कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चामल किन्दा बोरा छुट

गोरखा — सहुलियत दरको चामल खरिद गर्ने उपभोक्ताबाट नेपाल खाद्य संस्थानले लिँदै आएको बोराको मूल्य अब तिर्नु नपर्ने भएको छ । यसअघि ३० केजी चामल खरिद गर्दा संस्थानले बोराको २० रुपैयाँ लिँदै आएको थियो ।

चामल किन्दा बोरा छुट

खाद्य संस्थान केन्द्रीय कार्यालयले फागुन ५ मा गरेको शुल्क छुट दिने निर्णयको परिपत्र गोरखा शाखामा प्राप्त भएपछि यहाँका माछाखोला र सिर्दिवास डिपोबाट चामल खरिद गर्ने उपभोक्तालाई राहत भएको छ ।


२०३१ सालबाट खाद्य संस्थानले सहुलियत दरमा दुर्गम क्षेत्रका स्थानीयहरूलाई चामल उपलब्ध गराउँदै आएको छ । बोरासहित १४ सय ६० रुपैयाँमा बिक्री मूल्य तोकिएको सिर्दिवास डिपोबाट ३० केजी चामल खरिद गरेका उपभोक्ताले अब १४४० मा एक बोरा चामल खरिद गर्न सक्नेछन् । सोही परिमाणको चामलको १३ सय ७० प्रतिबोरा बिक्री मूल्य तोकिएको माछाखोलामा भने अब १३ सय ५० रुपैयाँमै चामल बिक्री गर्ने संस्थानका शाखा प्रमुख नवीन बस्नेतले बताए ।


‘पत्र प्राप्त भइसकेको छ,’ उनले भने, ‘यसअघि चामल किन्दा बोराको पैसा पनि एकैचोटी जोडेर लिन्थ्यौं, अब चामलको मात्र लिन्छौं ।’ यसअघि पनि खुद्रा खरिद गर्दा भने बोराको मूल्य तिर्न नपर्ने व्यवस्था मिलाइएको थियो । चामलसँगै बोराको मूल्य तिर्नुपरेको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका थिए । ‘सहुलियतमा चामल बिक्री गर्ने संस्थानले बोराको पैसा लियो भनेर कम्पलेन पनि बढी नै आउँथ्यो,’ बस्नेतले भने, ‘संस्थानको यो निर्णयले दुर्गमका स्थानीयलाई राम्रै सहुलियत हुन्छ ।’


यहाँको सिर्दिवास र माछाखोला डिपोबाट दुर्गम क्षेत्रका स्थानीयलाई खाद्य संस्थाने सहुलियत दरको चामल उपलब्ध गराउँदै आएको छ । चालु वर्ष सिर्दिवास डिपोमा ढुवानी भएको चामल अपूग भएपछि कोटा थपको प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्ष सिर्दिवास डिपोका लागि कोटा अनुसार चामल ढुवानी भइसकेको पनि बस्नेतले बताए ।


उत्त डिपोमा दुई हजार क्विन्टल कोटा तोकिएको थियो । ‘सिर्दिवासमा कोटाअनुसार चामल ढुवानी भएर बिक्री जारी छ,’ उनले भने, ‘अहिले ढुवानी भएको चामल अपुग हुने देखियो, जनताको पनि उच्च माग छ, थप दुई हजार क्विन्टल कोटा थपका लागी प्रस्ताव गरेका छौं ।’ गाउँपालिकाको कोटा थपको पत्रसहितको प्रस्ताव शाखाले केन्द्रमा पठाएको छ ।


अबको एक साताभित्रै कोटा थपको निर्णय आउने संस्थानले जनाएको छ । हालसम्म उक्त डिपोमा ढुवानी भएको मध्ये १२७८ क्विन्टल चामल बिक्री भइसकेको छ । सिर्दिवास डिपोबाट सिर्दिवाससहित ल्हो, बिही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरको चामल बिक्री हुँदै आएको छ ।


छेकम्पार र सामागाउँबाट सिर्दिवाससम्म आइपुग्न दुई दिन खर्चनुपर्ने भन्दै स्थानीयहरूले उपल्लो भेगकै पायक पर्ने स्थानमा डिपो राख्न पनि माग गर्दै आएका छन् । स्थानीयको मागको आधारमा पायक पर्ने स्थानमा डिपो थपका लागि प्रस्ताव गरिएको पनि संस्थानले जनाएको छ ।


चालु आर्थिक वर्ष माछाखोला डिपोमा २५ सय क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेको संस्थानले हालसम्म पाँच सय क्विन्टल मात्र पठाएको छ । गत आर्थिक वर्षको तीन सय ९० क्विन्टल मौज्दात चामल नै यस वर्ष बिक्री भइरहेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?