कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिलाका हातमा धनुबाँण

कास्की — पुरुषले धेरै अघिबाट जंगली जन्तु सिकारका लागि चलाउँदै आए । सरकारको वन्यजन्तु संरक्षणको कानुन र अरू सजिला हतियारको विकासले धनुबाँण यतिबेला खेलकुदका लागि मात्रै प्रयोग भएको देख्न पाइन्छ । जहाँ देखिन्छ, धनुबाँण पुरुषकै हातमा हुन्छ ।

मे त्हले दिवसको अवसरमा पाँचौं बृहत् अन्तर तमु समाज एवम् एकल मे त्हले (धनुष बाँण) प्रतियोगितामा महिलासमेत सहभागी भएका छन् । तमु प्ये ल्हु संघ जिल्ला समितिको आयोजनामा बुधबार पोखरामा भएको प्रतियोगितामा महिला सहभागिता भएको हो ।


‘धनुष बाँण महिलाले छोए पाप लाग्छ भन्ने भनाइ छ, अब त्यस्तो भनाइ भन्दै हामीले महिलालाई पछि पार्न मिल्दैन,’ संघका अध्यक्ष उमबहादुर गुरुङले भने, ‘आमाले पढे परिवारले पढ्छ भन्ने भनाइ आत्मसात गरेर समुदायको संस्कार नयाँ पुस्तामा पुर्‍याउन महिलालाई पनि धनु बाँणको प्रतियोगितामा भाग लिन हौसला दिएका हौं ।’


गुरुङ समुदायको संस्कार र पम्परा केलाउँदा पुरानो हतियार धनुषबाँण नै भएको उनले बताए । ‘यो हाम्रो संस्कृतिभित्र पर्छ,’ उनले भने, ‘५ वर्षदेखि यस्तो कार्यक्रमको आयोजना गर्दैछौं । महिलाहरूलाई भने पोहोरदेखि सहभागी गराउन थालेका हौं ।’ अहिलेको अवस्थामा जुनसुकै प्रतियोगिता महिला–पुरुष दुवैको समान सहभागिता हुनुपर्ने उनले बताए ।

‘पोहोर धनुबाँण पहिलोपल्ट समातियो,’ सहभागीमध्येकी रनमाया गुरुङले भनिन्, ‘पोहोरजस्तो डर योपल्ट लागेन ।’ एउटा हातले धनुष समातेर अर्को हातले वाँण हुत्याउनुपर्ने भएकाले बल बढी नै लाग्ने भए पनि यो खेलमा तरिका र अनुशासनको आवश्यकता आफूले बुझेको उनले बताइन् । ‘महिलाले नसक्ने भन्ने होइन रहेछ,’ उनी भन्छिन्, ‘तरिका पुर्‍याउन सक्नु/नसक्नुचाहिँ खुबी रहेछ ।’


जुनसुकै प्रतियोगितामा भाग लिनका लागि इच्छुक महिलालाई सहभागिता गराउँदा प्राप्त हुने अवसरले उनीहरूलाई हौसला मिल्ने तमु प्हेल्हुसंघ न्यूयोर्क शाखाका संस्थापक अध्यक्ष नरवीर गुरुङले बताए ।


संघका केन्द्रीय सल्लाहकार बलबहादुर तमुले धनुवाँण विशेषगरी गुरुङ, थकाली र तामाङ समुदायको संस्कार भएको बताए । बिहीबार सम्पन्न हुने प्रतियोगितामा गौरव तमु समाज रूपाकोट, क्होला दीप समाज, क्होला ट्होधीं रामबजार र प्येल्हु संघ केन्द्रीय युवा संघलगायतका १४ समूह सहभागी छ । एकलतर्फ, रनमाया गुरुङ, शान्ति गुरुङ, गौरी गुरुङ र मणिलाल गुरुङलगायत सहभागी छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?