कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वित्तीय पहुँचलाई नेपाली सफ्टवेयर

२४ वाणिज्य बैंक, केही विकास बैंक र लघुवित्त संस्थाले एक डिभाइस र नेपालीले बनाएको सफ्टवेयर प्रयोग गरेर दूरदराजमा शाखारहित बैंकिङ सुविधा दिएका छन् । डिभाइस र त्यसमा प्रयोग हुने सफ्टवेयर निर्माता नेपाली कम्पनी थप नौलो भर्सन उतार्दै छ । 
सजना बराल

काठमाडौँ — गाउँमा बैंक नहुँदा इलाम नगरपालिका १ साँखेजुङका स्थानीयबासी सदरमुकाम पुगेर पैसा राख्ने, झिक्ने गर्थे । चार महिनाअघि माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ सुविधा सुरु गर्‍यो । यसले आफूहरूलाई सहज भएको स्थानीय प्रकाश आचार्यले बताए ।

‘इलाम जान–आउन तीन सय रुपैयाँ गाडी भाडा लाग्छ,’ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कर्मचारीसमेत रहेका उनले भने, ‘घण्टौं गाडी कुरेर सदरमुकाम गई बैंक धाउँदा सास्ती हुन्थ्यो । अहिले जुनसुकै बेला घरछेउमै कारोबार गर्न मिल्ने भएको छ ।’ साँखेजुङस्थित पाथीभरा स्टेसनरी एन्ड कम्युनिकेसन सेन्टरकी सरिता ओझाले प्रकाशसहित गाउँका २५ जनाको डिभाइसमार्फत खाता खोलिदिएकी छन् ।


बैंक नभए पनि एउटा सफट्वेयर र डिभाइसले साँखेजुङका बासिन्दालाई वित्तीय पहुँच पुर्‍याएको यो एउटा उदाहरण मात्रै हो । यस्ता दर्जनौं गाउँमा नेपालमै उत्पादित सफट्वेयर र चीनबाट आयातित डिभाइसले सर्वसाधारणलाई सजिलो बनाइदिएको छ ।

नेपालका दर्जनौं स्थानीय तहमा अझै पनि बैंक पुगेका छैनन् । साँखेजुङजस्ता दूरदराजका कपितय ठाउँमा बैंकहरूले बैंकिङ डिभाइसमार्फत कारोबार गराउँदै आएका छन् ।


पछिल्लो समय इमेल, इन्टरनेट र स्मार्ट मोबाइल प्रयोग बढेसँगै यो मोडलको भविष्यप्रति बैंकरहरू आशावादी देखिँदैनन् । यही कुरा बुझेर डिभाइस र त्यसमा प्रयोग हुने सफ्टवेयर निर्माता नेपाली कम्पनी ‘सिटिटेक’ ले भने नौलो भर्सन उतार्दै छ । यसलाई समय सान्दर्भिक र उपयोगी बनाउनुका साथै सम्भावित विदेशी बजारमा पुर्‍याउने लक्ष्य लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले बताए । हाल नेपालमा सिटिटेकले शाखारहित बैंकिङ सेवाका लागि आवश्यक सफ्टवेयर निर्माण गर्ने गर्छ ।


२४ वाणिज्य बैंक, केही विकास बैंक र लघुवित्त संस्थाका लागि ‘एन्ड्रोइड बेस्ड टर्मिनल’ अर्थात् ‘ब्रान्चलेस बैंकिङ डिभाइस’ वा ‘प्वाइन्ट अफ सेल (पीओएस)’ मेसिन प्रयोग गरिरहेका छन् । कम्पनीले उक्त मेसिन वा त्यसलाई आवश्यक सफ्टवेयर बैंकहरूलाई बेच्छ । बैंकले आफ्ना कर्मचारी वा सरिताजस्ता स्थानीय एजेन्टलाई मेसिन उपलब्ध गराउँछन् ।


सेवाग्राहीले मेसिनबाटै बैंक खाता खोल्ने, नगद जम्मा वा भुक्तानी गर्ने, मोबाइल टपअप आदि सुविधा प्राप्त गर्छन् । ‘यसमा ठूलो कारोबार गर्न मिल्दैन,’ साजनले भने, ‘माइक्रो ट्रान्जेक्सनका लागि हो । नेपालीहरूको वित्तीय पहुँच विस्तारमा यसले सघाउँछ ।’ सिटिटेक आउनुअघि ‘डिरोज टेक’ नामक कम्पनीले नेपालमा यस्तो सफ्टवेयर बनाउने गरेको थियो । हाल यो कम्पनी सिटिटेकमै गाभिएको छ ।


बीचमा ई–सेवा बनाउने ‘एफवान सफ्ट’ कम्पनीले पनि शाखारहित बैंकिङ डिभाइसका लागि सफ्टवेयर बनाएको थियो ।


