१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एक वर्षदेखि प्रधानाध्यापक गयल

हरि गौतम

रुकुम पूर्व — एउटा शिक्षकले वर्षमा २४ दिन मात्रै बिदा पाउँछ । भैपरी तथा पर्व बिदा १२ र प्रत्येक महिनाको एक दिन बिरामी बिदा । तर पुथाउत्तरगंगा–२, पेल्माको हिमालय आधारभूत विद्यालयका प्रअ बालकुमार शर्मा एक वर्षदेखि अनुपस्थित छन् । न उनले असाधारण बिदा स्वीकृत गराएका छन् न अन्य शीर्षकमा ।

२०७५ वैशाखमा केही दिन बिदा बस्ने भन्दै अर्कै शिक्षकलाई निमित्त जिम्मेवारी दिएर हिँडेका उनी तलब भने बुझ्छन् । विद्यालयको आर्थिक कारोबार पनि आफैं चलाइरहेकै छन् ।


विद्यालय व्यवस्थापन समितिले शर्माले किर्ते गरी विद्यालयको रकम हिनामिना गरेको आरोप लगाएको छ । समितिका अनुसार ८ लाख रुपैयाँ जम्मा रहेको विद्यालयको खाता अहिले शून्य छ । शर्माले एक शिक्षिकाको २ लाख र विद्यालय सहयोगीको ६० हजार रुपैयाँ पनि आफैं निकालेका छन् ।


बैंक स्टेटमेन्ट हेर्दा शर्माले गत दसैंसम्मको आफ्नोसहित अन्यको समेत तलब निकालेको पाइएको समिति सदस्य बल कामीले बताए । ‘शर्मालाई फर्काउन पटक–पटक प्रयास गरिए पनि कसैको सम्पर्कमै आउन नचाहेकाले सम्भव भएन,’ उनले भने ।


विद्यालय र गाउँपालिकाले शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेका छन् । प्रधानाध्यापक नहुँदा पठनपाठन लथालिंग छ । शर्माले निमित्त बनाएका शिक्षक मखनकुमार केसी पनि बेपत्ता छन् ।


साउन ३१ गते कुटपिटपछि भदौ १ गते स्थानीय मेडिकलमा उपचार गराएका उनी त्यसपछि फर्किएका छैनन् । केसीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन् । शिक्षक बेपत्ता पारेको आरोपमा वडाध्यक्षसहित ५ जना पुर्पक्ष थुनामा छन् । यसबारे स्थानीय भने केही बताउन चाहँदैनन् ।


बालविकासदेखि ६ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा हाल ३ जना मात्रै शिक्षक छन् । ‘विद्यालय तथा पठनपाठन अस्तव्यस्त भएको छ,’ सोही वडामा घर भएका कार्यपालिका सदस्य जिताराम कामीले भने, ‘थोरै स्टाफले धेरै कक्षा अध्यापन गर्दा गुणस्तर कसरी कायम होला ?’


प्रधानाध्यापक शर्माले भने स्थानीयको धम्कीका कारण विद्यालय जान नसकेको बताएका छन् । जेठ र असारमा स्थानीय बिदा हुने र साउनमा सट्टा शिक्षक राखेर आन्तरिक परीक्षामा सहभागी भएको उनले दाबी गरे । गत मंसिरमा विद्यालय जान रुकुमकोट पुगे पनि स्थानीयले धम्की दिएपछि फर्किएको उनको भनाइ छ ।


‘बाटोमै मारपिट गर्ने धम्की आएपछि म विद्यालय गइनँ,’ शर्माले भने, ‘अब म विद्यालय जान्नँ होला ।’ उनले विद्यालयले आरोप लगाएजस्तो ८ लाख नभई २ लाख रुपैयाँ आफूले चलाएको स्विकारे । अरू रकम विद्यालयमा काम गरेकालाई भुक्तानी गरेको उनको दाबी छ । केही दिनमै जिल्ला प्रशासन पुगेर हिसाबकिताब बुझाउने योजनामा रहेको उनले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?