२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हिंसाविरुद्ध नानीहरू

समाजमा बढिरहेका यौन तथा घरेलु हिंसाको छाप कलिलो मस्तिष्कमा कसरी पर्छ भन्ने कुरा चित्रबाटै प्रस्तुत
दुर्गालाल केसी

दाङ — बालकल्याण मावि पेदामा ७ कक्षा अध्ययनरत विनीता ओलीले महिलामाथि भइरहेका हिंसालाई क्यानभासमा उतारिन् । त्यसपछि रंग भरिन् । जाँडरक्सी खाएर श्रीमती कुट्ने, सडकमा हिँडिरहेका युवतीलाई जिस्काउने, यौनहिंसा र बलात्कार गर्ने घटनालाई उनले रंगमार्फत उतारिन् । समाजमा बढिरहेका यौन तथा घरेलु हिंसाका छाप कलिलो मस्तिष्कमा कसरी पर्छ भन्ने कुरा उनको चित्रबाट देख्न सकिन्छ । 

हिंसाविरुद्ध नानीहरू

‘गाउँघरमा देखेका घटनालाई चित्रमा कोरेको हुँ । यस्ता घटना नभइदिए हुन्थ्यो भन्ने कामना छ,’ उनले भनिन्, ‘चित्रमार्फत हाम्रो आवाज उठाएका छौं । हामीमाथिका हिंसा रोकिनुपर्छ ।’ आदर्श आधारभूत विद्यालय काँशिपुरमा ८ कक्षा अध्ययनरत महेश चौधरीले पनि घरेलु हिंसाका घटनामा रंग भरे ।


चित्र बनाउने नियमित अभ्यास नभए पनि हिंसाविरुद्ध बालबालिकाको आवाज दर्शाउन उनले सकीनसकी चित्र कोरे । ‘बेलाबेला चित्र बनाइन्छ । अहिले भइरहेका हिंसाका घटनाले बढी छोएको छ,’ उनले भने, ‘चित्र हेरेर हाम्रो आवाज सुनिदिए हुन्थ्यो । घरपरिवार र समाजमा हिंसा बन्द होस् । शान्त वातावरणमा हिँड्न पाइयोस् ।’


महिला र बालिकामाथि भइरहेका शारीरिक तथा यौनजन्य हिंसाविरुद्ध आवाज उठाउन यहाँका बालबालिकाले स्वस्फूर्त रचनात्मक उपाय निकालेका छन्– सिर्जनामार्फत खबरदारी । चित्रमा रुची राख्ने विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका पायक पर्ने ठाउँमा जुट्छन् र आफूलाई मन छोएको विषयमा चित्र बनाउँछन् । चित्र तयार भएपछि प्रदर्शन गर्छन् ।


शिक्षक, स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई बोलाएर चित्र देखाउँछन् । चित्रको भावबारे व्याख्या गर्छन् । यस्तो अभियानले अभिभावकलाई हिंशाबारे सोच्न बाध्य पारेको शिवशक्ती मावि धनौरीमा ८ कक्षा अध्ययनरत मुना भण्डारीले बताइन् । उनले बालिकामाथि भैरहेका दुर्व्यवहार, बलात्कार र हत्याका चित्र बनाइन् । ‘यसले धेरैलाई सचेत बनाएको छ । बालिका तथा महिलाहरूमाथि एकपछि अर्को हिंसा भइरहेको छ,’ उनले भनिन् ‘बालिकाहरू कसरी सुरक्षित हुने ? हामीले समाजलाई नै प्रश्न गरेका छौं ।’


सरस्वती आधारभूत विद्यालय जुम्लेकुलामा ७ कक्षा अध्ययनरत सुधा विकले पनि गाउँसमाजमा देखेका महिला हिंसाका विभिन्न रूपलाई चिक्रमा व्यत्त गरिन् । त्यसबारे गाउँसमाजमै व्याख्या गरिन् । ‘धेरैजसो घरमा पुरुषले जाँडरक्सी पिएर महिलालाई कुटपिट गरिरहेको देखिन्छ । यसले मन खिन्न हुन्छ,’ उनले भनिन्, ‘त्यस्ता घटनालाई चित्रमा उतारेर अभिभावकलाई देखाएका छौं । चित्र हेरेर मानिसहरू गम्भीर भएको देखिन्छ ।’


कलाको शक्ति प्रभावकारी हुने ठानेर चित्र बनाउन जुटेको आधारभूत विद्यालय बस्तीखोलामा ७ कक्षा अध्ययनरत जानकी विकले बताइन् । ‘हामीले महिलामाथि हुने हिंसाका चित्रहरू बनाई हिंसाविहीन समाजको परिकल्पना गरेका छौं । यो हाम्रो सपना हो,’ उनले भनिन्, ‘समाजका अगुवाहरू यसप्रति जिम्मेवार हुनैपर्छ । घरमै बालिका बलात्कृत हुनेजस्तो डरलाग्दो अवस्थाको अन्त्य हुनुपर्छ ।’


मान्छेदेखि डराउने अवस्थाको अन्त्य हुनुपर्ने अम्बिकेश्वरी आधारभूत विद्यालय अमुवामा ८ कक्षा अध्ययनरत अनिशा ठाडामगरले बताइन् । ‘अहिले मान्छे देखेर डराउनुपर्ने अवस्था छ । बुबा, हजुरबुबा, दाजु, भिनाजुजस्ता आफन्तबाटै बलात्कार भइरहेका समाचार सुनिन्छन्,’ उनले भनिन्, ‘चित्रमा यही कुरा प्रस्तुत गरेका छौं । घरमा पनि सुरक्षा नभए अन्यत्र कहाँ जानु ?’


बोलेर सुनुवाइ नभएपछि चित्रजस्तो रचनात्मक अभियान थालेको जनकल्याण मावि सिमसुन्दरपुरमा ८ कक्षा अध्ययनरत मीना परियारले बताइन् । ‘हाम्रो आवाज कसैले नसुन्ने भए । ठूला मान्छेहरूजस्तो बन्द, हड्ताल गर्ने कुरा भएन । हामीले सिर्जनामार्फत आवाज उठाएका छौं,’ उनले भनिन्, ‘यसको सुनुवाइ हुनुपर्छ । हामीलाई ढुक्कसँग हिँड्डुल गर्ने वातावरण हुनुपर्छ ।’


बालबालिकाका चित्र निकै प्रभावकारी भएको चिक्रकलामा मार्गदर्शन गरिरहेका चित्रकार लेखराज गिरीले बताए । ‘सिर्जनामा कति शत्ति छ भन्ने कुरा बालबालिकाका चित्रमा देखिन्छ । हरेकले आफ्नै घरपरिवार, विद्यालय र गाउँघरमा समस्या चित्रमा उतारेका छन्,’ उनले भने, ‘यसले वयस्कहरूलाई सोच्न बाध्य पारेको छ । बालबालिकामाथि भइरहेका व्यवहार सुधार्न सचेत बनाइरहेको छ ।’


चित्रले समाजमा बालबालिका कुन मनोदशामा बाँचिरहेका छन् भन्ने कुरा प्रष्ट्याउने उनले बताए । ‘बालबालिका कति आतंकित र त्रसित मानसिकतामा छन् भन्ने कुरा चित्रमा देखिन्छ,’ उनले भने, ‘यसले अभिभावकहरूलाई जिम्मेवार र जवाफदेही बनाउन भूमिका खेल्छ ।’ अन्य आन्दोलन, हड्तालभन्दा सिर्जनाको आवाज रचनात्मक र प्रभावकारी हुने उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?