२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एसईई उत्कृष्टको सुझाव : दोहोर्‍याएर पढ सिर्जनात्मक उत्तर लेख

राम्रो नतिजा ल्याउन लेखाइमा फरकपन चाहिन्छ । हरेक विषयलाई दोहोर्‍याएर पढ्ने हो भने फरक तरिकाले लेख्न सकिन्छ 
अमृता अनमोल

बुटवल — परीक्षामा राम्रोसँग उत्तर लेख्ने र उत्कृष्ट नतिजा ल्याउने सबैको चाहना हुन्छ । सबैको चाहना पूरा भने हुँदैन । कोही परीक्षा तयारी नै कसरी गर्ने भन्नेमा अलमलिन्छन् । कसैले परीक्षामा धेरै आत्तिएर जानेकै कुरा बिर्सन्छन् ।

एसईई उत्कृष्टको सुझाव : दोहोर्‍याएर पढ सिर्जनात्मक उत्तर लेख

कोही जानेकै कुरा पनि सिलसिलेवार रूपमा लेख्न र सिर्जनात्मकतामा ढाल्न नसक्दा पछाडि पर्छन् । यी सबैलाई चिरेर रूपन्देहीका धेरै विद्यार्थीले विगतका एसएलसी र एसईईमा मुलकमै उत्कृष्ट नतिजा ल्याएका छन् । परीक्षाको समयमा थोरै मात्र गम्भीर हुँदा पनि राम्रो नतिजा ल्याउन सकिने उनीहरूको सुझाव छ ।


गत वर्षको एसईईमा ४ जीपीए ल्याएकी सृष्टि पोखरेल सिर्जनात्मक तरिकाले उत्तर लेख्न सुझाव दिन्छिन् । उनको भनाइमा धेरै साथीहरूले सर, मेडमहरूले जस्तो सिकायो त्यस्तै घोकेर उत्तर लेख्छन् । यसो गर्दा उत्तर त मिल्छ । उत्तरमा फरकपन भने हुँदैन । राम्रो नतिजा ल्याउन लेखाइमा फरकपन हुनुपर्छ । हरेक विषयलाई दोहोराएर पढ्ने हो भने फरक तरिकाले लेख्न सकिन्छ ।


हरेक कुरालाई सिर्जनात्मकता दिन र राम्रो नतिजा निकाल्न सकिन्छ । ‘पढेको कुरा लेखेर पनि अभ्यास गर्नुपर्छ,’ स्कलर्स होम बोर्डिङबाट एसईई दिएकी उनले भनिन्, ‘पढेपछि लेख्दा सम्झन सजिलो हुन्छ । परीक्षामा समय व्यवस्थापनमा पनि सहज हुन्छ ।’ कतिपयको केरेर लेख्ने बानी हुन्छ । केरेर लेख्दा त्यसले कापी जाँच्ने शिक्षकमा नकारात्मक सन्देश जान्छ । यसैले अक्षर सफा र सुन्दर लेख्नुपर्छ । जुन प्रश्नको उत्तर आफूलाई सहज लाग्छ त्यसबाट लेख्न सुरु गर्नुपर्छ ।


बुटवलकी सलिना जीसीले पनि गत वर्षको एसईईमा ४ जीपीए ल्याएकी थिइन् । उनी कुनै पनि विषय दोहोर्‍याई तेहर्‍याई पढ्थिन् । पढिसकेपछि आफ्नो ढंगमा लेख्थिन् । यही बानीले उत्कृष्ट नतिजा ल्याउन सफल भइन् । ‘एसईई भन्दैमा परीक्षामा आत्तिनु हुँदैन । यसलाई नियमित परीक्षाजस्तै सामान्य कुरा ठान्नुपर्छ,’ बुटवलको तिनाउ बोर्डिङ स्कुलबाट एसईई दिएकी सलिनाले भनिन्, ‘तर आफूलाई शंका लागेको प्रश्नको उत्तर पक्का नभई लेख्नु हुँदैन ।’ समय छँदै सकिए आफैंले लेखेको उत्तर पनि दोहोर्‍याएर रुजु गर्न उनले सुझाव दिइन् । ‘परीक्षाका बेला पढेको कुरा छोटो समयमा सम्झे पनि बिर्सन सकिन्छ,’ उनले सुझाव दिइन्, ‘त्यसो हुन नदिन पटक–पटक दोहोर्‍याएर तयारी गर्नुपर्छ ।’


