कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गढपर्खाल मिचेर संरचना निर्माण

शिल्पा कर्ण

काठमाडौँ — कीर्तिपुरस्थित ऐतिहासिक गढपर्खालको विकास गर्न कीर्तिपुर नगरपालिकाले एक वर्षअघि अघि कार्यदल बनाएको घोषणा गर्‍यो । तर, संयोजक र सदस्यहरूलाई अहिलेसम्म पनि पत्र दिएको छैन ।

गढपर्खाल मिचेर संरचना निर्माण

लिखित जानकारी नै नआएपछि उक्त कार्यदलले औपचारिक काम गर्न सकेको छैन ।

पछिल्लो समय गढपर्खाल मिचेर संरचना निर्माण बढेको र तिनका ढोकाहरू पनि महत्त्व घटेको भए पनि कतैबाट पुनर्निर्माण र संरक्षणका लागि पहल नहुनु दुखद भएको स्थानीयवासी बताउँछन् ।

गतवर्ष कीर्तिपुर नगरपालिकाले गढपर्खालको वर्तमान अवस्था र संरक्षणका लागि गर्न सकिने कार्यबारे सुझाव दिन कार्यदलको घोषणा गरेको थियो । ‘हामीलाई औपचारिक पत्र वा जिम्मेवारी दिइएकै होइन । मौखिक रूपमा एक कार्यक्रममा मलाई कार्यदल गठन र जिम्मेवारीका बारे बताइएको थियो,’ कार्यदलका संयोजक भनिएका प्रयागमान प्रधानले भने, ‘तर हामीलाई भनिएको काम हामीले गर्‍यौं । औपचारिक टोली नभएकाले औपचारिक रूपमा प्रतिवेदन पनि बुझाउन सकेका छैनौं ।’

उनका अनुसार मेयर रमेश महर्जनका अगाडि विभिन्न अनौपचारिक कार्यक्रममा ‘ब्रिफिङ’ गरेपनि टोलीको ‘पहिचान’ दिइएको छैन । एक वर्ष अघि गठित टोलीले गढपर्खालको फोटो खिच्ने, स्थलगत अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने काम गर्‍यो । तर त्यसअनुसारको काम नभएको समितिका सदस्यहरू बताउँछन् । आफूहरूलाई त्यसपछि के कस्तो भयो सो जानकारी समेत नभएको उनीहरूको भनाइ छ ।

समितिमा रहेका स्थानीयवासी तथा आर्किटेक्ट विजयकुमार महर्जन समिति गठन भएको स्विकार्दैनन् । उनी भन्छन्, ‘हामीलाई जानकारी मात्र दिइएको हो टोली गठन गर्नु भनेर । औपचारिक टोली गठन भएको होइन ।’ महर्जनका अनुसार त्यसो भए पनि आफूले लामो समय त्यस विषयमा काम र अध्ययन गरेकाले नगरपालिकाको अनुरोधमा विभिन्न कार्यक्रममा प्रस्तुति दिने गरेका छन् ।

उनले भने, ‘४/५ महिना अघि मैले आफूले खोजेको र स्थलगत अनुगमनका क्रममा देखिएको कुरासहित एक कार्यत्रममा प्रस्तुति दिएको हुँ । मेयरले हामी संरक्षण कार्य थाल्छौं भन्नुभएको थियो । त्यसपछि नगरपालिकाले के गर्‍यो, संरक्षणका लागि के कार्य भए मलाई कुनै जानकारी छैन ।’ उनका अनुसार २०४२/४३ सालतिर तत्कालीन गाउँ विकास समितिमार्फत कार्य गर्नेगरी नगर विकास कोषले गढपर्खाल संरक्षण कार्यक्रम ल्याइएको थियो ।

तर तत्कालीन समयमा राजनीतिक दलका स्थानीय नेताहरूले विभिन्न बखेडा झिकेका कारण त्यो परियोजना पूरा हुन नपाएको महर्जन गुनासो गर्छन् । ‘त्यो समयमा पर्खाल र १२ वटै ढोकाहरू पुनर्निर्माण गर्ने भनेर एक करोड रुपैयाँ बजेट आएको थियो । त्यसबेला यो रकम पर्याप्त हुन्थ्यो,’ महर्जनले थपे, ‘त्यस बेला यो निर्माण भएको भए चीनको ग्रेटवालजस्तै पर्यटकको आकर्षणको केन्द्र बन्ने थियो होला । अहिले पनि हामीले प्रतिवेदनमा संरक्षण र पुनर्निर्माणका उपाय सुझाएका छौं ।’

अध्येता तथा आर्किटेक्चर महर्जनका अनुसार यो पर्खाल पृथ्वी नारायणले कीर्तिपुर आक्रमण गर्नु निकै अगाडि बनाइएको हो ।

त्यसैले गर्दा पनि दुईपल्ट पृथ्वी नारायणको सेनालाई नगर प्रवेश गर्नबाट बचाएको थियो । पौराणिक सहर कीर्तिपुरलाई बाह्य आक्रमणबाट जोगाउनका लागि तत्कालीन राजाले उक्त पर्खाल निर्माण गराएको अध्येताहरू बताउँछन् । पृथ्वीनारायण शाहले राजधानी आक्रमण गर्दा विजय पाउन कठिन भएको नगरमध्ये एक कीर्तिपुर पनि हो ।

त्यस बेला कीर्तिपुरको यही पर्खालले गोर्खाली सेनालाई नगरबाहिरै राखेको इतिहासकारहरूको दाबी छ । युद्धका समयका ऐतिहासिक तस्बिरहरूमा पनि गोर्खाली फौज सिँढी लगाएर पर्खाल चढिरहेको झैं देखिन्छ । नगरका १, २, ३, ९ र १० नं. वडामा बस्ती विकासले गर्दा पर्खाल छोपिइसकेको छ ।

अधिकांश ढुंगा र माटोले बनेको यो पर्खाल डेढ किलोमिटरभन्दा लामो र ४ फिट हाराहारी चौडाइको छ । कीर्तिपुरेलाई बाहिर आवतजावत गर्नका लागि ठूला काठका पल्ला भएका कलात्मक ढोका पनि बनाइएका छन् ।

पहिले १२ वटा ढोका रहेकोमा अहिले पुरानै अवस्थाका ढोका छैनन् । नगरपालिका र नजिकैको २ नं. वडा कार्यालयसँगै रहेको देवढोका तुलनात्मक रूपले सुरक्षित छ । सबै ढोकाको आआनै महत्त्व रहेको स्थानीयवासी बताउँछन् ।

कार्यदलका सदस्यसचिवको जिम्मेवारीमा रहेका तथा कीर्तिपुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनुज प्रधान भन्छन्, ‘पर्खाल निर्माण मिति, कसले निर्माण गरेको जस्ता कुराको सही जानकारी नभएकाले प्रतिवेदन नबुझाइएको हो ।’

नगरपालिकाका सूचना अधिकारी परशुराम चौलागाईंले आफूलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । अध्येता तथा आर्किटेक्ट महर्जन अहिले पनि ढिला नभएको र चाहेमा संरक्षण गर्न सक्ने अवस्था रहेको बताउँछन् । ‘पर्खाल मिच्दै घर बनाइएको छ । जति बाँकी छ, त्यसलाई संरक्षण र पुनर्निर्माण गर्न सकिन्छ । हामीले नक्सा तया गरिसकेका छौं,’ उनले भने ।

प्रकाशित : चैत्र ८, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?