१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रसुवागढीबाट आउने चिनियाँ पर्यटक बढे

रसुवा — स्थलमार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन् । ०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटकले नेपाल प्रवेशका लागि रसुवागढी नाकाको प्रयोग गर्दै आएका छन् । 

भूकम्पपछि यो नाका हुँदै ३६ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले बताए । ‘यसमा तेस्रो मुलुकका पर्यटकको संख्या जोडिएको छैन,’ उनले भने । चीन सरकारले ०७४ भदौ १४ मा रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका छन् ।


अन्तर्राष्ट्रिय नाका घोषणा भएपछि नेपाल घुम्न आउने तेस्रो मुलुकका पर्यटक पनि वृद्धि हुँदै गएको छ । रसुवागढी नाकाबाट सबै भन्दा धेरै चिनियाँ पर्यटकले नेपाल प्रवेश गर्ने गरेको अध्यागमन कार्यालय रसुवाको तथ्यांकले देखाएको छ । यस नाकाबाट करिब ७० प्रतिशत चिनियाँ पर्यटक नेपाल आउने गरेका छन् ।


सन् २०१६ देखि २०१९ फेब्रुअरी अन्तिमसम्मको तथ्यांक हेर्दा रसुवागढी नाकाबाट चिनियाँ र तेस्रो मुलुकका गरी ५३ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये ३६ हजार ६ सय १३ चिनियाँ पर्यटक रहेका छन् । सोही अवधिमा १६ हजार ४ सय ८६ जना तेस्रो मुलुकका पर्यटक नेपाल आएको कार्यालयसँग तथ्यांक छ ।


सन् २०१६ मा ४ हजार ९ सय ६१, सन् २०१७ मा १७ हजार ६ सय २०, सन् २०१८ मा १२ हजार ८ सय ११ र सन् २०१९ को २ महिनामा १ हजार २ सय ८२ चिनियाँ पर्यटक नेपाल आएको अध्यागमन कार्यालय रसुवागढीले बताएको छ । ‘रसुवागढी नाकाबाट चिनियाँ पर्यटक आउने क्रम बढेको छ,’ घर्तीले भने, ‘नेपालतर्फ भौतिक पूर्वाधार र प्रविधि प्रयोग हुन नसक्दा केही समस्या छ ।’


रसुवागढी नाकाबाट आउने पर्यटकलाई मध्यनजर गर्दै कार्यालयले डिजिटल डिस्प्ले बोर्ड सञ्चालनमा ल्याएको छ । भिसाका लागि अनलाइन फर्म (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए । पर्यटकका लागि तातो तथा चिसो पानीको र फ्री वाइफाईको समेत व्यवस्था गरिएको छ ।

नेपाल घुम्नका लागि चिनियाँ पर्यटकले एक वर्षमा १ सय ५० दिनसम्मको फ्री भिसा पाउँदै आएका छन् । नेपाल घुम्न आउने धेरैजसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् ।


करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् । नेपाल आउने अधिकांश चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । रसुवागढी नाकालाई चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरे पनि नेपालतर्फ अझै पनि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?