कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एएफसी यू–२३ च्याम्पियनसिप छनोट : दबाबरहित नेपाल

कुशल तिमल्सिना

दोहा — ओमानविरुद्धको खेलसँगै शुक्रबार एएफसी यू–२३ च्याम्पियनसिप छनोट चरण सुरुआत गर्दा नेपाल दबाबरहित हुनेछ । ओमान, एसियन च्याम्पियन कतार र अफगानिस्तानजस्ता टिमविरुद्ध नेपालले स्वाभाविक रूपमा कम अपेक्षा गरेको छ । यस अलावा अघिल्ला तीन संस्करणमा पनि नेपालको प्रदर्शन कमजोर नै छ । 

एएफसी यू–२३ च्याम्पियनसिप छनोट : दबाबरहित नेपाल

बिहीबार पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रस्टसँग भने, ‘हामीलाई थाहा छ सबै हिसाबले यो समूहमा हामी कमजोर छौं । फिफा वरीयता, प्रदर्शन, पूर्वाधार सबै क्षेत्रमा । तर हामी जितको उच्च मनोबलसाथ खेल्नेछौं । हाम्रा खेलाडीले शतप्रतिशत प्रदर्शन दिनेछन्, दबाबरहित भएर खेल्नेछन् ।’

सन् २०१३ देखि सुरु एएफसी यू–२३ च्याम्पियनसिपमा नेपालको प्रदर्शन अहिलेसम्म खराब छ । नेपालले छनोट चरण पार गर्न सकेको छैन । तीन संस्करणको छनोट चरणमा खेलेका १२ मध्ये एक खेलमात्र नेपालले जितेको छ ।

थाइल्यान्डमा २०२० को जनवरी ८ देखि २६ सम्म हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ । शुक्रबार नेपालले दोहा स्पोर्ट्स सिटीभित्रको एस्पायर एकेडेमीको ४ नम्बर मैदानमा ओमानको सामना गर्नेछ ।

मंगलबार राति कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यासमा बितायो । प्रशिक्षक महर्जनले २३ मध्येबाट उत्कृष्ट ११ तय गर्न कठिन भएको बताए । ‘हिजो र आजको अभ्यास निकै फलदायी रह्यो, अभ्यासमा खेलाडीले यति गरे कि मलाई सेट बनाउन पनि सोच्नुपर्ने भएको छ,’ महर्जनले भने ।

बलियो टिम ओमानविरुद्ध नेपालले स्वाभाविक रूपमा रक्षात्मक खेल्नेछ । काउन्टर एट्याक र सेट पिस गोलको अवसर चुक्न नदिन प्रशिक्षकले फ्रिकिक, पेनाल्टी, कर्नर र लामो थ्रो बलमा विशेष अभ्यास गराएका छन् । नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने सम्भावना छ ।

फिफा वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान ९० औं स्थानमा छ । यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपल्ट भिड्न लागेका हुन् । सिनियर टोलीमा परिचित भए पनि उमेर समूहमा भने दुवै नयाँ प्रतिस्पर्धी हुन् ।

सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन ।

१० खेलमा ओमानले ४२ गोल गरेको छ भने नेपालले १ गोल गरेको छ । सन् १९८४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यी दुई आमनेसामने भए, जहाँ ओमानले ८–० को जित निकालेको थियो । यो ओमानविरुद्ध नेपालको सबैभन्दा खराब नतिजा हो ।

मुख्य प्रशिक्षक महर्जनले नै ओमानविरुद्ध ५ खेल खेलेका छन् । सन् १९९४ को हिरोशिमा एसियाली खेलकुदमा नेपालले ओमानसँग १–० को हार बेहोरेको थियो । सन् १९९६ मा एसियन कप छनोटमा नेपालले ओमानसँग खेलेका दुवै खेलमा पराजय बेहोरेको थियो । सन् २००७ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गरेयता नेपाल र ओमानबीच कुनै पनि प्रतिस्पर्धा भएको छैन ।


नेपालको सम्भावित ११

गोलरक्षक : अर्पण कार्की

डिफेन्डर : सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ, कमल श्रेष्ठ

मिडफिल्डर : विश्वास श्रेष्ठ/नितिन थापा, सुनील बल, अभिषेक रिजाल, हेमन्त थापामगर/एरिक विष्ट

स्ट्राइकर : विमल घर्तीमगर, अन्जन विष्ट

प्रशिक्षक : बालगोपाल महर्जन, सुमन श्रेष्ठ (सहायक)


‘कठिन समूहमा छौं’

बालगोपाल महर्जन

मुख्य प्रशिक्षक,

समूह ‘ए’ हाम्रा लागि निकै कठिन छ । किनभने हाम्रा प्रतिस्पर्धी टोली फिफा वरीयता, प्रदर्शन, तयारी र पूर्वाधारका हिसाबले हामीभन्दा धेरै माथि छन् । हामी शतप्रतिशत दिनेछौं । स्थानीय प्रतियोगिता र हालै सकिएको लिगका कारण खेलाडीहरू फिट छन् । तयारीका लागि हामीले छोटो समय पायौं । जस्तो तयारी भएको छ त्यसबाट खुसी छु । म मेरा खेलाडीको क्षमता र स्तरमा विश्वास गर्छु । राम्रो नतिजा आउनेमा आशावादी छु ।

