कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एसईईको तयारी पूरा

प्रदेश सरकारको व्यवस्थापनमा परीक्षा 
उपत्यकाबाट ५३ हजार सहभागी हुने

काठमाडौँ — चैत १० बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुँदै छ । 

एसईईको तयारी पूरा

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केन्द्रबाट प्रश्नपत्र तयार गरी सातै प्रदेशका सबै परीक्षा केन्द्रमा पुर्‍याइसकेको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ७४ हजार परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । त्यस निम्ति १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको छ ।


परीक्षा सञ्चालनका निम्ति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाई (तत्कालीन जिल्ला शिक्षा कार्यालय) ले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत सरोकार पक्षसित संयुक्त बैठक बोलाएर तयारी गरिएको छ ।


प्रदेश सरकारले उत्तरपुस्तिका छपाइ, परीक्षासम्बन्धी कार्यमा आवश्यक मानवस्रोत तथा साधन व्यवस्था गर्नेछ । परीक्षा सञ्चालन जिम्मेवारी बोर्डलाई छ । उत्तरपुस्तिका संकलन तथा परीक्षण र नतिजा प्रकाशन राष्ट्रिय परीक्षा

बोर्डले गर्नेछ ।


नेपालमा वि.सं. १९९० देखि कक्षा १० पछिको एसएलसी परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले विद्यालय शिक्षाको तह परिवर्तन गरी कक्षा १२ सम्म विद्यालय तह कायम गरेको छ । त्यसैले कक्षा १० पछिको एसएलसी परीक्षालाई एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) नामकरण गरिएको छ ।


कक्षा १२ पछिको परीक्षालाई विद्यालय शिक्षाको अन्तिम परीक्षाका रूपमा कायम गरिएको छ । गत वर्ष एसईईमा ४ लाख ६२ हजार १ सय ३६ परीक्षार्थी सहभागी थिए । दुई वर्षयता ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिँदै आएको छ ।


शिक्षा मन्त्रालयले २०७२ सालदेखि एसएलसी परीक्षाको नतिजा अक्षरांक मूल्यांकन पद्घति (लेटर ग्रेडिङ इभ्यालुएसन सिस्टम) लागू गरेको छ । यो नतिजाले विद्यार्थी ‘फेल’ हुँदैनन् । उच्च अंक पाउने विद्यार्थीले ए प्लस, ए, बी प्लस, बी, सी, डी, ई उल्लेख भएको लब्धांकपत्र (मार्कसिट) पाउँछन् । डी र ई ग्रेड पाउनेले माथिल्ला अक्षरांक हासिल गर्न फेरि दोहोर्‍याएर परीक्षा दिन पाउने व्यवस्था छ ।


उपत्यकाबाट ५३ हजारले एसईई दिँदै

राजधानी उपत्यकाका तीन जिल्लाबाट ५३ हजार १ सय ६३ विद्यार्थीले एसईई दिँदै छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेलका अनुसार काठमाडौंबाट यो पटकको एसईईमा ३७ हजार ५ सय २८ विद्यार्थी सहभागी हुनेछन् ।


त्यसमध्ये साधारण धारतर्फ ३७ हजार १ सय ९९, प्राविधिकतर्फ ४ सय र ग्रेड वृद्धि (दोहोर्‍याएर एसईई दिने) विद्यार्थी संख्या २ सय ५८ जना छन् । त्यसनिम्ति १ सय १२ परीक्षा केन्द्र तोकिएको छ । ‘परीक्षाको सबै तयारी पूरा भएको छ,’ केन्द्राध्यक्षहरूको संयुक्त बैठक मंगलबार बसेको उल्लेख गर्दै पौडेलले कान्तिपुरसित भने, ‘विगतभन्दा १४ वटा केन्द्र बढाएका छौं ।’


ललितपुरबाट एसईई दिने विद्यार्थी संख्या ९ हजार ९ सय ३४ रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गुणराज पोखरेलले जनाएका छन् । त्यसमा साधारणतर्फ ९ हजार ८ सय २७, प्राविधिकतर्फ ८६ र ग्रेड वृद्धिका निम्ति २१ जना छन् । विगतका वर्षझैं ३३ परीक्षा केन्द्र कायम गरिएको छ । ‘विद्यार्थी संख्या विगतभन्दा केही बढी छ तर केन्द्र यथावत् राखेका छौं,’ पोखरेलले भने ।


भक्तपुरबाट ५ हजार ७ सय ८२ परीक्षार्थी एसईईको तयारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हरिप्रसाद दाहालले बताए । तीमध्ये १० जना ग्रेड वृद्धि तथा ७१ जना प्राविधिक धारका छन् । त्यसनिम्ति २३ वटा परीक्षा केन्द्र कायम गरिएको छ । विद्यार्थी संख्या नघटे पनि पायक नपरेकाले एउटा परीक्षा केन्द्र घटाइएको दाहालले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?