कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोबोल्डद्वारा ठगी नगरपालिकासँग स्पष्टीकरण

स्याङ्जा — शृंखलाबद्ध ठगीमा संलग्न जर्मन नागरिक माइकल कोबोल्डलाई २० लाख रुपैयाँ दिएको स्याङ्जाको वालिङ नगरपालिकासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधेको छ ।

अन्तर्राष्ट्रिय कलाकार उपस्थितिमा विभिन्न कार्यक्रम गर्ने र सित्तैमा दमकल उपलब्ध गराउने भन्दै प्रस्ताव गरेका कोबोल्डलाई नगरपालिकाले ०७४ फागुन ३० मा हिमालयन बैंकबाट रकम दिएको थियो ।


नगर कार्यपालिकाको ०७४ फागुन २४ को बैठकले गरेको निर्णयअनुसार कोबोल्डको संस्था एक्सपेरियन्स नेपाल फिल्म प्रालिलाई २५ लाख रुपैयाँमध्ये २० लाख रुपैयाँ पेस्की दिएको नगरप्रमुख दिलीपप्रताप खाँणले जनाए । ‘कोबोल्डबारे कान्तिपुरले समाचार छापेपछि हामीले ठगीमा परेको थाहा पायौं,’ उनले भने, ‘दमकल आएन । अख्तियारको जवाफ पठाउनै समस्या भएको छ ।’


गत पुस अन्तिम साता समाचार प्रकाशित भएपछि अख्तियारले नगरपालिकासँग स्पष्टीकरण सोधेको हो । अमेरिकाबाट सेकेन्ड ह्यान्ड दमकल ल्याउने र त्यससँगै संसारका चर्चित सेलिब्रेटीलाई बोलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसार गराउने भन्दै कोबोल्डले नेपालमा शृंखलाबद्ध ठगी गरेका थिए ।


कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झूटा कागजपत्रको सहारामा ठगी गरेको समाचार कान्तिफुरमा आएको थियो । काठमाडौंका शक्तिशाली व्यत्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी कार्यालयलाई झुक्याएको देखिएको नगरप्रमुख खाँणले बताए । विश्वासमा परेर आफू पनि ठगिएको उनले स्विकारे ।


प्रख्यात हलिउड कलाकार जोनी डिप, लेडी गागा, रिहानालगायतलाई ल्याएर नेपालको पर्यटन प्रवर्द्धन गर्ने भन्दै उनले नेपाल पर्यटन बोर्डलाई आफ्नो योजनामा सामेल गराएका थिए । बोर्डले कोबोल्डलाई एक करोड रुपैयाँ दिएको थियो ।


उनले काठमाडौंको कूटनीतिक नियोग र उच्च घरानियाँसँग सम्बन्धको फाइदा उठाउँदै वालिङ नगरपालिकासँग पनि सम्पर्क बढाएका थिए । दमकल दिने र पर्यटन प्रवर्द्धन गर्ने दाबीसहित उनले नगरपालिकाबाट २० लाख रुपैयाँ लिए । नगरप्रमुख खाँणले सम्झौतापछि कोबोल्डले रकम लिएको जनाए ।


नगर कार्यसमिति पदाधिकारी सित्तैमा दमकल पाइने भन्दै सोधखोजैबिना कोबोल्डलाई रकम दिन सहमत भएका थिए । नगरले ताकेता गर्दा कोबोल्डले दमकल ल्याउने कार्यक्रमको मिति दर्जनौंपटक सारेका थिए । पछि नगर कार्यसमिति सल्लाहमा कोबोल्डविरुद्ध कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो ।

प्रकाशित : चैत्र ८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?