कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उत्साही सन्दीप

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — सन्दीप लामिछाने नयाँ दिल्ली ओर्लेकै भोलिपल्ट विश्वकै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न अभ्यासमा जुटेका छन् । काठमाडौंबाट मंगलबार दिल्ली आएका १८ वर्षे सन्दीप बुधबार नै अभ्यास म्याच खेल्न फिरोज शाह कोटला रंगशाला पुगेका हुन् । 

उत्साही सन्दीप

कोटला मैदान सन्दीपको आईपीएल टिम दिल्ली क्यापिटलको गृहमैदान हो । गत वर्षसम्म दिल्ली डेयरडेभिल्सको नामबाट खेलेको यो टोली यसपालि दिल्ली क्यापिटलको नामबाट खेल्दै छ ।

दिल्लीको डिप्लोम्याटिक इन्क्लेभस्थित होटल आईटीसी मौर्यबाट करिब ५ बजे उनी अन्य टिम सदस्यसँग अभ्यास गर्न मैदानमा पुगेका थिए । उनी मैदान पुग्दा पहिले नै त्यहाँ पुगिसकेका दिल्ली क्यापिटलका प्रमुख प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ र भारतका पूर्व राष्ट्रिय खेलाडी तथा क्लबका फिल्डिङ प्रशिक्षक मोहम्मद कैफ अभ्यासलाई आवश्यक तयारी गर्दैथिए ।

गत वर्षबाट आईपीएलमा आबद्ध सन्दीप यो वर्ष भने आफ्नो टिमसँगको अभ्यासमा पहिलोपल्ट सहभागी भएका हुन् । ५ बजे सुरु अभ्यास राति करिब ११ बजेसम्म चलेको थियो । स्पाइकी हेयर स्टायल र हातमा सेतो घडी लगाएका सन्दीपले सामान्य शारीरिक व्यायामदेखि अभ्यास म्याचसमेत खेले ।

अभ्यासमा सन्दीपले चार ओभर गर्दै ३५ रन दिएर १ विकेट पनि लिए । अभ्यासक्रममा पोन्टिङ र कैफले सन्दीपलाई विभिन्न पक्षमा सुझाव दिइरहेको देखिन्थ्यो ।

म्याचलगत्तै कान्तिपुरसँग सन्दीपले अभ्यास म्याचबाट आफू सन्तुष्ट भएको सुनाए । ‘निकै एक्साइटेड छु । यसपल्ट हाम्रो टिम थप बलियो पनि भएको छ । टिमलाई जिताउन शतप्रतिशत दिने प्रयासमा रहनेछ,’ सन्दीपले भने ।

गत वर्ष आईपीएलमा टिमको अन्तिम तीन खेल खेल्न पाएका सन्दीपले ५ विकेट लिएका थिए । त्यसयता एक वर्षमा बिगबास, क्यारेबियनलगायतका लिगमा उनले गरेको प्रदर्शनका कारण यसपालि उनले सुरुआती खेलमै मौका पाउने अनुमान गरिएको छ । त्यसमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस वर्षको आईपीएलका सम्भावित ८ स्टार खेलाडीमध्ये दोस्रो नम्बरमा राखेकाले पनि सन्दीपले धेरै मौका पाउने अपेक्षा गरिएको छ ।

सन्दीपको खेललाई लिएर उनकै टिमका अर्का सदस्य र भारतका अन्तर्राष्ट्रिय खेलाडी शिखर धवनले पनि प्रशंसा गरे । ‘उनीमा धेरै नै क्षमता छु । दिन प्रतिदिन उनको खेल निखारिँदै गएको छ,’ धवनले कान्तिपुरसँग भने । आईपीएलको पहिलो संस्करणमा दिल्लीबाटै खेलेका धवन १० वर्षपछि पुनः दिल्ली फर्केका हुन् ।

सन् २०१८ मा सनराइर्ज हैदराबादमा आवद्ध धवनलाई दिल्लीले ६ करोड ४० लाख भारुमा किनेको हो । धवनको आगमनले दिल्लीको सुरुआती ब्याटिङक्रम थप बलियो हुने दाबी गरिएको छ । दिल्लीले धवनसहित तीव्र गतिका बलर इशान्त शर्मालाई पनि पनि टिममा ल्याएको छ । फिल्डिङ प्रशिक्षकमा कैफलाई लिएको दिल्लीले भारतका पूर्व कप्तान सौरभ गांगुलीलाई सल्लाहकारमा अनुबन्ध गरेको छ । ट्रिनिडाड एन्ड टोबागोका सामुइल बद्री बलिङ प्रशिक्षक छन् ।

बुधबार अभ्यासपछि सन्दीप र उनको टिम बिहीबार नै आईपीएलको पहिलो खेल खेल्न मुम्बई लागिसकेको छ । दिल्लीले आईपीएलको सुरुआत आइतबार मुम्बई इन्डियन्सविरुद्ध खेलेर गर्नेछ । दिल्लीको दोस्रो खेल मंगलबार कोटलामा साबिक विजेता चेन्नई सुपर किग्संविरुद्ध हुनेछ ।


पछिल्लो एक वर्ष कस्तो अनुभव गर्नुभयो ?

