेता पनि फुच्चे लाग्थे । दाहाललाई जनयुद्धको अँध्यारो सुरुङबाट निकाल्न उनै कोइरालाले सहारा दिए ।


प्रक्रियाभन्दा परिणामको खोजी गर्नु कोइरालाको राजनीतिक चरित्र थियो । फलस्वरुप निरंकुश बनेका राजालाई २०६२/६३ को जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्यमात्र पारेनन्, सँगसँगै दलहरूले तय गरेको मार्गचित्र अनुसार आगामी दिनमा अघि बढ्न राजी भएको कबोल पनि गराए ।


राजाको त्यो कबोल नै पछि शान्तिपूर्ण रूपमा देशमा गणतन्त्र स्थापित गर्ने आधार बन्यो । उनैले संविधानसभा मार्फत शान्तिपूर्ण रूपमा माओवादी हिंसाको अन्त्य र राजतन्त्रको समाप्तिसँगै सिंगै देशलाई नयाँ युगमा प्रवेश गराए ।


विवाद माथिको व्यक्तित्व

कोइराला पनि मानवोचित क्रुटिबाट मुत्त थिएनन् । उनको राजनीतिक जीवन पनि पक्कै विवादरहित रहेन । यहाँ के स्मरणीय छ भने विश्वका कुनै पनि राजनीतिज्ञ विवादमुक्त रहनसकेको इतिहास छैन । भारतमै पनि महात्मा गान्धीबारे आज पनि विवाद देखिन्छ ।


विवाद जीवन्तताको अर्को नाम हो । जसले काम गर्छ, उसका बारेमा टिप्पणी हुन्छन् । कोइरालाले काम गर्ने र निर्णय लिने साहस देखाए । उनको निरन्तरको सक्रियता जीवनको सबभन्दा सकारात्मक पक्ष हो । कहिल्यै हार नखाने उनको स्वभाव थियो । जीवनका आखिरी दिनहरूमा उनले गरेको निर्णायक र ऐतिहासिक कामले उनको विगतमा देखिएको अभाव र कमजोरीलाई पूर्णतः गौण बनाइदियो ।


लेखक कोइरालाका सञ्चार सहयोगी थिए ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?