१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

फागुमा कलाकार

कान्तिपुर होली हंगामा 
लालप्रसाद शर्मा

पोखरा — फागु पर्व अर्थात् होली । यसै त चहलपहल हुने पोखराको लेकसाइड । बुधबार होलीको दिनको कुरै नगरौं । स्थानीय, सर्वसाधारण मात्र नभई पर्यटक पनि सडकमा एकापसमा रंग दलिरहेका र खुसियाली साटासाट गरिरहेका थिए ।

फागुमा कलाकार

फागु मनाउनेको बाक्लो उपस्थिति र सवारी चापले सडकै जाम भएको थियो । ठूलै मेला–महोत्सवको झल्को दिन्थ्यो भीडले ।


हल्लनचोकबाट वरै (थोरै पूर्व) डिहिकोपाटनमा ठूलो भीड थियो । पुराना चौतारी र बरपीपल, समीका रूखले दिउँसोको उखरमाउलो गर्मीमा शीतलता प्रदान गरिरहेका थिए । त्यही चौतारी अघिल्तिर स्टेज थियो । स्टेजमा चर्चित कलाकारहरू आलोपालो गरी आफ्नो प्रस्तुति दिइरहेका थिए । दर्शकदीर्घाबाट ‘हेप्पी होली’ भन्दै कलाकारलाई गीत र तालीले हौसला दिइएको थियो । दर्शकको बाक्लो उपस्थितिले माहोल दिनभर तातिरह्यो ।


रेडियो कान्तिपुरको होली हंगामा कलाकारको प्रस्तुतिमा दर्शक मन फुकाएर नाचे । गायक शिव परियार, सन्दीप क्षेत्री, रामचन्द्र काफ्ले, विमलराज क्षेत्री, विनोद बानियाँ, रेखा शाह, जुनु रिजाल, मल्लिका कार्की, कालीप्रसाद बाँस्कोटादेखि अभिनेता गौरव पहारी, प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले पालैपालो प्रस्तुति दिए ।


स्टेजमा पुगेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र प्रदेश सांसद राजीव पहारीले पनि नाचेर दर्शकलाई थप हौस्याए । कान्तिपुर एफएमका स्टेसन म्यानेजर दिनेश डिसीले उनीहरूलाई नचाउन प्रेरित गरेपछि माहोलमा उत्साह थपिएको थियो । प्रदेश प्रहरी प्रमुख दानसिंह बोहरा पनि स्टेजमै पुगेर अबिर लगाए र छमछमी नाचे ।


होली हंगामाको मेसोमा ‘लभ स्टेसन’ र ‘साइँली’ फिल्मका युनिटले पनि दर्शकसँग भेटघाट गरेको थियो । स्टेजमा उक्लिएर ‘लभ स्टेसन’ का प्रदीप खडका र जसिता गुरुङले दर्शकसँग होलीको शुभकामना साटे । फिल्म ‘लिलीबिली’ मा जमेको यो लभ जोडीले यसपटक ‘लभ स्टेसन’ मा सिक्किम, दार्जिलिङ, कालिम्पोङदेखि भियतनामसम्म पुगेर रोमान्स गरेका छन् ।


फिल्म ‘साइँली’ बाट भने संगीतकार बाँस्कोटा र अभिनेता गौरव पहारी स्टेज उक्ले । उनीले विभिन्न गीतमार्फत दर्शकलाई बाँध्ने प्रयास गरे । गायिका रेखा शाहले ‘सिमसिमे पानीमा’ गाएर नचाइन् । पोखरेली कलाकार विनोद बानियाँ र प्राप्ति तुलाचनले पनि स्टेज तताए । बानियाँले आफ्नो चर्चित गीत ‘बलेनीमा...’ गाउँदै दर्शक नचाएका थिए ।

रेडियो कान्तिपुरको पोखराबाट भएको होली हंगामा प्रस्तुति यो तेस्रो हो । हंगामा कान्तिपुर एफएम र टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए । होलीकै अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखरालगायतले सांगीतिकलगायत विविध कार्यक्रम गरेका थिए । विदेशी पर्यटक पनि उल्लेख सहभागिता जनाएर भरपुर मनोरञ्जन लिएका थिए ।


लेकसाइडमा ओइरो

नयाँ वर्ष होस् वा मेला महोत्सव । पोखरेली तन्नेरी विभिन्न उत्सवमा लेकसाइड पुग्न छुटाउँदैनन् । होली मनाउन फेवाताल किनार पुग्ने चलन पुरानै हो । बुधबार ओइरिएको भीड व्यवस्थापनमा प्रहरीलाई निकै गाह्रो भयो ।


डिहिकोपाटनमा रेडियो कान्तिपुर र क्याम्पिङ चौरमा पोखरेली सांगीतिक कलाकार संघको आयोजनामा छुट्टाछुट्टै कन्सर्ट भए । एउटाको निर्धारित समय सकिएपछि अर्को सुरु गरिएकाले दर्शकश्रोतालाई अलमल भएन । क्याम्पिङ चौरको कन्सर्टमा सुरु हुनु डेढ घण्टा अघिदेखि डीजेले बजाएका धुनमा नाच्नेमा पर्यटकको संख्या उल्लेख्य रह्यो ।


पोखरेली कलाकारले लामो समयदेखि यहाँका चर्चित भाका र आधुनिक गीत गाउँदै युवा जमातलाई नचाए । लामो समयपछि एउटै मञ्चमा देखिएका पोखरेली कलाकारले नयाँ भाका ल्याउन सिर्जनाकर्म जारी रहेको बताए ।


रेस्टुरेन्ट व्यवसायीको संस्था (रेबान पोखरा) ले होलीमा पर्यटकलाई पनि सामेल गराउँदै लेकसाइड क्षेत्र परिक्रमा गर्‍यो । व्यवसायी र होली मनाउन लेकसाइड ओइरिएको भीडले पर्यटकसँग होली खेले ।


लायन्स क्लबले घैंटो फुटाउने प्रतियोगिता आफ्ना सदस्यहरूका लागि आयोजना गरेको थियो । लेकसाइडका चोकचोकमा पप र रक गीतका कन्सर्टहरूले पर्यटक र होली मनाउन पुगेको भीडलाई दिनभर नचाएका थिए ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?