कतार र ओमानसँग हाम्रो तुलना हुन सक्दैन । किनभने सबै क्षेत्रमा उनीहरू हामीभन्दा अगाडि छन् । कतारले हालै एसियन कप जितेको छ । ओमानको पनि पछिल्लो समयको प्रदर्शन उच्च छ । गत वर्ष हाम्रो फुटबल संघमा नयाँ नेतृत्व आएपछि ग्रासरुट फुटबलमा विशेष ध्यान दिएको छ । पक्कै पनि भविष्यमा यसले नेपालको राष्ट्रिय टोली बलियो बनाउन भूमिका खेल्नेछ ।


‘छनोट हुन आतुर’

अल्बर्ट फर्नान्डेज

मुख्य प्रशिक्षक, कतार

हामीले यस प्रतियोगितालाई राम्रो तयारी गरेका छौं । सकारात्मक नतिजाको अपेक्षा छ । छनोट चरण पार गर्ने लक्ष्य छ । आउँदो जनवरीमा प्रतियोगिता हुनेछ । यो प्रतियोगिता जापानमा हुने ग्रीष्मकालीन ओलम्पिकको तयारी पनि हो । त्यसअघि हामी थाइल्यान्डका लागि छनोट हुन आतुर छौं । हामीमाथि दबाब पनि उत्तिकै छ ।

हामी एसियन च्याम्पियन हौं । विगतको नतिजाले फुटबलमा केही फरक पार्दैन । तपाईले त्यस दिन कस्तो खेल्नुहुन्छ त्यसले फरक पार्नेछ । हामी तीनवटै खेलमा राम्रो प्रदर्शनको प्रयास गर्नेछौं ।

प्रशिक्षकका रूपमा म मेरो टिम र कतार फुटबल संघको तयारीबाट सन्तुष्ट छौं । प्रतियोगिताअघि हामीले केही मैत्रीपूर्ण खेलहरू खेल्न पायौं । घरेलु मैदानमा प्रतियोगिता हुन लागेको छ । यो हाम्रा लागि सकारात्मक हुनेछ । म मेरो टिम प्रतियोगिताकै दाबेदार त भन्दिनँ किनभने फिफा वरीयताले मात्रै हामीलाई सकारात्मक नतिजा दिँदैन । तयारी राम्रो छ र त्यहीअनुसार प्रदर्शन भयो भने अवश्य हामीले जित्ने छौं ।

‘सबै बराबर हैसियतका छन्’

हमाद अजानी

मुख्य प्रशिक्षक, ओमान

छोटो तयारीसाथ हामी प्रतियोगितालाई आएका छौं । हिजो मात्रै हाम्रो राष्ट्रिय टोलीले अफगानिस्तानविरुद्ध ५–० को जित हासिल गरेको छ । टिममा धेरैजसो नयाँ अनुहार छन् । हाम्रा खेलाडी उत्साही छन् र हामी राम्रो नतिजालाई प्रयास गर्नेछौं । हामीसँग केही खेलाडी एसियन कप खेलिसकेका छन्, त्यो हाम्रा लागि सकारात्मक पक्ष हो ।

यो समूहका सबै टिम बराबर हैसियतकै हुन् । कतार र हाम्रो टिमलाई दाबेदारको रूपमा हेरिएको छ । त्यसो भन्दैमा अफगानिस्तान र नेपाल कमजोर भन्न खोजेको होइन । १८ औं एसियाली खेलकुदमा नेपालले लोभलाग्दो खेल प्रस्तुत गरेको हामीले बिर्सेका छैनौं । अफगानिस्तान पनि पछिल्लो समय एसियाली स्तरमा राम्रो हुँदै गइरहेको छ । हामी छनोट हुन चाहन्छौं ।'

‘उत्साहपूर्ण समाचार दिन चाहन्छौं’

मोहम्मद मुस्तफा फाइज

मुख्य प्रशिक्षक, अफगानिस्तान

सबैलाई थाहा छ, सुरक्षा र अर्थतन्त्र हाम्रो मुलुकमा कमजोर छ । यस बाबजुत हामीले तीन महिनाको प्रशिक्षण क्याम्प गरेका छौं । प्रतिकूल मौसमका कारणले भनेजस्तो तयारी हुनसकेको छैन ।

यसबीचमा कुनै मैत्रीपूर्ण खेल खेल्न पाएनौं । ४ महिनाअघि हाम्रो सिनियर टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो, जुन १–१ गोलको बराबरीमा सकियो । हामीले ४ जना युरोपमा खेलिरहेका खेलाडीलाई बोलाएका छौं । दिनहुँको बम विष्फोट र युद्धका समाचारले अफगानी जनता आक्रान्त छन् ।

हाम्रा खेलाडीले यो आत्मविश्वास लिएका छन् कि युद्धको चपेटामा परेका अफगानी जनताका लागि जितको उत्साहपूर्ण समाचार सम्प्रेषण गर्न उत्सुक छन् । हाम्रो समूहका चारै टिम बराबर हैसियतका हुन् । त्यसमा एसियाली च्याम्पियन कतारलाई घरेलु मैदानको फाइदा हुनेछ ।

आजको खेल

नेपालविरुद्ध ओमान

दोहा स्पोर्ट्स सिटी, एस्पायर–४,

समय : १९ः४५ (नेपाली)

प्रकाशित : चैत्र ८, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?