२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बन्दरगाहको पुल अन्तिम चरणमा

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प र बाढीका कारण रोकिएको तातोपानी नाकाको लार्चास्थित सुक्खा बन्दरगाह जोड्ने मोटरवेल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । तातोपानी नाकाबाट करिब ६ किमि पश्चिम लार्चामा चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दै गरेको उक्त पुल ३५ मिटर लामो छ ।

भूकम्पपछि पूर्ण रूपमा बन्द नाका सञ्चालन गर्ने पूर्वतयारी भइरहेका बेला चिनियाँ रेलवे कन्ट्रक्सन कम्पनी (सीआरसीसी) ले पुल निर्माणमा तीव्रता दिएको हो । चिनियाँ प्राविधिक हु जी गोका अनुसार सुक्खा बन्दरगाहको भवन संरचनाको ९० र पुलको ८० प्रतिशत काम पूरा भएको छ ।


डेढ महिनामा सबै काम सक्ने योजना रहेको प्राविधिकले जानकारी दिए । पुलको दाँयाबाँयाको पिलर र फलामा जडानको काम धमाधम भइरहेको छ । २०६९ पुसदेखि निर्माण सुरु गरेको उक्त पुल तथा बन्दरगाह निर्माणका लागि चीनले आर्थिक सहयोग गरेको छ ।


७ एक्जाभेटर, १० वटा ट्रिपर र अन्य अत्याधुनिक उपरकण ल्याएर तीव्र रूपमा काम भइरहेको प्राविधिकले बताएका छन् । ‘एसियाको उत्कृष्ट प्रविधि अपनाएर सोही ‘डिजाइन’ मा पुलको निर्माण भइरहेको दाबी चिनियाँको छ । बाहिरी संरचनाको कार्यमा नेपाली ठेकेदार र भवनको काममा सीआरसीसी कम्पनी आफैंले गरिरहेको छ ।


करिब १ अर्ब २० करोडको रुपैयाँ चिनियाँ सहयोगमा बन्दरगाह निर्माण भइरहेको हो । निर्माण सुरु गरेको २ वर्ष ६ महिनामा पूरा गर्ने लक्ष्य राखिएको थियो । जुरेपहिरो, भूकम्प र बाढीले रोकिएको थियो । आउँदो मेमा नाका खोल्ने योजना रहेको छ ।


बन्दरगाहको भवनमा भन्सार यार्ड, क्वाटर, क्वारेन्टाइन, गोदाम,जाँचपास यार्ड, चेक पोस्ट तथा बैंक रहनेछ । बन्दरगाहमा १ सय ५८ ठूला कन्टेनर राखेर जाँच गर्न सकिनेछ । बन्दरगाहमा ६० देखि सय टन सामान बोकेका गाडी एकैपल्ट तौलिने यन्त्र जडान गरिनेछ ।


मितेरी पुल १२ मिटरको हुने

भूकम्पपछि निर्माण हुन लागेको नेपाल–चीन सीमाको मितेरी पुल १२ मिटरको हुने भएको छ । ८ मिटरको पुललाई थप फराकिलो बनाएर निर्माण धमाधम भइरहेको छ । भूकम्प, बाढी र पहिरोले क्षति बनाएपछि पुलको पुरानो संरचना हटाएर निर्माण सुरु गरिएको हो ।


अहिले बाँध ढलान निर्माण गरी जग बनाउने काम भइरहेको छ । भोटेकोसीमा निर्माणाधीन ‘पुलको लागि प्रविधियुक्त ‘सपोर्ट वाल’ को काम सकिएको छ । खोला छेक्न दुवैतर्फ ढलान गरिँदै छ,’ चिनियाँ ब्रिज कम्पनीका ठेकेदार ‘पुबु क्वी जी लाई उद्धृत गर्दै भोटेकोसी गाउँपालिकाकी उपप्रमुख दाबुटी शेर्पाले भनिन् । आउँदो मेमा यहाँको भौतिक संरचनाको काम पूरा गर्ने योजना छ । चीनको सरकारी कम्पनी ‘तान् सुन रोड एन्ड ब्रिज कम्पनी’ ले मितेरी पुल पुनर्निर्माण तीव्र बनाएको छ ।


मितेरी पुलपारिको खासा बजारलाई ठूला र अत्याधुनिक मेसिनबाट नयाँ प्रविधि अपनाएर पुनर्निर्माण गरिँदै छ । ‘बेलिब्रिज बनाएर दुवैतर्फको संरचना निर्माण भइरहेको छ,’ उनले भनिन् । चीनको खासा र कुतीको बीचमा रहेको छेपसाङमा पहिरो जाँदा आएको भोटेकोसी बाढीले तहसनहस सीमावर्ती क्षेत्रको सबै भौतिक संरचनाको मर्मत थालिएको छ ।


सरकारी सम्झौतानुसार अहिलेको ८ मिटर मितेरी पुललाई पछि १२ मिटरको फराकिलो बनाइने कम्पनीले जनायो । ‘मिस्टर हु’ को नेतृत्वमा चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सीमा जोड्ने सडकको मर्मतसम्भार गरिरहेको छ । सुक्खा बन्दरगाह, सडक र पुलको कामलाई एकैसाथ अगाडि बढाइनुले नाका खुल्ने संकेत भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । उनले भने, ‘यसबाट स्थानीय उत्साहित भएका छन् । चीनले मितेरी पुल, सडक र बन्दरगाहको कामलाई विशेष प्राथामिकता दिएको छ ।’


चिनियाँ प्रहरी अधिकारीका अनुसार तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गराइनेछ । त्यसपछि मितेरी पुलको संरचनासँगै सीमा जोडिएको लिपिङ बजारको भग्नावशेष भत्काइनेछ । सीमाबाट करिब ६ किमि पश्चिम लार्चामा निर्माण भइरहेको सुक्खा बन्दरगाहमा सिधै सामान ओराल्ने योजना चीनले बनाएको छ ।


यसअघि मितेरी पुल नजिकैको भन्सारमा यार्डमा सामान जाँच गरिन्थ्यो । तीन महिनामा बन्दरगाह र ८ महिनामा सडक मर्मत पूरा गर्ने तयारी चीनले गरेको छ । ‘सुख्खा बन्दरगाह रंगरोगन गरेर निर्माणको अन्तिम चरणमा काम भइरहेको छ । सशस्त्र प्रहरी बलका डीएसपी कृष्णगोपाल गुरुङका अनुसार नाका खोल्ने पूर्वतयारीका लागि लागि सीमामा दुवै देशका अधिकारबीच सुरक्षासम्बन्धी दुई पटक अनौपचारिक बैठक भइसकेको छ । भूकम्पपछि तातोपानी नाका पूर्ण रूपमा बन्द छ । नाका बन्द हुँदा सीमाका हजारौं जना बेरोजगार भएका छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?