०७३ सालको एसईईमा सैनामैनाका आदर्श पाण्डेले ४ जीपीए ल्याएर देशकै सर्वोत्कृष्ट बने । रामापुर रिभाइवल बोर्डिङ स्कुलबाट एसईई दिएका आदर्श पढ्ने समयमा ध्यान दिएर पढ्थे । एक पटक भनेको कुरा सम्झिहाल्थे । तैपनि आफ्नो शैलीमा पटक–पटक दोहोर्‍याउँथे । उनीसँगै पढ्ने साथीहरू सजिलो विषय भनेर कतिपय विषयलाई बेवास्ता गर्थे । आदर्शले त्यसो कहिल्यै गरेनन् । ‘सर–मेडमले पढाएको कुरा मैले घरमा पनि दोहोराई तेहराई पढ्थें,’ आदर्शले भने, ‘पढेको कुरा रचनात्मक शैलीमा लेख्थें ।’


उनले त्यसअघि एसएलसी टपेका धेरै दाइ–दिदीसित कसरी पढेको कुरा सम्झनुपर्छ र लेख्नुपर्छ भनेर सल्लाह लिन्थे । सल्लाहबमोजिम कम्तीमा ७ घण्टा पढ्थे । आदर्श होस्टलमा बसेनन् । घरबाटै आउजाउ गर्थे । समूहमा पढ्दा डिस्टर्ब अनुभव गर्थे । त्यसैले उनी धेरैजसो छतमा बसेर पढ्ने र लेख्ने गर्थे । उनलाई एकान्त मन पर्थ्यो । छतमा शान्त वातावरण हुँदा पढेको कुरा पनि छिटो याद हुन्थ्यो । ‘उत्तर लेख्ने सिर्जनात्मक शैली र सफा लेखाइले पनि नतिजा राम्रो ल्याउन सहयोग गर्‍यो,’ आदर्शले सम्झे, ‘परीक्षाको समयमा सबै दोहोर्‍याएर तयारी गर्दा पनि सजिलो भयो ।’


०७२ सालको एसएलसीमा रूपन्देहीकी समीक्षा सुवेदी देशकै उत्कृष्ट अंक ल्याउने विद्यार्थी बनिन् । उक्त वर्ष उनीलगायत देशका २ जनाले मात्रै ४ जीपीए ल्याएका थिए । सैनामैना नगरपालिका मुर्गियाको सुनगाभा पब्लिक उच्चमाविकी छात्रा समीक्षाको सधै समयतालिका बनाएर पढ्ने बानी थियो । समयतालिका बनाएर पढ्ने, पढेको कुरा बेलाबेलामा दोहोराउने र सरहरूले सिकाएको खुरुखुरु सिक्ने उनको विशेषता थियो । नबुझेको कुरा पटक–पटक सोध्ने समीक्षाको बानी थियो । यही बानीले उत्कृष्ट बन्न सफल भएको समीक्षाले बताइन् ।


उनका अनुसार परीक्षाको बेला भन्दैमा जतिबेला पनि पढ्नु पर्दैन । दिनको ६ घण्टा सुत्नैपर्छ । पढ्दा ध्यान दिनुपर्छ । याद भएको कुरा घरको अरू काम गर्दागर्दै पनि परीक्षण गर्नुपर्छ । ‘परीक्षाको बेलामा समेत समयतालिका बनाएर पढ्दा सबै तयारी गर्न समय पुग्छ । परीक्षामा सिर्जनात्मक लेख्नुपर्छ,’ समीक्षाले भनिन्, ‘तर, उत्तरको सुरुवात र समापन गर्ने तरिकामा सरहरूले दिएको सुझाव मान्नुपर्छ । यसो गर्दा राम्रो लेखाइ हुन्छ ।’


मेहेनत गरेर पढ्ने हो भने राम्रो नतिजा ल्याउन निजी विद्यालयमा पढ्नु पर्दैन । महँगो शुल्क तिरेर होस्टल बस्नु पनि पर्दैन । सामुदायिक विद्यालयमा पढेर पनि निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई जित्न सकिन्छ । त्यसका उदाहरण हुन्, रूपन्देहीको शान्ति नमुना उच्चमाविकी छात्रा भावना अर्याल ।


