कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रानाथारूलाई घरबासको आस

३ वर्षमा ७ हजारभन्दा बढी पाहुना भित्रिए
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका १४ र १६ मा सञ्चालित रानाथारू सामुदायिक होमस्टेमा पर्यटक भिक्रिने त्रम बढ्दै गएको छ । रानाथारू परिकार र संस्कृतिका कारण होमस्टे पर्यटकका लागि आकर्षण बन्न थालेको हो । 

रानाथारूलाई घरबासको आस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै ३ वर्षअघि सुरु भएको होमस्टेमा बर्सेनि अढाई/तीन हजार पर्यटक आउने गरेका छन् । ‘यस वर्ष पाहुन आउने क्रम अझै बढेको छ,’ रानाथारू सामुदायिक होमस्टेका सचिव चेतराम रानाले भने, ‘सिजन सकिन अझै ३ महिना बाँकी छ, गत विगतको वर्षजति त अहिले नै पुगिसकेका छन् ।’ उनले यस वर्ष २५/३० प्रतिशत पर्यटक वृद्धि हुने अपेक्षा गरिएको बताए ।


रानाथारू खानाका परिकार, मौलिक संस्कृति र पाहुनाप्रतिको राम्रो व्यवहारका कारण होमस्टे पाहुनाको रोजाइमा पर्न थालेको छ । होमस्टेमा प्रयोग हुने अधिकांश सामग्री रानाथारू संस्कृतिसँग जोडिएका छन् । सबै घरमै उत्पादन गरिन्छ । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारूको बेग्लै रहनसहन र परम्परा छ । मौलिक परम्परासँगै घर आगनमै उत्पादन भएको अन्न र तरकारीले समेत होमस्टेको आकर्षण बढाएको छ ।


‘३ वर्षको अवधिमा ७ हजार बढी पाहुना भित्रिएका छन्,’ सचिव चेतरामले भने, ‘यहाँ आउने पाहुनामा स्वदेशी नै बढी छन्, खासगरी चितवन, पोखरा र काठमाडौंका बढी छन् ।’ उनकाअनुसार कैलाली र कञ्चनपुरका पाहुनसमेत आउने क्रम बढेको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारले होमस्टेको समेत प्रचारमा टेवा पुगेको छ । विगतमा निकुञ्ज आउने पर्यटक झोलुंगे पुल पुगेर बास बस्न महेन्द्रनगर वा धनगढीतर्फ जाने गरेका थिए ।


अहिले ती पाहुना होमस्टेमा आउन थालेको अध्यक्ष पर्शुराम रानाले बताए । ‘निकुञ्जको सँगै होमस्टेको पनि प्रचार भएको छ,’ उनले भने, ‘पाहुना आउने क्रम बढेपछि हाम्रो आम्दानी पनि राम्रो हुन थालेको छ ।’ अध्यक्ष पर्शरामका अनुसार गत वर्ष होमस्टेको आम्दानी ८ लाख पुगेको थियो । प्रत्येक परिवारले १ लाख जति आम्दानी गरे । एक जनाको राम्रै रोजगारी भएको छ । आम्दानीसँगै अप्रत्यक्ष रूपमा गाउँघरमै उत्पादन भएको सागपात, दुध, कुखुरा र अन्नलगायतले गाउँमै बजार पाएको छ । यसले समेत अतिरिक्त रोजगारी सृजना गरेको छ । होमस्टे सञ्चालन भएका घर आगनमै देखिने तरकारी बारीले समेत गाउँको शोभा बढाएको छ ।


शुक्लाफांटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै भीमदत्त नगरपालिका १४ र १६ नयाँ कटानको रानाथारू वस्तीका ८ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टेका लागि सबै घरमा अलग्गै २ कोठे आकर्षक घर निर्माण गरिएका छन् । काठ र माटोले निर्माण गरिएका उक्त घरहरू चिटिक्क देखिने गरि लिपपोत गरिएका छन । होमस्टेका लागि निर्मित घरहरूको आकर्षणले समेत पाहुनालाई निकै लोभ्याउछ । सबैघरमा खाना पकाउन गोबर ग्यासको प्रयोग गरिन्छ ।


‘पाहुनाको आकर्षण हेर्दा थप केहि घरमा होमस्टे सञ्चालन गर्नुपर्ने भएको छ,’ सचिव चेतरामले भने, ‘यस विषयमा हामीले गाउँमा छलफल पनि सुरु गरेका छौं ।’ उनका अनुसार अहिले ८ वटा घरमा ३२ जनासम्मलाई बसाउन सकिने अवस्था भएपनि त्यसभन्दा बढी आएमा समस्या हुने गरेको छ । थारू बस्तीमा धमाधम होस्मटे सञ्चालन हुने क्रम बढ्दो छ ।


गत वर्षदेखि कृष्णपुर नगरपालिकाको बाणीमा पनि मुक्त कमैया वस्तीमा होमस्टे सञ्चालनमा आएको छ । फरक फरक ठाउँमा सञ्चालनमा आईरहेका होमस्टेको आफ्नै मौलिकता र आकर्षण छ । यसले जिल्लाको पर्यटन विकासमा थप योगदान पुग्ने यस क्षेत्रका जानकार बताउँछन् ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?