१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

निर्मला हत्या प्रकरण : थुनछेक बहस सुरु

भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा यातना र प्रमाण नष्टको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टको मुद्दामा थुनछेक बहस सुरु भएको छ । बुधबार दिउँसो बयान सकिएपछि कञ्चनपुर जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो ।

निर्मला हत्या प्रकरण : थुनछेक बहस सुरु

वादी पक्षबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहायक जिल्ला न्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गरेका छन् । प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका छन् ।


‘थुनछेक बहस निरन्तर छ, आज (बुधबार) वादी पक्षको बहस सकिएको छ,’ जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने, ‘शुक्रबार बहस निरन्तर अघि बढ्छ ।’ उनका अनुसार प्रतिवादी तर्फबाट थप कानुन व्यवसायीले बहस गर्ने जानकारी भए पनि कस–कसले गर्ने भन्ने विषयमा यकिन भइसकेको छैन ।


मंगलबार जिल्ला अदालतमा आफैं उपस्थित भएका विष्टको दोस्रो दिन बयान सकिएको हो । उपस्थित भएसँगै पहिलो दिन यातनासम्बन्धी कसुरमा बयान लिइएको थियो भने दोस्रो दिन बुधबार सार्वजनिक न्यायविरुद्धको कसुरमा बयान लिइएको हो । उनलाई प्रहरी हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढेको छ ।


फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा यातना र सार्वजनिक न्याय विरुद्धको कसुरको मुद्दा दायर गरेपछि फागुन २६ मा तत्कालीन एसपी विष्ट र डीएसपी अंगुर जिसीका नाममा उपस्थित हुन ३५ दिने म्याद जारी भएको थियो । अदालतले म्याद जारी गरेको १० औं दिनमा उनी आफैं उपस्थित भएका हुन् ।


सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेकै दिन यातना र सार्वजनिक कसुर लागेका ६ जना प्रहरी अदालतमा उपस्थित भएका थिए । उनीहरूलाई फागुन ३० गते जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उक्त आदेश दिएको हो । विष्टको मुद्दा पनि आचार्यकै इजलासमा परेको छ ।


पुस ३ गते निर्मलाकी आमा दुर्गादेवीले विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही दिन दिलीप विष्टका दाइ खड्कले विष्टसहित ४ जनाका नाममा यातनासम्बन्धी जाहेरी दिएका थिए । भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीपलाई प्रहरीले यसअघि मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?