१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संगिनीलाई साथ

धनकुटा — पुर्खाले सिर्जेको यो नेपाल देश
आफ्नै संस्कृति प्यारो छ भेष
जोगाऔं संस्कृति...
कमला दाहालसहितको समूहले यसरी लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्न थाल्छन् । यो संगिनी नाचको शैली हो ।

संगिनीलाई साथ

घुमाउरो गरी बसेकाहरू हात र खुट्टाको हाउभाउ मिलाएर एकै स्वरमा नाच्नुपर्छ संगिनीमा । यी महिला भने लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमै छन् ।


पछिल्लो पुस्ताले पछ्याउन नसकेको संगिनी नृत्य संरक्षण गर्न धनकुटा नगरपालिका १ का महिला जुटेका हुन् । खासगरी विवाहमा रत्यौली, धार्मिक उत्सव, पूजाआजामा परम्परागत रूपमा यो नाच नाचिने हिलेकी कमला दाहालले बताइन् । उनका अनुसार विभिन्न ऐतिहासिक तथा धार्मिक घटना क्रम, धार्मिक ग्रन्थका श्लोक समेटेर नाचिने संगिनी पछिल्लो समय वीरगाथा, जाँगरमूलक र राष्ट्रिय भावनाका शब्दलाई गीतमा उन्ने गरिन्छ ।


‘अहिलेको पुस्ताले संगिनी नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यही भएर हामीले अभियान नै थालेका हौं ।’ कुनै समय संगिनी नाच जिल्लाका सबैजसो थलोमा लोकप्रिय थियो । तर, पछिल्लो समय संगिनी नाच्ने एकदमै कम भेटिन्छन् ।’


यस्तो अवस्थामा स्थानीय महिलाहरू प्रवर्द्धनमा लागिपरेका हुन् । हालैको दिन एउटा हिले बजारमा नाच्दै गरिरहेका बेला भेटिएकी जमुना घिमिरेका अनुसार स्थानीय स्तरमा हुने विवाह, धार्मिक कार्य तथा विशेष समारोहमा उनीहरूको समूहले संगिनी नृत्य प्रस्तुत गर्दै आएको छ । यसमा मनोभावदेखि एकअर्काबीचको संवाद गीतमार्फत नै गरिन्छ ।

जेठा र दाजु नि नुहाउन गाका

शिव हौ हरर, जेठानी भाउजू

नुहाउन जाँदा साथैमा सरर..


यस्ता शब्द सुरुमा एक/दुई जनाले लामो स्वरमा खिपेर गाएपछि सहभागी सबैले फन्को मार्दै गीतको भाकामा साथ दिनुपर्ने समूहकै जानुका पोखरेलले बताइन् । ‘एकातर्फ मनोरञ्जन र अर्कोतर्फ संस्कृति जगेर्ना,’ उनले भनिन् । यो समूहले गुन्यूचोली र एकै प्रकारको ओढ्ने ओढेर संगिनी प्रस्तुत गर्छ ।


‘कम्तीमा पछिल्लो पुस्तासम्म यो नृत्यलाई सिकाउने हाम्रो प्रयास हो,’ स्थानीय तुलसा थापाले भनिन्, ‘चासो जगाउन सकिन्छ कि भन्ने आशा पलाएको छ ।’ हिले लगायत धनकुटा बजार आसपासका बस्ती तथा चौबिसे क्षेत्रमा पनि संगिनी नृत्य लोकप्रिय बन्दै गएको स्थानीय सरिता बरुवालको दाबी छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?