१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्मला हत्या प्रकरण : थुनछेक बहस सकियो

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटना अनुसन्धान क्रममा यातना र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएको छ । बहस सकिए पनि आदेश भने आएको छैन ।

निर्मला हत्या प्रकरण : थुनछेक बहस सकियो

‘थुनछेक बहस सकिएको छ, आदेशचाहिँ आएन,’ जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने, ‘आज समय अभाव भएकाले आइतबारसम्म आदेश आउन सक्छ ।’ अदालतमा मंगलबार मात्र उपस्थित भएका विष्टको बयान लिएपछि बुधबारदेखि बहस थालिएको थियो । यातना र सार्वजनिक न्यायविरुद्ध कसुर दुवै मुद्दामा मंगलबार र बुधबार बयान लिइएको थियो ।


विष्टको थुनछेक बहस चलिरहँदा अदालतमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । इजलासमा बहस सुन्नेको निकै घुइँचो लाग्यो । सर्वाधिक चासोको रूपमा हेरिएको उक्त मुद्दामा कस्तो आदेश आउँछ भन्नेमा सबैले चासो राखेका छन् ।


उनका अनुसार शुक्रबार वादी र प्रतिवादी दुवै तर्फका कानुन व्यवसायीले बहस गरे । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए भने वादीका तर्फबाट अधिवक्ताहरू इन्द्र अर्याल, बद्रीप्रसाद भुसाल, ओमप्रकाश सेन ठकुरी र कल्याण पोखरेलले बहस गरे ।


यसअघि बुधबार प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशी र वादीका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहायक जिल्ला न्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गरेका थिए । फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले यातना र सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि विष्टलाई ३५ दिने म्याद जारी भएको थियो । फागुन २६ गते म्याद जारी भएपछि विष्ट १० औं दिन अदालत उपस्थित भएका हुन् ।


सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्दा ६ जना प्रहरी अदालतमा उपस्थित भएका थिए । उनीहरूका हकमा भने अदालतले फागुन ३० मा धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले उक्त आदेश गरेको थियो । तत्कालीन एसपी विष्टको मुद्दा पनि आचार्यकै इजलासमा छ ।


निर्मला घटनाको अनुसन्धानकै क्रममा यातना र प्रमाण नष्टको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डीएसपी अंगुर जीसी भने अझै अदालत उपस्थित भएका छैनन् । विष्टसँगै डीएसपीद्वय जीसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकेन्द्र खडकालाई यातना र सार्वजनिक न्यायविरुद्ध अभियोग लागेको छ ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?