उनले ०७१ सालको एसएलसीमा ७ सय ५१ अर्थात् ९३ दशमलव ८७ प्रतिशत अंक ल्याएर नेपाल दोस्रो र छात्रातर्फ प्रथम भएकी थिइन् । भावना दिनहुँ मेहेनत गरेर पढ्थिन् । ‘परीक्षाको समयमा पनि करिब २ घण्टा समूहमा छलफल गरेर पढ्थें । कुरा नबुझी अगाडि बढ्दिनथें,’ भावनाले सुनाइन्, ‘यही बानीका कारण उत्कृष्ट नतिजा आएको हो ।’


भावनाका भनाइमा कहिलेकाहीं पढ्न अल्छी लाग्न सक्छ । धेरै कुरा नजान्ने भएर तयारी गर्नै मन नलाग्न सक्छ । कमजोर विद्यार्थीले महत्त्वपूर्ण पाठ छुट्याएर त्यसमा ध्यान दिनुपर्छ । यसले उत्तीर्ण हुन सहयोग पुग्छ । जान्ने विद्यार्थीले भने सबै कुरालाई मसिनो गरी पढ्नुपर्छ । छोटा प्रश्नहरू जताबाट पनि सोधिने भएकाले राम्रो नतिजा ल्याउन सबै कुरा जान्ने हुनैपर्छ ।


तेज विद्यार्थीलाई पनि सबै कुरा जानेजस्तो लागेर परीक्षाका बेला तयारी गर्न मन नलाग्न सक्छ । यस्तो बेलामा के गर्ने ? भावना भन्छिन्, ‘पढ्न अल्छी लागे लेखेर अभ्यास गर्ने र लेख्न अल्छी लागे पढेर अभ्यास गर्नुपर्छ ।’ आफ्ना लागि सरहरूले देखाएको लगाव र अभिभावकको लगानी पनि सम्झेर आफ्नो चञ्चलता र आलस्यलाई रोक्न उनले सुझाव दिइन् ।


परीक्षाका बेला कतिपय विद्यार्थी होस्टलमा हुन्छन् । यस्तोमा उनीहरूलाई शिक्षकले निगरानी राख्छन् । परीक्षाका बेला शिक्षक आदर्श बन्नुभन्दा सहयोगी बन्नुपर्ने उत्कृष्ट विद्यार्थीको सुझाव छ । गत वर्ष बुटवलको न्यु होराइजन माविबाट ४ जनाले ४ जीपीए ल्याए । यी ४ जना नै सामान्य परिवारका थिए तर होस्टलमा थिए । पढाइमा निकै चाख दिन्थे । सबै विषय दोहोराएर पढ्थे । कक्षाका अतिरिक्त ५ देखि ६ घण्टा तयारीमा व्यस्त हुन्थे ।


‘हरेक कुरा सफा र शुद्धसँग लेख्थे । परीक्षामा लेख्ने तयारी गरिराख्थे,’ प्रधानाध्यापक लोकनाथ उपाध्यायले भने, ‘हामीले पनि राम्रो गर्न प्रोत्साहन दिन्थ्यौं तर परीक्षाका बेला यस्तो गर्नैपर्छ भनेर दबाब दिँदैनथ्यौं ।’ विद्यार्थी उत्कृष्ट बन्न उसको घरपरिवार र अभिभावकको पनि ठूलो हात हुन्छ । धेरै अभिभावकले अझै पनि एसईईलाई फलामे ढोका भन्दै आफ्ना छोराछोरीलाई तर्साउँछन् । छोराछोरीको खुबी र क्षमता नबुझी जसरी हुन्छ उत्कृष्ठ नतिजा ल्याउन दबाब दिन्छन् ।


अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली यस्तो दबाबले मात्रै एसईईमा उत्कृष्ट नतिजा नआउने बताउँछन् । ‘अरू समयमा छोराछोरीको निगरानी राख्नुपर्छ । तर परीक्षाका बेलामा आफ्ना तरिकाले पढ्न दिनुपर्छ,’ उनले भने, ‘यसले उनीहरू सहज महसुस गर्छन् । सम्झन र राम्रोसित लेख्न सक्छन् ।’

प्रकाशित : चैत्र ९, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?