विद्यार्थीबाटै ‘नो जंक फुड’

नवलपुर — पूर्वी नवलपरासीको केउरेनीस्थित नेपाल माविका विद्यार्थीले ‘स्वच्छ खाना, स्वस्थ जीवन’ कार्यक्रमअर्न्तगत ‘नो जंक फुड’ अभियान सुरु गरेका छन् ।

बजारको खानेकुराभन्दा छोराछोरीलाई घरमा नै उपलब्ध खानेकुरा पठाउन विद्यार्थीको समूहले घरघरमा पुगेर अभिभावकलाई आग्रह गर्ने गरेका छन् । घरबाट सजिलै स्कुल पठाउन कस्तो खाजा र कसरी बनाउने भन्ने बारेमा परिकारको प्रदर्शनी पनि गर्ने गरेका छन् ।


बालबालिकाले बजारका अखाध्यवस्तु मिसाइएको खानेकुरा खानाले मानसिक तथा शारीरिकरूपमा असर पुग्ने भन्दै घरमै उपलब्ध खानाका परिकार खान प्रेरित गर्न खानाका परिकारको प्रदर्शनी गरेका हुन् ।


ब्रिटिस काउन्सिलअन्तर्गतको इन्टरनेसनल स्कुल अवार्डमा सहभागी भएको विद्यालयका विद्यार्थीले विभिन्न गतिविधि गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउन र अनुभव साटासाट गर्न अवार्ड कार्यक्रममा सहभागी भएको बताए । ‘यो कार्यक्रमले विद्यार्थीमा उत्कृष्ठ सिकाइ अभ्यास, अनुभव साटासाट गर्न, स्वच्छ जीवनका लागि विद्यार्थीलाई घरायसी खाजाका लागि प्रेरित गर्ने र व्यक्तित्व विकासमा सहयोग पुर्‍याएको छ ।’


विद्यार्थीहरूले अभिभावकका घरघरमा पुगेर आफ्ना छोराछोरीलाई कस्तो खाना खुवाउनुहुन्छ ? खाजामा के पठाउनुहुन्छ भन्ने स्थलगत अध्ययन गरेका थिए । कक्षा ९ मा अध्ययनरत छात्रा सविना काफ्लेका अनुसार घरघरमा पुगेर तथ्यांक संकलन गरिएको र बजारका खानेकुराभन्दा घरमानै उपलब्ध खानेकुरा प्रयोग गर्न सुझाव दिइएको बताइन् ।


नेपाल माविले मात्र होइन जिल्लाका अन्य विद्यालयका विद्यार्थीले पनि यसलाई अभियानकै रूपमा चलाएका छन् । देवचुली नगरपालिका–७ रामवासको भीमसेन आदर्श माविका विद्यार्थीले पनि आफ्ना अभिभावक र विद्यार्थीका लागि घरमा नै कसरी खाजा तयार पार्न सकिन्छ भन्नेबारे जानकारी दिने गरेका छन् ।


अभिभावकले पठाउन सजिलो हुने र विद्यार्थीले स्वादिलो मान्ने भएकाले बजारमा सजिलै पाइने प्याकेटका तयारी खानेकुरा खाजाका रूपमा प्रयोग गर्नाले बालबालिकालाई स्वास्थ्यमा असर गर्दछ । शिक्षकको आँखा छलेर लुकीलुकी बजारका तयारी खाजा अखाद्य रंग तथा अन्य तत्वहरूले कलिला बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्दछ ।


विद्यालयहरूले जंक फुड निषेध गरिएको छ भनेर भने पनि क्यान्टिनमा नै यस्ता जंक फुड बेचिरहेका हुन्छन् । नाराकारूपमा मात्र सीमित यस कार्यलाई व्यवहारमा नै उतार्नका लागि पूर्वी नवलपरासीको देवचुलीका बालबालिकाले भने अभियान नै चलाएर घरमा नै बालबालिकाका लागि कसरी पौष्टिक खाजा तयार पार्न सकिन्छ भन्नेबारे जानकारी गराउने गरेका छन् ।


केन्द्रदेखि नै विद्यालय हाता र वरपर विद्यार्थीका लागि जंक फुड बेच्न नपाइने भन्ने अभियान चले पनि कतिपय अभिभावक आफैंले छोराछोरीलाई बजारमा पाइने तयारी खाजा पठाउने गर्दछन् ।


देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख मोती रिजालले विद्यार्थी र सहभागीलाई स्वच्छ खाना र यसले पार्ने प्रभावका विषयमा प्रशिक्षण दिइने गरेको र अभिभावलाई पनि घरमै उपलब्ध खानेकुरा खाजाका लागि पठाउन आग्रह गर्ने गरेको बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?