त्यो आफ्ना लागि उपयुक्त नलागेर बन्द गरिदिएको ‘एफवान सफ्ट’का प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । ‘हामी पूरै कागजरहित प्रणाली बनाउन चाहन्थ्यौं,’ उनले भने, ‘बैंकहरूले ग्राहकले पेमेन्ट गर्दा रिसिप्ट आउने, भ्वाइस ओभरसहितको बनाऊ भन्नुभयो । उहाँहरूको माग जायजै थियो तर त्यसमा लगानी गर्नु हामीलाई फलदायक लागेन ।’


उनी बैंकिङ क्षेत्रकै लागि शाखारहित सेवा (बीएलबी) उचित मोडल नभएको बताउँछन् । यसबाट सम्पूर्ण वित्तीय कारोबार सम्भव नहुने र बैंकले बीएलबीका ग्राहकलाई अर्कै वर्गमा राख्नु उनी अनुचित देख्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यो मोडल प्रभावकारी हुन नसक्नुमा ग्राहकको प्रविधिप्रतिको अनविज्ञता कारक ठान्छन् । ‘यसमा मेसिनमार्फत काम हुन्छ, जुन दुर्गम क्षेत्रका ग्राहकलाई अप्ठ्यारो कुरा हो,’ उनले भने, ‘बिजुलीको सुविधा, इन्टरनेट कनेक्सन पनि हुनुपर्छ ।’


बीएलबीको पुरानो मोडलका तिनै सीमितता हटाउन आफूहरूले वर्ष दिनयता मिहिनेत गरिरहेको सिटिटेकका साजनले जनाए । उनले पहिलेको ‘मोनोलिथिक आर्किटेक्चर’ छोडेर ‘माइक्रो सर्भिसेस आर्किटेक्चर’ मा सफ्टवेयर डिजाइन गरेको बताए । ‘यसमा ग्राहकको आवश्यकताअनुसार एपलाई कस्टमाइज गर्न सकिन्छ,’ उनले भने, ‘यहाँको परिवेश सुहाउँदो मोडल बन्दै छ ।’


सिटिटेकमा ४५ जना प्राविधिक छन्, जो एलएलबीको रिइन्जिनियरिङ र बैंकिङ डिभासमा बैंकले झेल्दै आएका समस्या समाधानमा जुटिरहेको साजनले बताए । अमेरिका र सिंगारपुरमा लामो समय यस्तै काम गरेका उनले अबको छ महिनाभित्र बीएलबीको नयाँ सिस्टम तयार पार्ने दाबी गरे । यही अवधारणामा रेमिट्यान्सलाई डिजिटलाइज्ड गर्न खोजेको बताए ।


‘हाम्रो कम्पनीले वित्तीय क्षेत्र र प्रविधिबीचको पारस्परिक सम्बन्धमाथि खोजी र अध्ययन गर्दै आएको छ,’ उनले भने, ‘नयाँनयाँ फाइनान्सियल प्रोडक्टबारे पनि अध्ययन गर्दै छौं । चाँडै केही नयाँ प्रोडक्ट निकाल्छौं ।’ भुक्तानीका लागि पुरानो ‘पिन प्याड पीओएस’ को ठाउँमा आफूहरूले ‘एन्ड्रोइड बेस्ड पीओएस’ बनाउन खोजेको बताए । भुक्तानी क्षेत्रलाई डिजिटलाइज्ड गर्न प्राविधिक अप्ठ्यारा र जनशक्ति अभाव रहेको उनको अनुभव छ ।


यही सफ्टवेयरले वित्तीय पहुँचलाई सघाउ पुर्‍याइरहेको राष्ट्र बैंकको तथ्यांकले पनि देखाउँछ । तथ्यांकअनुसार नेपालमा गत माघसम्म कुल १३ सय ४५ वटा शाखारहित बैंकिङ केन्द्र थिए । तिनमा १ लाख ११ हजार ६७० ग्राहक रहेको तथ्यांकमा छ । अघिल्लो वर्ष बीएलबी केन्द्र १२ सय ७३ वटा थिए भने ग्राहक संख्या १ लाख ६० हजार ९६४ थियो ।


माछापुच्छ्रे बैंकका सर्वाधिक ६५ वटा बीएलबी केन्द्र छन् । प्रायः सबैमा सिटिटेककै डिभाइस चल्ने गरेका छन् । केही अघि ‘यूके एड’ द्वारा प्रवर्द्धित ‘सक्षम नेपाल’ को सहयोगमा बैंकहरूले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेका थिए । दातृ निकायको सहयोगबिना बैंकहरूले आफ्नै लगानीमा बीएलबी सञ्चालन गर्न छाडेको एफवान सफ्टका सुवासले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?