२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

समाज जगाउँदै सुरक्षाकर्मी

मोहन शाही

डोटी — ‘कर्मघर जानुपर्ने 
जन्मघर छाडी, 
बिहे गर्नु पर्छ २० वर्ष पारि...
पूर्वीचौकी गाउँपालिकाका सयौं स्थानीयका बीचमा प्रहरी सहायक निरीक्षक (असई) राम नाथले शुक्रबार यो कविता वाचन गरे । सदरमुकाम सिलगढीबाट झन्डै ४० किलोमिटर टाढाको सानागाउँमा पुगेर उनले जनचेतनामूलक गीत, कविता र देउडा प्रस्तुत गर्दा सुन्नेको ओइरो नै लाग्यो ।

पछिल्ला दिनमा उनी यस्ता जनचेतनामूलक सन्देश बोकेर जिल्लाका दुर्गम गाउँ चहार्दै छन् । ‘प्रहरीको महत्त्व र जनतासँग गरिएका अपेक्षाबारे पनि हामी प्रस्तावहरू राख्दै गाउँगाउँमा पुग्छौं,’ सामुदायिक प्रहरी इन्चार्ज नाथले भने, ‘सामाजिक अपराधहरूबारे विभिन्न तरिकाहरू अपनाएर स्थानीयलाई सम्झाउने –बुझाउने गरिरहेका छौं ।’


समाजमा व्याप्त बालविवाह, छाउपडी, जातीय विभेद, घरेलु हिंसाजस्ता सामाजिक अपराधविरुद्ध डोटी प्रहरी सन्देश फैलाउँदै छ । पछिल्लो समय स्थानीयसँगको सम्बन्ध सुमधुर बनाउने अभियानमा छ । अभियानमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख र सञ्चारकर्मीलगायत सबैको साथ छ ।


फागुनको अन्तिम साता यही टोली आदर्श गाउँपालिकाको मौवामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै गरेको भेटिएको थियो । मौवामा निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामी, सशस्त्र प्रहरीका नायब उपरीक्षक देवराज जोशी, गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायालगायतको टोली अभियानमा जुटेको थियो । ‘प्रहरीको यो अभियान सकारात्मक छ,’ गाउँपालिका अध्यक्ष रोकायाले भने, ‘वडा तहसम्म कार्यक्रम विस्तार गर्न गाउँपालिका पनि सहकार्य गर्न तयार छ ।’


पहिलो चरणमा स्थानीय तहका केन्द्रमा, दोस्रो चरणमा वडा तह र तेस्रो चरणमा विद्यालय स्तरमा गएर प्रहरी–समुदाय साझेदारी कार्यक्रम गरिरहेको प्रहरी नायब उपरीक्षक धामीले बताए । ‘नेपाल सरकारकै नीतिमा रहेर प्रहरी सामाजिक अपराध न्यूनीकरणमा जुटिरहेको छ, यसबारे समुदायसँगको सम्बन्ध पनि गहिरो बन्दै गएको छ,’ उनले भने ।


सचेतनामूलक कार्यक्रमहरूमा स्थानीय र प्रहरी प्रशासन प्रमुखबीच खुला अन्तरक्रिया र छलफल हुने गरेको छ । यस्ता अन्तरक्रिया कार्यत्रममा प्रहरी प्रशासनबाट भइरहेका कमीकमजोरी र कानुनी प्रावधानबारे स्थानीयले जिज्ञासा तथा सुझाव राख्ने गरेका छन् ।


अभियानमा प्रहरी मात्र नभएर सेना पनि सक्रिय रहेको छ । सेनाले आफ्नो छुट्टै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सिलगढीस्थित रुद्रध्वज गणले पूर्वीचौकी गाउँपालिकामा माघ महिनामा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सांस्कृतिक कायक्रम प्रस्तुत गरेको थियो । लोपोन्मुख संस्कृति प्रदर्शनगरि सेनाले स्थानीयको मन जित्ने प्रयास गरेको थियो । ‘कला संस्कृति जगेर्ना गर्ने सेनाको नीतिअनुसार नै हामीले विभिन्न संस्कृति देखाएका हौं,’ रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले भने, ‘यसले समुदायसँगको सम्बन्ध पनि सुमधुर हुन्छ ।’


निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने समाजमै अपराध हुने भएकाले समाजबाटै समाधानका उपाय खोजिनुपर्ने बताए । प्रहरी प्रशासन एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसकिने उनको भनाइ थियो । समुदायसंँग घुलमिल भई सामाजिक अपराधहरूको न्यूनीकरणका लागि उपायहरू खोज्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रम गरिएको उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?