एकदमै खुसी छु । किनकि पछिल्लो एक वर्षमा मैले विश्वका प्रायः सबैजसो ठूला फ्रेन्चाइज लिगहरू खेल्ने मौका पाएँ । त्यसलाई ममा आफूभित्र रहेको क्षमता बाहिर ल्याउने अवसरका रूपमा पनि लिएको छु । मेरा लागि सही समयमा पाएको सही अवसर थियो । आईपीएलमा पनि उत्कृष्ट दिने मेरो प्रयास हुनेछ ।

एक वर्षपछि फेरि दिल्ली आइपुग्नुभएको छ, कस्तो अनुभव भइरहेको छ ?

निकै उत्साही छु । मेरो क्रिकेट यात्रा फेरि अर्कोपल्ट यहाँ आइपुगेको छ । यसपालि म बढी नै आशावादी छु, हाम्रो टिमले राम्रो गर्नेमा । अघिल्लो पटकभन्दा टिम पनि निकै राम्रो र सन्तुलित छ ।

कस्तो रह्यो मैदानमा पहिलो दिन ?

राम्रो भयो । प्रशिक्षकदेखि अन्य साथीसँग अझ्यासका क्रममा अन्तरत्रिया भयो ।

यसपालि कस्तो अपेक्षा राख्नुभएको छ ?

मेरो प्रयास त शतप्रतिशत दिने नै हुनेछ । मेरो लक्ष्य भनेको टिमलाई जिताउने नै हो ।

आईपीएलमा विश्वस्तरीय खेलाडीको सहभागि रहन्छ ? खेल्ने अवसर नपाउँदा कसरी लिनुहुन्छ ?

मैदानमा नभए पनि बाहिर बसेर पनि त्यहाँ भइरहेको गतिविधिबाट धेरै सिक्न सकिन्छ । त्यसले पनि आफूमा धेरै नै सकारात्मक परिवर्तन ल्याउन सघाउँछ ।

लिग नखेल्दा नेपालमा यही स्तरको अभ्यासका लागि के गर्नुहुन्छ ?

म पहिले जे–जसरी गर्थें, त्यसरी नै गर्छु । म जे कुरालाई पनि सधैँ सरल र सहज रूपमा लिने गर्छु । नेपालमा यहाँको जस्तो सुविधा छैन । जे–जस्तो छ त्यसबाट बढीभन्दा बढी अभ्यास गर्ने गर्छु ।

तपाईंले पहिले यू–ट्युबका भिडियो हेरेर पनि क्रिकेटबारे सिक्ने गरेको भन्नुभएको थियो ? अहिले पनि त्यही गर्नुहुन्छ ?

त्यो त मेरो दैनिकी नै हो । अहिले आएर फेर्न सक्दिनँ । राम्रो वा नराम्रो जुनसुकै चरणमा भए पनि यू–ट्युब हेर्ने गरेको छु ।

कसको भिडियो बढी हेर्नुहुन्छ ?

अरू कसको हुनु शेन वार्नको नि । किनकि उनी नै मेरो प्रेरणा हुन् । बिगबासको बेलामा पनि उहाँले धेरै सुझाव दिनुभएको थियो ।

कुनै विशेष सुझाव थियो कि ?

सधैं दह्रो मुटु बनाउनुपर्छ भन्नुभयो ।



‘सन्दीप नेपाली युवाको प्रेरणा हुन्’


शिखर धवन

भारतीय क्रिकेटर

सन्दीपलाई मैले अस्ट्रेलियामा पनि भेटेको थिएँ । नेपालको एक युवा खेलाडीले विश्वका सबैजसो ठूला प्रतियोगितामा खेल्न पाउनु ठूलो हो । मलाई थाहा छ, नेपालमा उनी सबै युवाको प्रेरणा बनेका छन् । उनले आफ्नो पुस्ताका लागि मात्र होइन, आउने पुस्ताका लागि पनि ठूलो आशा जगाएका छन् । त्यो ठूलै सकारात्मक पाटो हो । त्यो सुन्दा मलाई पनि निकै खुसी लागेको छ ।

उनको खेलको कुरा गर्ने हो भने उनी दिन प्रतिदिन तिखारिँदै गएका छन् । उनमा धेरै क्षमता छ । बिगबासमा पनि उनले निकै राम्रो प्रर्दशन गरेका थिए । दिल्लीका लागि पनि उनले उत्कृष्ट खेल दिनेछन् भन्नेमा मलाई विश्वास छ । अभ्यास म्याचमा पनि उनले निकै राम्रो बलिङ गरे । समयक्रममा उनको खेल बढी माझिँदै जानेछ भन्नेमा म ढुक्क छु ।

प्रकाशित : चैत्र ८, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?