दुईवटा रेल किन्न स्वीकृति

काठमाडौँ — सरकारले भारतसँग रेलका दुईवटा सेट खरिद गर्न रेल विभागलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभागलाई ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ खर्चेर खरिद गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनाए । रेलको एक सेटमा पाँच डब्बा हुने जनाइएको छ ।

दुईवटा रेल किन्न स्वीकृति

सरकारले भारतको कोंकण रेलवेज कर्पोरेसन लिमिटेडबाट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डीईएमयू) रेल खरिदका लागि स्वीकृति दिएको हो । यो भारतको जयनगरदेखि जनकपुरको कुर्तासम्म ३४ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले छोटो दूरीका लागि यो रेल उपयुक्त हुने भएकाले खरिद गर्न लागिएको जनाए ।


विभागले किन्ने तयारी गरेको रेलको प्रत्येक सेटमा पाँच वटा डिब्बा हुनेछन् । यी पाँच डिब्बाले एक पटकमा १२ देखि १३ सय यात्रु बोक्न सक्ने प्रवक्ता चित्रकारले बताए । जनकपुर–कुर्ता रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नति गरिसकेको उनले जनाए । ‘हामीले अर्डर गरेको तीन महिना वा त्योभन्दा चाँडै रेल आउँछ,’ उनले भने, ‘रेलको अर्डर गर्ने बित्तिकै सञ्चालनका लागि प्राविधिक तयारी थालिहाल्छौं ।’


रेल किन्नका लागि सरकारले पुसमा ५० करोड विनियोजन गरेको थियो । उक्त रकम अपुग हुने भन्दै अर्थ मन्त्रालयले थप ३५ करोड छुट्याएपछि विभागले रेल किन्ने तयारी गरेको हो । सुरुमा विभागले भारतबाट रेल भाडामा ल्याएर सञ्चालन गर्न लागे पनि दीर्घकालीन रूपमा सस्तो पर्ने भन्दै रेल खरिद गर्न लागेको जनाइएको छ ।

प्रकाशित : चैत्र ८, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?