१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बिदा सच्याउन माग

दमक — प्रदेश सांसद ओम सरावगीले प्रदेश संसदको शून्य समयमा दुई दिनअघि होली बिदाप्रति आपत्ति जनाए । उनले झापा जिल्लालाई सरकारले तराईको दिन नभई पहाडको दिन होली बिदा दिएकाले सरकारी निर्णय सच्याउन माग गरे । 

उनले केन्द्रीय सरकारले झापामाथि विभेद गरेको आरोप लगाए । उनले झापा तराईको जिल्ला भएकाले होली पर्व तराई क्षेत्रले मनाउने दिन नै मनाउन पाउनुपर्नेमा जोड दिए । झापामा वर्षौंदेखि तराई क्षेत्रले मनाउँदै आएको दिन नै होली पर्व मनाउने गरिन्छ ।


तर, तीन वर्षअघि सरकारले झापालाई पहाडी जिल्लाको सूचीमा राखेर पहाडमा बिदा दिने दिन होली बिदा दिँदै आएको छ । सरकारको उक्त निर्णय तीन वर्षदेखि आलोचित बन्दै आए पनि सरकार आफ्नो निर्णयबाट पछि हटेको छैन ।


सांसद सरावगीले प्रदेश सरकारले केन्द्रीय सरकारको निर्णय सच्याउँदै प्रदेशस्तरीय निर्णयबाट झापामा तराई क्षेत्रमा मनाइने होली पर्वकै दिन बिदा दिनुपर्ने माग राखे । यो वर्ष होली पर्वको बिदा पहाडी जिल्लामा चैत ६ तथा तराई क्षेत्रमा चैत ७ गते छ । झापा तराईको जिल्ला भए पनि होली पर्वको बिदा चैत ६ गते दिइएको छ ।


गृह मन्त्रालयले ०७४ चैत १४ गते राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सूचीमा चैत ६ गते बुधबार झापासहित पहाडका ५८ जिल्लामा सार्वजनिक बिदा दिने उल्लेख छ । झापा र चितवनबाहेक १९ जिल्लामा भने चैत ७ गते बिहीबार सार्वजनिक बिदा दिने उल्लेख छ ।


सरकारले तीन वर्ष अघिदेखि झापालाई पहाडको दिन सार्वजनिक बिदा दिए पनि जिल्लावासी भने तराई क्षेत्रमै मनाउने दिन होली पर्व मनाउँदै आएका छन् । सरकारको उक्त निर्णयको विरोध गर्दै राजवंशी समाज विकास समिति झापाले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।


समाजले भौगोलिक रुपमा स्पष्ट रहेको तराईको जिल्लालाई पहाडको सूचीमा राख्नु एकलजातीय तन्त्रको पराकाष्ठा भएको टिप्पणी गरे । उनले होली पर्व तराईको पर्व भएकाले कुनै जाति, सम्पदाको संस्कृतिमाथि सरकारी विभेद अन्यायपूर्ण रहेको बताए ।


प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा समाजले होली पर्वको विदा विगतमा जस्तै तराई क्षेत्रले होली मनाउने दिनमा नै दिन आग्रह गरेको छ । उसले झापालाई पहाडको सूचीमा राखेर विदा दिदा तराईबासी आफ्नो सांस्कृतिक अधिकार प्रयोग गर्नबाट बञ्चित भएको बताए ।


दमक जेसिजका अध्यक्ष भीमराज केसीले सरकारले गरेको निर्णयबाट जिल्लाबासी प्रभावित बनेको बताए । उनले विगतमा सौहार्दपूर्ण रूपमा मनाउँदै आएको पर्वलाई सरकारको निर्णयले जिल्लावासीलाई अप्ठ्यारामा पारेको बताए । उनले केन्द्रीय सरकारको उक्त निर्णयमाथि स्थानीय सरकारहरूले दबाब दिनुपर्ने बताए ।


जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले सरकारको निर्णय कागजी रुपमा मात्र सीमित हुन पुगेको बताए । उनले भने, ‘सरकारले जस्तो निर्णय गरे पनि झापामा होली पर्व मनाउने भनेको तराई क्षेत्रले मनाउने दिनमै हो ।’ जिल्लामा पहाडसँग जोडेर दिन थालिएको बिदा झापावासीका पक्षमा नरहेको उनले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?