कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

शिलान्यासमै सीमित सुनकोसी पुल

डिल्लीराम खतिवडा

उदयपुर — शिलान्यासको डेढ वर्ष बितिसक्दा पनि सुनकोसी नदीमा पक्की पुल बन्ने छाँट देखिएको छैन । पुल बने उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्नेछ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौ ३१ मा उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माणको शिलान्यास गरेका थिए । यसको निर्माण कार्य केही समयपछि रोकिएकामा अझै सुरु हुन सकेको छैन ।

शिलान्यासमै सीमित सुनकोसी पुल

शिलान्यासको डेढ वर्ष बित्दा ५ प्रतिशत कामसमेत हुन सकेको छैन । पुल करिब २३ करोड रुपैयाँको लागतमा ०७६ को असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । रसुवा/एसएनएस/पप्पु ज्वाइन्ट भेन्चरले निर्माण कार्यको ठेक्का लिएको हो ।


ठेक्का लिएको कम्पनीले शिलान्यासपछि पिलरका लागि उदयपुरतर्फको रानीटारमा एउटा खाडल खन्नेबाहेक अन्य कुनै काम गरेको छैन । निर्माण सुरु गरेको ठेकेदार कम्पनीले एउटा खाल्डो पनि पूरा नगरी त्यहाँ राखिएका निर्माण सामग्रीसमेत लिएर हिँडेको स्थानीयवासीले बताए । अहिले निर्माण स्थलमा एउटा जेनेटर मात्रै छ ।


‘पुल शिलान्यास गर्दा प्रधानमन्त्री देउवाले पुल चाँडै निर्माण हुने बताएका थिए,’ स्थानीय मनोज खड्काले भने, ‘डेढ वर्षमा एउटा पिलरसम्म बन्न सकेको छैन ।’ त्यसैले देवाउले भने जस्तै चाँडै बन्ने होइन कि पुल नै नबन्ने छाँट देखिएको उनले बताए ।


निर्माणको ठेक्का लिएको कम्पनीको लापारबाहीले पुल निर्माण अलपत्र परेको स्थानीय रत्न तामाङले बताए । ‘काममा ठेकेदारले लार्पबाही गर्दा सुनकोसी पुल बन्दैन कि भन्ने शंका छ,’ उनले भने, ‘डेढ वर्षसम्म केही पनि काम भएको छैन ।’ कसरी अबको डेढ वर्षमा पुल निर्माण भइसक्ने हो ? उनले प्रश्न गरे ।


‘उदयपुर–भोजपुर दुवैतर्फ सडक निर्माण भइसकेको छ,’ चौडण्डीगढी नगरपालिका १ का वडाध्यक्ष रोहित तामाङले भने, ‘सडक तयार भए पनि पुल नहुँदा भोजपुरका सार्वसाधारणले दैनिक उपभोग्य तथा अन्य सामग्री ढुवानी र आवतजावतमा समस्या भोगिरहेका छन् ।’


पुल अभावमा पश्चिमी भोजपुरको आमचोक र खोटाङको जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारणले बढी सास्ती खेप्नुपरको उनले बताए ।


पुल निर्माणका लागि तयारी गरिएको पिलरको गाड्ने जमिनमुनि कडा चट्टान निस्केका कारण ढिलाइ भएको सडक विभाग पुल आयोजना पूर्वी सेक्टर कार्यालय धरानका प्रमुख इन्जिनियर कैलाश साहले बताए । ‘पहिलेको डिजाइनमा पुल बन्न नसक्ने भएकाले पुनः अर्को डिजाइन गर्नुपर्ने भएको छ,’ उनले भने, ‘पुलको नयाँ डिजाइन बनेर आइएपछि विभागले स्वीकृत गर्नेछ ।’


डिजाइन स्वीकृत भएर आएपछि पहिलेकै लागत र ठेकेदारले काम सुरु गर्ने उनले बताए । पुल नहुँदा सिधा यातायात सञ्चालन हुन नसक्दा सामान ढुवानी र आवतजावतमा समस्या छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?