फिनल्यान्ड विश्वकै खुसी मुलुक

नेपाल १०० औं स्थानमा, कम खुसी देशमा सुडान अगाडि
एजेन्सी

काठमाडौँ — विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यस वर्ष फिनल्यान्ड पहिलो नम्बरमा परेको छ । विश्व खुसी दिवसका अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्बे, चौथोमा आइसल्यान्ड र पाँचौँमा नेदरल्यान्ड परेका छन् ।

यस्तै, छैटौंदेखि दसौंसम्म क्रमशः स्विजरल्यान्ड, स्विडेन, न्युजिल्यान्ड, क्यानडा र अस्ट्रेलिया छन् ।


राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले औसत आयु, सामाजिक सद्भाव, भ्रष्टाचार, स्वतन्त्रता लगायतका सूचकलाई आधार मानेर विश्व खुसी रिपोर्ट तयार पारेको हो । फिनल्यान्ड लगातार दोस्रो वर्ष पनि पहिलो परेको हो ।

भुटानले सन् २०११ मा राष्ट्रसंघमा प्रस्ताव गरेपछि विश्व खुसी दिवस सुरु भएको थियो ।


यस वर्षको रिपोर्टमा भुटान आफैं भने ९५ औं नम्बरमा परेको छ । शक्तिशाली मुलुक भने शीर्ष १० स्थानमा अटाएनन् । बेलायत १५ औं नम्बरमा, जर्मनी १० मा, जापान ५८ मा, रूस ६८ नम्बरमा र चीन ९३ औं नम्बरमा परेका छन् ।


सार्क मुलुकहरूमा पाकिस्तान ७५ औं नम्बरमा, नेपाल एक सय, बंगलादेश १२५, श्रीलंका १३०, भारत १४० र अफगानिस्तान १५४ नम्बरमा छन् । सूचीमा १ सय ५६ मुलुकहरू रहेकोमा सार्क सदस्य माल्दिभ्स भने उक्त सूचीमा छैन ।


विश्वका सबैभन्दा कम खुसी देशको सूचीमा भने दक्षिण सुडान १ नम्बरमा परेको छ । त्यसपछि क्रमशः मध्यअफ्रिकी गणतन्त्र, अफगानिस्तान, तान्जानिया, रुवान्डा, यमन, मलावी, सिरिया, बोत्स्वाना र हैटी छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?