३० वर्षपछि विशेषज्ञ डाक्टर

हरि गौतम

रुकुम पश्चिम — अस्पताल स्थापना भएको ३० वर्षपछि जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएको छ । डा. अनुपमंगल समालले अस्पतालबाट उपचार सुरु गरेका छन् ।

३० वर्षपछि विशेषज्ञ डाक्टर

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेषज्ञ डाक्टर पठाएको हो । डा. समाल बिरामीको उपचारकै लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जिल्ला अस्पताल आएका हुन् । उनको साथमा एनेस्थेसिया सहायक महेश कठायत पनि छन् । अब बिरामीलाई विशेषज्ञ सेवा र शल्यक्रियाका लागि अन्त जानुपर्ने बाध्यता हटेको छ ।


‘एमडीजीपी आएपछि अब आकस्मिक अप्रेसनलगायत धेरै उपचारका लागि जिल्ला बाहिर जानु पर्दैन,’ अस्पतालका निमित्त प्रमुख डा. आलोकचन्द्र महतोले भने, ‘आकस्मिक रूपमा गरिने अप्रेसनका साथै अरू धेरै सुविधा अब जिल्लावासीले पाउनेछन् ।’ उनका अनुसार जटिल अवस्थाका गर्भवती, एपेन्डीसाइटिस (एपेन्डेक्टोमी), हर्निया तथा हाइड्रोसिलको शल्यक्रिया यहीँबाट हुनेछ । त्यस्तै बालबालिका, महिला, हाडजोर्नी, छालालगायत बिरामीले पनि जिल्ला अस्पतालमै विशेषज्ञ सेवा पाउने उनले जनाए ।


जिल्ला अस्पतालमा एनेस्थेसिया सहायक पनि आएपछि थप सहज हुनेछ । यसअघि गरिने अप्रेसनका बेला चिकित्सक आफैंले एनेस्थेसियाको काम गर्नुपर्थ्यो । ‘अप्रेसन गर्नैपर्ने अवस्थामा आफैंले अचेत बनाउनुपर्ने बाध्यता थियो,’ निमित्त प्रमुख डा. महतोले भने, ‘सम्बन्धित स्वास्थ्यकर्मी आइसकेपछि त्यो समस्या हल भएको छ ।’ यसअघि ठूलो जोखिमसाथ शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । तीन दिनअघि एकजना चिकित्सकको भरमा जिल्ला अस्पताल चल्थ्यो ।


लामो समयदेखि चिकित्सक नभएकाले उपचारमा समस्या भएपछि विशेषज्ञ चिकित्सक पठाइएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । ‘अस्पतालबाट पटकपटकको मागका आधारमा आवश्यकता महसुस गरी विशेषज्ञ पठाएको हो,’ प्रमुख शाहीले भने, ‘अब जिल्लावासीले नियमित सेवा पाउने छन् ।’


जिल्ला अस्पतालमा एक विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर स्थापना भएको ३० वर्षसम्म कोही आएका थिएनन् । ०७३ मंसिर २१ देखि ०७४ असोजसम्म छालारोग विशेषज्ञ डा. राजेन्द्र जिसी यहाँ आएका थिए । जिल्ला अस्पताल प्रमुखका रूपमा आएका उनी कार्यालयको प्रशासनिक काम गरेरमात्रै सरुवा भए ।

प्रकाशित : चैत्र ८, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?