बंकरमाथि अक्षरको खेती

काशीराम डाँगी

होलेरी, रोल्पा — कुनै समय रोल्पाको होलेरीको चिनारी भिन्न थियो । शान्ति प्रक्रियापछि पनि आगन्तुकहरू बंकरमाथि उभिएर तस्बिर खिच्थे । दिवंगतहरू सम्झिन्थे । मुलुकभरबाट रोल्पामा भेला भएका साहित्यकारहरूले बिहीबार द्वन्द्वका यी पुराना घाउमात्रै सम्झेनन्, उतिबेलाका पीडालाई सिर्जनामा समेट्न पनि भ्याए ।

बंकरमाथि अक्षरको खेती

कविता सुनाए, छलफल गरे अनि उतिबेलाको बंकरै बंकरको होलेरीसँग आजको होलेरी तुलना गरे । रोल्पाको रुन्टीगढी गाउँपालिकाले गरेको ‘अक्षर महोत्सव’ को पहिलो दिन बिहीबार विभिन्न चारवटा सेसनमध्ये दुइटा कवितामय भए ।


कविता भन्न दाङबाट उक्लिएका यज्ञबहादुर डाँगीले ‘इन्द्रेणीका रंगहरू’ सेसनमा क्रान्ति र परिवर्तनको चाहना अधुरो भएको, नेतृत्वले धोका दिएको र राजनीतिले बाटो बिराएको जस्ता आवाजलाई आफ्नो सिर्जनाको मसला बनाए । उनले जुनसुकै बेला पनि नेतृत्व वर्गबाट जनसाधारणको भावनामाथि खेलबाड हुँदै आएको काव्यिक तर्क पनि पेस गरे ।


राजधानीबाट रात्रिबस चढेर आएका थिए कवि ज्योति जंगल, तुलसीहरि कोइराला, बाबु त्रिपाठीलगायत । यो समूहलाई भूपीन, नारायण नेपाल, डा. गोविन्द आचार्यलगायतले साथ दिए कवितामा । समालोचक टीकाराम उदासीले सबैका कविताले द्वन्द्वको घाउ ओकलेको बताए । करिब दुई दर्जन कवितामार्फत स्रष्टाहरूले शान्तिको खोजे, समृद्धिको व्यग्रता र प्रगतिको आशा प्रकट गरे ।


बहसमा राजनीति र पत्रकारिता

कलाकारिताबाट राजनीतिमा प्रवेश गरेकी सांसद कोमल वलीले वर्तमान राजनीतिका बारेमा चर्चा गरिन् । उनले विकास, समृद्धि र स्थानीयताको बारेमा राजनीतिक नेतृत्व गम्भीर हुन आग्रह गरिन् । राजनीति र संविधानको गम्भीर समालोचना गर्दै कानुनविद् भीमार्जुन आचार्यले संघीयता र त्यसले ल्याएको प्रभावबारे चर्चा गरे ।


उनले संविधान कार्यान्वयनमा समस्या आएको दाबी गर्दै भने, ‘वर्तमान राजनीतिक नेतृत्वले खेलाची गरेमा मुलुक थप बर्बाद उन्मुख हुन्छ ।’ सधैंझै उनले संघीयता लगायतका राजनीतिक एजेन्डा आयातीत र जबरजस्त ल्याइएको दाबी गरे । राजनीति, कला र रंग सेसनको संयोजन गरेका युवा साहित्यकार अमर न्यौपानेले राजनीति र कलाको पक्ष खोतले ।


द्वन्द्वको पत्रकारिताबारे चर्चा गर्दै चार पत्रकारले तत्कालीन द्वन्द्व अवधिमा जनतालाई सुसूचित गर्नुपर्दाको अनुभव सुनाए । तत्कालीन सशस्त्र द्वन्द्वको चपेटामा परी पत्रकारिता गर्नुको सास्ती र अनुभव दुवै सुनाउँदै पत्रकारले अब पत्रकारिताको आयाम समृद्धिको बारेमा केन्द्रित भएको दाबी गरे । उक्त सेसनमा पत्रकारहरू राजाराम गौतम, काशीराम डाँगी, उदय जीएम, मौसम रोका र नरेन्द्र केसीबीच गम्भीर छलफल चल्यो ।


रुन्टीगढी गाउँपालिकाले पर्यटन र साहित्य प्रवर्द्धन गर्न अक्षर महोत्सवको गरेको हो । महोत्सवमा साहित्य, संस्कृति, कला, पत्रकारिता र राजनीतिमा बहस हुने महोत्सव संयोजक एवं स्रष्टा दीप दर्पणले जनाए । संस्कृतिविद्, लेखक, साहित्यकार, चिन्तक र अभियानकर्मीलाई होलेरीमा निम्तो गरी ग्रामीण विकासको पक्षमा माहोल सिर्जना गर्न खोजिएको गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले बताए ।


महोत्सवको दोस्रो दिन शुक्रबार कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तुलसी दिवस, रमेश क्षितिज, अमर न्यौपानेलगायतले प्रस्तुति राख्नेछन् । रुन्टीगढी गाउँपालिकाले नै गत फागुन दोस्रो साता होलेरीमा विकास सम्मेलन पनि गरेको थियो । होलेरीलाई पर्यटकीय एवं आध्यात्मिक साधनास्थल बनाउन सकिने निष्कर्षसहित सम्मेलनमा पूर्वाधार, कृषि, संस्कृति विज्ञलाई बोलाई अनुसन्धान गर्न लगाइएको थियो ।

प्रकाशित : चैत्र ८, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?